तरुण दल बाँकेका कोषाध्यक्ष पक्राउ, नगर सभापति कारागार चलान

बाँके । महानगरीय अपराध महाशाखाको टोलीले ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई पक्राउ गरेको छ । टोलीले सोमबार अपरान्ह ४ बजे उनलाई काठमाडौंबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएपछि उनी फरार थिए । जिल्ला अदालत बाँकेले उनीलाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी समेत जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गर्न आग्रह गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरले पनि तरुण दलका कोषाध्यक्ष खड्कालाई काठमाडौं प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ ।

यसैबीच, हतियारसहित पक्राउ परेका नेपाल तरुण दल नेपालगन्ज नगरसभापति संदिपजंग शाह कारागार चलान भएका छन् । नेपाल तरुण दल नेपालगन्ज उपमहानगरपालिकाका नगर सभापति संदीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चालन भएका हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले हतियारसहित पक्राउ गरेको नगरसभापति शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा पाँच वर्ष जेल सजाय मागसहितको शुक्रबार मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत बाँकले सोमबार शाहबिरुद्ध दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकिएपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भने शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न दालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिहंका अनुसार हतियार सहित पक्राउ परेका शाह पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उनीसँगै पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढा पनि कारागार चलान भएका छन् ।’ बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहका अनुसार सोमबार भएको अदालती कारबाहीमा शाहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीसँगै पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढालाई जनही १ लाख ५० हजार धरौटी माग गरिएकोले तत्काल बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।’

गत कार्तिक १४ गते राती साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६, स्थित गनापुरमा रहेको नमस्ते रिसोर्टबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोलीसहित उनीहरु पक्राउ परेका थिए । हतियारसहित पक्राउ परेका नेपालगन्ज नगर सभापति शाह सहितको रिहाइको माग गर्दै नेपाल तरुण दल आन्दोलोनमा उत्रिएको थियो । शान्तिपूर्ण आन्दोलन गरिरहेको नेपाल तरुण दल बाँकेले बाँके प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै बाँके बन्दसमेत गरेको थियो ।

हतियारसहित पक्राउ परेका नगरसभापति शाह सहितकोलाई सोमबार अदालतले गरेको आदेशप्रति नेपाल तरुण दल बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल तरुण दल बाँकेका सभापति विरेन्द्रबहादुर शाहले आफ्ना नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले नियोजितरुपमा प्रहार गरेको छ । उनले भने ‘प्रहरी प्रशासनको कार्यप्रति हाम्रो शंका छ । भोली (मङ्गलबार) नेपाली काँग्रेस बाँकेले बैठकबाट आगामी रणनीति तय गर्नेछ ।’