राप्तीपारिका दर्जन गाउँको पीडा, जहाँ बिरामी परेपछि मृत्यु कुर्नुपर्छ

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ गुर्देनगौरी गाउँमा रहेको स्वास्थ्य चौकी ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ गुर्देनगौरी गाउँमा रहेको स्वास्थ्य चौकी ।

बाँके । बाँके पश्चिम तराईकै सुगम जिल्लामा पर्छ । तर यही जिल्लाभित्र यस्ता गाउँहरु पनि छन्, जहाँ पुग्नका लागि नेपालबाट सम्भव छैन, भारतीय भूमी भएर ती गाउँमा पुग्नुपर्छ । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने गुर्देनगौरी, महेशपुर, चुनभट्टी, कुन्टेपानी, खयरभट्टी र बाँसखोली लगायतका दर्जन गाउँमा पुग्नका लागि नेपाली भूमीबाट सम्भव छैन ।

सुगम जिल्लाभित्रै यति दुर्गम गाउँबस्ती होलान् भनेर कसैले कल्पनासमेत गर्न सक्दैनन् । जहाँ पुग्न छिमेकी मुलुक भारतको सहारा लिनुपर्दछ । बाँकेको नरैनापुर गाउँपालिकाको कटकुइँयासँग जोडिएको नेपाल भारत सिमा नाका हुँदै लगभग १६/१७ किलोमिटरको गाडीको यात्रा तय गरेर डेढ घण्टाको पैदल उकालो यात्रा पछि ती गाउँहरुमा पुग्न सकिन्छ ।

टेलिफोन, यातायात, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा लगाएतका आधारभूत सेवाहरु यी गाउँका लागि एकादेशको कथाजस्तै हुन् । खोलामा बग्ने दुषित पानी पिउन बाध्य यहाँका बासिन्दामा गर्मी बढेसँगै सरुवा रोगहरुका कारण प्रताडित बनेका छन् । अहिले गर्मीको मौसम छ, दुषित पानीका कारण यस क्षेत्रमा कमलपित्त (जण्डिस) र झाडापखाला लगायतका सरुवा रोगहरुको प्रकोप नै फैलिएको छ ।

सरुवा रोगबाट गाउँका कुनै पनि नागरिक अछुतो छैनन् । स्वास्थ्य सेवाको पहुँच नपुगेका ठाउँहरुमा क्लिनिक राख्ने नेपाल सरकारको नीति अनुसार स्वास्थ्य कार्यालय बाँकेले गुर्देनगौरी गाउँमा ‘सामुदायिक स्वास्थ्य एकाई’ नामको क्लिनिकको स्थापना गरेको छ तर एक बर्षदेखि त्यो क्लिनिकमा ताला लागेको छ । शिक्षाको नाममा एउटा प्रावि स्कुल छ । स्वास्थ्यको नाममा नाम मात्रको बन्द क्लिनिक छ । गाउँलेहरु सिटामोलसमेत खान नपाएको दुखेसो गर्छन् ।

‘सुत्केरीदेखि सिकिस्त बिरामी हुँदा नेपाली अस्पतालतिर लैजाने बाटो छैन, बैजापुर पुग्न पाँच घण्टा पैदल हिड्नुपर्छ । भारतको बघौडा तीन घण्टामा पुगिन्छ, भारततिरै कम समयमा पुग्ने भएपछि उतै लैजान्छौं, सिकिस्त विरामी भएकालाई औषधि गर्न लिँदा फर्केर आउने सम्भावना कमै हुन्छ,’ गुर्देनगौरी गाउँका अम्मरबहादुर बुढाथोकीले भने, ‘यहाँ कोही सिकिस्त बिरामी भइहाले मृत्यु कुरेर बस्नुको विकल्प छैन ।’

गुर्देनगौरीमा रहेको स्वास्थ्य इकाई दुई बर्ष पहिले नै स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको छ । केन्द्र सरकारले पनि बार्षिक रुपमा क्लिनिक सञ्चालनका लागि बजेट छुट्याएर स्थानीय तहलाई पठाउँछ । बजेट कहाँ छ थाहा छैन । माग गरेको अवस्थामा स्वास्थ्य कार्यालयले समेत निःशुल्क औषधी पठाइदिने बताउँछ । त्यो बेलामा स्वास्थ्य कार्यालयले करारमा राखेका तीन जना कर्मचारीको म्याद गुज्रिएपछि स्थानिय तहले न त म्याद थप्यो न नयाँ कर्मचारीको व्यवस्था ग¥यो ।

राप्तीसोनारी गाउँपालिकाका कार्यकारी अधिकृत बिरेन्द्र माझीले आफुलाई त्यस विषयमा जानकारी नभएको भन्दै स्वास्थ्य प्रमुखसँग बुझेर जानकारी लिने बताए । उनले भने, ‘यस विषयमा मलाई जानकारी छैन, म बुझेर मात्रै तपाईलाई जवाफ दिन सक्छु ।’ राप्तीसोनारी–४ का वडाध्यक्ष कान्छा थारुले समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया

धेरै पढिएको