समाजवादी पार्टीलाई झट्का, जिल्ला संयोजकसहित २० जनाले दिए राजीनामा

सुर्खेत । तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सुर्खेत जिल्ला संयोजक प्रचण्डकुमार पोखरेलसहित २० जनाले समाजवादी पार्टी परित्याग गरेका छन् । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताप्रति असन्तुष्टि जनाउँदै जिल्ला संयोजक पोखरेलसहित २० जनाले पार्टी परित्याग गरेका हुन् । समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई भेटेर बुधबार जिल्लास्तरीय नेताले पार्टी परित्यागको घोषणा गरे ।

राजनीति व्यापार भयो : संयोजक प्रचण्ड

लोकतान्त्रिक मुल्य र मान्यतासहितको राजनीति आजको आवश्यता हो । कागजी परिवर्तनले मात्र देशको गरिबी र पछौटेपनको अन्त्य हुन सक्दैन । नेपालको दुर्भाग्य भन्नुपर्छ, ठुलाठुला राजनीतिक परिवर्तनपछि पनि जनताको अवस्था परिवर्तन भएन । जनताको अवस्था परिवर्तन नहुने मात्र सिमित नेता र तिनका आसेपासेले मात्र लुट्ने र मोजमस्ती गर्ने राजनितीले निरन्तरता पायो अझ भ्रष्टाचार आम संस्कार बन्यो । मूल प्रवाहका दलहरू नै भ्रष्टाचार कमिशनमा लिप्त वने । यस्तो भएपछि जनता आक्रोशित हुनु स्वभाविक थियो ।

यस्तोमा विकासे र बौद्धिक नेताको छवि वनाएका नेता डा. वावुराम भट्टराईले नेपालमा असल राजनीति गर्ने, विकास र समृद्धिलाई मूल एजेन्डा बनाएर राजनिति गर्ने भन्दै माओवादीसँग सम्बन्धविच्छेद गरेर जनताका बीचमा आए । हामीले स्वागत गर्यौ । किनभने हामी पनि असल राजनीति होस र लोकतन्त्र संस्थागत होस भन्ने चाहन्थ्यौं । हामी नयाँ शक्तिको झण्डामा गोलवद्ध हुँदै अगाडि बढ्यौ । आर्थिक समृद्धि, विकास, सुशासन, सदाचार, समावेशी विकास, समतामुलक समृद्धि स्वाधिन अर्थतन्त्र, स्वाधिनताजस्ता ऐजेन्डालाई मूल बनाएर वैकल्पिक शक्ति निर्माणको अभियानमा अगाडि बढ्यौ ।

जनताका बीचमा वैकल्पिक शक्तिको औचित्यमाथि बहस गर्यौ । हामीले भनेको असल राजनीतिका विषयमा पनि जनतासँग बसेर छलफल गर्यौ । लोकतान्त्रिक मूल्य र मान्यतालाई कसरी स्थापित गर्ने भन्ने विषयमा पनि बहस गर्यौ । मुखमा लोकतन्त्र जप्ने व्यवहारमा लोकतन्त्रको गला निमोठ्ने प्रवृतिको भणडाफोर गर्यौ । बहुपदका नाममा व्यक्ति हावी हुने प्रवृतिको पनि जमेर बहस गर्यौ । राजनीति व्यापार भयो । नेताहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा नेताप्रति उत्तरदायी भएको सत्यलाई पनि उड्घाटित गर्यौ । नयाँ शक्तिले उठाएका डाइरेक्ट डेमोक्रेसी, सुशासन, विकास, पारदर्शिता, जस्ता ऐजेन्डालाई घनिभूतरूपमा तलतलसम्म छलफल चलायौ ।

वितेका चार वर्षमा निक्कै उतारचढाब झेल्यौं । स्ववियु निर्वाचन हुँदै स्थानीय तह, प्रदेश अनि संघको निर्वाचनमा सहभागी भयौं । निर्वाचनमा उल्लेख्य अपेक्षा थिएन । हामी चुनाव जित्नेवाला थिएनौ । तर पनि हामी वैकल्पिक शक्तिको बहसलाई जनताका बीचमा लिनुपर्छ भन्ने विश्वास र संकल्पसहित निकै प्रतिकुलताका बीच पनि सबै निर्वाचनमा सहभागी भयौ । विडम्बना भन्नुपर्छ, हामी अरूलाई बदल्न हिडेका नयाँ शक्तिका अभियन्ता आफैभित्र गैरलोकतान्त्रिक प्रवृतिको सामना खेप्न बाध्य भयौं । नयाँ शक्तिका सुप्रिमो डा.बाबुराम भट्टराई नै आफुखुशी स्व तजविजमा ठुलाठुला राजनीतिक निर्णयहरू गर्दै जान थाल्नुभयो ।

चाहे वामपन्थी गठवन्धनसँग सामेल हुने निर्णय, चाहे काँग्रेससँगको चुनावी तालमेल हुँदै पछिल्लो समय संघीय समाजवादी पार्टीसँगको एकता प्रकृयाजस्ता सबै निर्णयमा भट्टराईको एकलरूपमै निर्णय गर्नुभयो । यसले पार्टीका सदस्य सार्वभौम हुनुपर्छ भन्ने मान्त्यताको धज्जी उडायो । कथनीमा आन्तरिक लोकतन्त्रका मिठा भाषण दिने व्यवहारमा एकल निर्णय । यो त हात्तीको देखाउने दाँत एउटा र चपाउने दात भिन्नै भने जस्तो भएन र ! पछिल्लो समय पार्टी एकता भइसकेपछि पनि त्यही गल्ती दोहोर्याउँदै पार्टी नेतृत्वले एकल निर्णयका आधारमा राज्यको पुनर्संरचना माथि असन्तुष्टि देखाउँदै दश जोड एक – एघार प्रदेशको मोडालिटिमा जाने निर्णय गरे । जुन मुद्दामा हाम्रो विरोध रह्यो ।

यस्ता एकातिर विकास र समृद्धिको वाधक भ्रष्टाचार, कुशासन, प्राधिन मानसिकता हो भन्ने निस्कर्ष निकाल्ने तर राजनीतिक एजेन्डा तय गर्दा जातिय, साम्प्रदायिक विषय घुसाउने यो कस्तो राजनीतिक चरित्र बुझिनसक्नुको खेल भयो । आन्तरिक लोकतन्त्रको त धज्जी उडाउने काम भयो । त्यसैले हामीलाई लोकतन्त्रको खिल्ली उडाउने, कार्यकर्ताको भावनामाथि खेलवाड गर्ने पुरानै दलजस्तै अर्को नयाँ दल चाहिएको थिएन । हामीलाई लोकतन्त्रका मुल्य र मान्यतालाई स्वीकार गर्दै अझ आत्मसाथ गर्दै जनताको सर्वोच्च स्वीकार्दै विकास, समृद्धिको वकालत गर्ने दल चाहिएको हो भन्नेमा हामी दृढ संकल्पित छौं ।

यो देश, लोकतन्त्र, वहुदलिय व्यवस्था, मानव अधिकार, प्रेस स्वतन्त्रता, वालिग मताधिकार, छिमेकी देशसँग सहअस्तित्वको सम्बन्धप्रति ढृढ संकल्पित छौं । पार्टीभित्रको आन्तिरक लोकतन्त्र बलियो नभई लोकतन्त्र बलियो नहुने भएकाले हामीले उठाएका विषयमा पार्टीले छलफल नचलाएको हुनाले हामीले समाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका छौं । लोकतन्त्र प्राप्तिका संघर्षमा अग्रमोर्चामा उभिएको सिपाही हुनुको नाताले लोकतन्त्रको रक्षा गर्नु हामीले आफ्नो कर्तव्य ठानेका छौं । आउँदा दिनहरूमा पनि देश र जनताको हितका लागि पार्टीभन्दा माथि उठेर कदम उठाउने कुराको भरोसा दिलाउँदै विदा हुन्छौं । धन्यवाद अभिवादन ।

प्रतिक्रिया

लोकप्रिय