४० करोड लगानीमा औषधि उद्योग, आगामी वर्षदेखि सञ्चालनमा आउँदै

बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्र पहिलोपटक औषधि उत्पादन केन्द्र सञ्चालनमा आउने भएको छ । उपमहानगरपालिका–१४ भवनीयापुरस्थित तीन विघा क्षेत्रफल जमिनमा आइडियल फर्मास्युटिकल्स कम्पनी प्रालिले औषधि उत्पादन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

यसअघि बाँकेको गनापुरमा पानस फर्मास्युटिकल्सले औषधि उत्पादन गर्दै आएको छ । रु.४० करोडको लगानीमा आइडियल फर्मास्युटिकल्सले आधुनिक औषधि उत्पादन केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माण गरिरहेको छ । २०७७ को मध्यतिरबाट औषधि उत्पादन तथा बजारीकरण समेत गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले पूर्वाधार निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ । ‘अहिले पूर्वाधार निर्माणको कार्य भइरहेको छ,’ कम्पनीका निर्देशक डा.दिनेशकुमार चौधरीले भने, ‘स्वास्थ्य क्षेत्रमा आबद्ध विशिष्ट ब्यक्तिहरुको समूहले औषधि उत्पादन केन्द्र निर्माण गर्न लागेको हो ।’ डा.चौधरीका अनुसार भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकता दिइएको छ ।

पहिलो चरणमा भौतिक पूर्वाधार निर्माणमै झण्डै रु.४० करोड लगानी हुने अनुमान गरिएको सो उत्पादन केन्द्रबाट ट्याबलेट, क्याप्सुल, मल्हम, आँखा र कानमा राख्ने औषधि उत्पादन गरिनेछ । ‘आवश्यकताका आधारमा थप इन्जेक्सन लगायत औषधी उत्पादन गर्छौं,’ डा.चौधरीले भने, ‘औषधी उद्योग सञ्चालनमा आएपछि यसक्षेत्रका करिब दुई सय जनाले रोजगारी पाउनेछन् ।’

गत २०७० सालमा आइडियल फर्मास्युटिकल्स कम्पनी उद्योग विभागमा दर्ता भएको थियो । ‘डा. कुमारशान शाहसँगको संयुक्त लगानीमा नेपालगन्जबाट गुणस्तरयुक्त औषधि उत्पादन गर्ने उद्देश्यका साथ उद्योग खोलेका छौं,’ डा. चौधरीले भने, ‘औषधि उत्पादनको मात्राभन्दा पनि हामी गुणस्तरीय औषधिलाई विशेष प्राथमिकता दिनेछौं ।’

पछिल्लो समय बाँकेमा औद्योगिक क्षेत्रमा लगानी बढ्न थालेसँगै गत आर्थिक वर्ष २०७४÷०७५ मा रु.१४ अर्व ६० करोड औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको छ । बैंक तथा बित्तिय क्षेत्रले आर्थिक वर्ष २०७४÷०७५ मा जारी भएको तथ्यांकअनुसार बाँकेमा रु.४६ अर्ब ३६ करोड ६० लाख कर्जा प्रवाह भएको छ । जसमध्ये सबैभन्दा बढि औद्योगिक उत्पादनका क्षेत्रमा कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

लोकप्रिय