नर्स महान् कि पीडित ?

विश्व नर्सिङ दिवस

अति काम, न्यून तलब । धेरै गाली, थोरै जस । बेटुंगो ड्युटी, कामको जोखिम । नर्सिङ पेसा बाहिरबाट हेर्दा जति सजिलो र आकर्षक देखिन्छ, त्यति सजिलो पक्कै पनि छैन । ज्यानलाई धरापमा राखेर काम गर्नुपर्ने बाध्यता छ । तर पनि बिरामी, बिरामीका आफन्त, डाक्टर, अस्पताल प्रशासन सबैको आँखाको तारो बनिरहेका छन्, नर्सहरु ।

एकजना नर्सले ३०–४० बिरामी हेर्नुपर्ने अवस्था छ । त्यसमा पनि कुनै बिरामी तथा बिरामीका आफन्तले बोलाउँदा तुरुन्तै पुगेन भने नर्सहरुले अनेक आरोप खेप्नुपर्छ । डाक्टर समयमा आएनन्, नर्सलाई गाली । ल्याबले रिपोर्ट ढिलाइ गर्यो, नर्सलाई तनाव । अस्पताल महँगो भयो, ट्वाइलेट सफा भएनस आक्रोशजति नर्सलाई । तपाईं नै भन्नुस् न, एक जना नर्सले कति काम गर्न सक्छ ?

अझ नर्स छुच्ची हुन्छन्, घमन्डी हुन्छन्, नर्सले गर्दा बिरामी तलमाथि भयो भनेर भनेर बिरामीका आफन्त कराउन अघि सर्छन् । जति नै मन, वचन, कर्म लगाई लगनशीलतासाथ काम गरे पनि नर्सलाई न त बिरामीले बुझ्न सके, न तिनका आफन्तले । अस्पताल प्रशासनले समेत नर्सको समस्या बुझ्न नसक्दा निकै पीडा महसुस हुन्छ । बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन् ?

नर्सहरुको समस्या के छ भनेर सोधिदिने न कुनै निकाय निस्किए, न त सरकारले नै चासो राख्यो । नर्सहरु सधैं आर्थिक, शारीरिक रुपमा शोषित छन् । उनीहरुको श्रम शोषण गरिएको छ । चरम मानसिक यातना खेपिरहेका छन् । धेरै जोखिम मोलेर काम गर्नुपर्ने हुन्छ । तर, सरकारी निकायमा होस् या निजी क्षेत्रमा, जोखिम भत्ताको कार्यान्वयन छैन । आफ्नो सानो बच्चा घरमा छोडेर ‘६ महिनासम्म आमाको दूध मात्र खुवाउनु’ भन्दै सुत्केरीलाई दिव्य ज्ञान दिँदै हिँड्ने नर्स महान् कि पीडित ?

नेपाल नर्सिङ एसोसिएसनका अनुसार नेपालमा हाल करिब ८७ हजार नर्स छन् । यो संख्या बढ्ने क्रममा छ । बढ्दो जनशक्ति र घट्दो रोजगारीको अवसर अहिलेको चरम समस्या बनिरहेको छ । जसले गर्दा आफ्नो क्षमता र दक्षता हुँदाहुदै पनि हाम्रो कार्यक्षमताको उचित मूल्यांकन हुन सकेको छैन । जागिरका लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने वा सोर्सफोर्स नै लगाउनुपर्ने बाध्यता यसले सिर्जना गरेको छ । भइरहेका नर्सलाई राज्यले उचित रोजगारी दिन नसक्नु र सेवामा आबद्धलाई उचित सुविधा दिन नसक्नु भनेको राज्यको कमजोरी हो ।

मनलाग्दी तलब तोकेर काम गर्न दबाब दिने र त्यही तलबमा काम नगरे अरु जत्ति पनि काम गर्ने नर्स पाइन्छ भनेर धम्की दिनेहरू पनि कम छैनन् । यो अवस्था किन आयो ? राज्यले सोच्ने कहिले ? सही कुराका लागि यहाँ आन्दोलन गर्नुपर्छ, न्यायका लागि सत्याग्रहले मात्र नहुँदो रहेछ । आफ्नो अधिकारको माग गर्दा केही दिनअघि मात्रै नर्सहरुलाई हिरासतमा कोचिएको घटना सेलाइसकेको छैन । नर्सको हकहितका लागि खोलिएको नर्सिङ एसोसिएसन अफ नेपालले पनि नर्सको पक्षमा वकालत गरेको देखिँदैन ।

दलको झोला बोकेर राजनीतिक आँखाले नर्सलाइ हेरिने गरिन्छ भन्ने आरोपबाट नर्सिङ एसोसिएसन अछुतो हुन भने सकेको छैन । एसोसिएसनले राजनीतिबाट टाढा रहेर नर्सहरुको समस्या सम्बोधनमा पहल गर्नुपर्ने हो तर कुनै ठोस पहल हुन सकेको देखिन्न । हरेक वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २–२ चोटि नर्सिङ दिवस मनाइन्छ । तर, कार्यक्रम र भाषणमा सीमित हुनुको अलावा खासै अर्थपूर्ण काम हुन सकेको छैन । जुन उद्देश्य र हर्षका साथ अभिभावकले आफ्ना छोरीलाई नर्सिङ पढाउँछन्, त्यो आशा र भरोसा नटुटोस् । पीडित नर्स दिदीबहिनीहरुले न्याय पाऊन् । कुनै पनि नर्स बेरोजगार बस्नु नपरोस् ।
विश्व नर्सिङ दिवसको शुभकामना ।।

प्रतिक्रिया

लोकप्रिय