सिरुखर्कका १० घरगोठ जले, ५१ लाख क्षति

घोराही । घोराही उपमहानगरपालिका १ सिरुखर्कमा १० घरगोठमा भएको आगलागीबाट झण्डै ५१ लाख रुपैयाँको क्षति भएको छ । बुधवार बेलुका जंगलबाट आएको आगो गाउँमा सल्किँदा एकै परिवारका १० घरगोठ जलेर नष्ट भएको थियो ।

अग्नी पीडितहरुले दिएको विवरण अनुसार ५० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीय हेमलाल थापा, मेघराज थापा, शिवलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर थापाको घरगोठमा माले वन क्षेत्रबाट आएको आगो सल्किएको थियो ।

पानीको अभाव र तिव्रगतिमा चलेको हावाका कारण आगो निभाउन नसेकको पीडितहरुको भनाई छ । यसअघि अस्ती बेलुका सोही वडाकै तल्लो माले गाउँमा पनि वन क्षेत्रबाट आएको आगो पस्दा ४ परिवारका १० घरगोठ जलेर नष्ट भएको थियो ।

यसैबीच देउखुरीको राजपुर गाउँपालिका १ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागि भएको छ । सोलारको तार सर्ट भएर भएको आगलागिबाट ४ वटा बाख्रा मर्नका साथै घरगोठ पूर्णरुपले जलेको छ । प्रहरीका अनुसार आगलागिबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

अग्नीपीडितको बास बारी र रुखमुनी 

घोराही उपमहानगरपालिका १ तल्लो माले र सिरुखर्कका अग्नीपीडितहरुको बारी र रुखमुनी बास भएको छ । आगोले घर गोठसँगै सबै सरसमान जलेर नष्ट भएपछि पीडितहरु बारी र रुखमुनी दिनरात बिताउन बाध्य भएका हुन् ।

तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका छन् । पीडितहरुले घोराही उपमहानगरपालिकाले पुर्याएको खाद्यान्न खाएका छन् भने रेडक्रसले दिएका त्रिपाल टाँगेर बारीमा बसेका छन् । शरीरको एकसरो कपडासँग रहेका अग्नीपीडितहरुलाई चर्को घाम, पानीको अभावसँगै बास नहुँदा निकै सास्ती र पिडा भएको छ ।

आफुहरुले लगाएको एकसरो कपडाबाहेक अरु केही बचेको भन्दै मालेका गोमबहादुर घर्तीले पीडा सहेर बसेको र आफुहरुलाई सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् । माले र सिरुखर्क गाउँका ९ परिवारका ४२ जनाको बिचल्ली भएको छ । बालबच्चादेखि बृद्धबृद्धाहरु समेत पीडित बनेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको