नेपालका निकुञ्ज क्षेत्रका राजमार्ग : विकास कि बाघको मृत्युमार्ग ?

काठमाडौं । तराईको भूभागका राष्ट्रिय निकुञ्जभित्र बनाइएका राजमार्गहरूमा सवारी साधनको चाप बढ्न थालेका कारण विश्वमा संकटको सूचीमा राखिएको बाघ र अन्य दुर्लभ वन्यजन्तुको संरक्षण कार्य झनै चुनौतीपूर्ण बनेको छ ।

पूर्व–पश्चिम राजमार्ग र अन्य सडकहरूमा बढ्दो सवारी चापका कारण मध्य नेपालको पर्सा र चितवनदेखि पश्चिमका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपर विचरण गर्ने बाघ र अन्य दुर्लभ वन्यजन्तु बढ्दो रूपमा जोखिममा पर्न थालिसकेका निकुञ्जका अधिकारीहरुले बताएका छन् ।

नेपालमा बाघ पाइने पाँचवटै निकुञ्ज तराईमा छन् । तर पश्चिम नेपालको बर्दिया निकुञ्जबाहेक अन्य निकुञ्जभित्रका राजमार्गमा हुँइकिने सवारी साधनको गतिसीमा तोक्ने लगायतका पूर्वसावधानी अपनाइएको छैन ।

नेपालमा कति बाघ छन् ?

सन् २०१८ को सेप्टेम्बरमा सार्वजनिक पछिल्लो बाघ गणना अध्ययन प्रतिवेदन अनुसार तराई र चुरे क्षेत्रमा फैलिएका पाँच निकुञ्ज र ती वरपरका वन जङ्गलमा २३५ वटा वयस्क बाघ बसोबास गर्ने गरेका छन् ।

ती निकुञ्जहरूमा बाघ संरक्षणका प्रयासहरू जोडतोडका साथ अघि बढाइएकोले सन् २०१३ को गणनाको करिब पाँच वर्षपछि ती निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेको पाइएको हो । सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ रहेको थियो ।

पछिल्लो सफलताले गर्दा सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर तुल्याउन सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा विश्वका बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेमा नेपाली अधिकारीहरू ढुक्क छन् । तैपनि चुपचाप बस्न मिल्ने होइन ।

तराई क्षेत्रका बाघ पाइने निकुञ्ज वरपर बढ्दो जनसंख्या र पूर्वाधार विकासले बाघ संरक्षणमा चुनौती थोपर्न थालिसकेको छ । त्यस क्षेत्रमा निर्माणाधीन सडक, रेलमार्ग र विमानस्थल योजना अघि बढाउँदा बाघ संरक्षणमा थप जोखिम निम्तिने खतरा टड्कारो छ ।

सवारी साधनबाट बाघलाई जोखिम

प्रकृति संरक्षणप्रति नेपाल सरकारको प्रतिबद्धताकै कारण हुनसक्छ नेपालका राष्ट्रिय निकुञ्जहरूको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । निकुञ्ज क्षेत्रभर सैनिक पोस्टहरू राखिएका हुन्छन् । सैनिकहरूको टोलीले वन क्षेत्रमा गस्ती पनि गरिरहेका हुन्छन् ।

तर पश्चिम नेपालको बर्दिया निकुञ्जको अम्रेनी सैनिक पोस्ट नजिकै गत पुसको अन्तिम साता हुस्सु लागेको बिहानीको समयमा एउटा सानो ट्रकले राजमार्गको बीचमै एउटा बाघलाई अचानक ठक्कर दिन पुग्यो ।

बाँके र शुक्लाफाँटाको अवस्था कस्तो छ ?

पछिल्लो बाघ गणनाको क्रममा बर्दियादेखि पूर्वतिर रहेको बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वनमा २१ वटा बाघको गणना गरिएको थियो । बाँके निकुञ्ज ५५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । पूर्व–पश्चिम राजमार्गको छोटो खण्ड बाँके निकुञ्जभित्र पनि पर्दछ । तर त्यहाँ बर्दिया निकुञ्जभित्र जस्तो सवारी साधनलाई गति सीमा निर्धारण गरिएको छैन ।

तैपनि बाँकेमा सवारी साधनले बाघ वा अन्य संरक्षित वन्यजन्तुलाई ठक्कर दिएको घटना अहिलेसम्म नभएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । ‘बर्दियामा जस्तो गति सीमा तोकिसकेका छैनौँ, तर सैनिकको सहयोगले हामीले सवारी चालकहरूलाई सचेत गराउने गरेका छौँ,’ उनले भने । पूर्वपश्चिम राजमार्गको निकै छोटो खण्डले सुदूर पश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पनि छुन्छ ।

त्यहाँ पनि निकुञ्ज सीमाभित्र बर्दियामा जस्तो सवारीका लागि गति सीमा निर्धारण गरिएको छैन । त्यहाँ अघिल्लो वर्ष १६ वटा वयस्क बाघ गनिएका थिए। शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले भने, ‘हामीकहाँ त्यति जोखिम छैन। सानो क्षेत्र राजमार्गमा पर्छ। तर हामीले कडा नियम बनाइसकेका छैनौँ ।’

चितवनमा पनि जोखिम

नारायणी र राप्ती नदी किनारका वन जङ्गल र घाँसे मैदानमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्र बाघको अर्को महत्त्वपूर्ण बासस्थान हो। त्यहाँ पछिल्लो गणनामा ९३ बाघ पाइएका थिए । चितवन पारि भारतमा रहेको वाल्मिकी बाघ आरक्ष र पूर्वको पर्सा निकुञ्जसहितको क्षेत्रलाई संरक्षणविद्हरूले बृहत् चितवन भन्ने गरेका छन् ।

यस क्षेत्रमा पहिले पहिले बाघलाई स्वतन्त्र र निर्बाध हिँडडुल गर्न कुनै छेकबार हुँदैन थियो । तर अहिले समय फेरिएको छ । चितवन निकुञ्जदेखि उत्तरतिर पर्ने महाभारत पर्वतमालादेखि दक्षिणतिरको वनलाई निकुञ्जका वनसँग जोड्ने जैविक मार्गको बीचैबाट पूर्वपश्चिम राजमार्ग अघि बढ्छ । बरन्डाभर वनबीचको राजमार्गमा अहोरात्र सवारी साधन हुँइकिरहेका हुन्छन् ।

‘त्यहाँको वनबीचमा पर्ने चार किलोमिटर जति लामो राजमार्गमा हामीले अहिलेसम्म गति सीमाबारे कुनै नियम बनाइसकेका छैनौँ,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘त्यसैले हप्तैपिच्छेजस्तो वन्यजन्तुहरू किचिने वा मारिने गरेका छन् । भाग्यवश त्यहाँ अहिलेसम्म सवारीको ठक्करले कुनै बाघ मरेको छैन ।’ तर उनीहरूको चिन्ता अलि बेग्लै प्रकारको छ ।

पछिल्लो गणनाको क्रममा चितवनको राजमार्गदेखि उत्तरतिरको वन क्षेत्रमा ६ वटा बाघ पाइए । हालै १६ दिनसम्म तिनिहरूको अनुगमन गर्ने क्रममा ती बाघले हत्तपत्त सडक पार नगरेको पाइयो । ढकालले भने, ‘त्यसले बाघको बासस्थान खण्डीकृत हुन (अर्थात् टुक्राटुक्रामा बदलिन) थालेको हो कि भन्ने चिन्ता थपिदिएको छ ।’ विज्ञहरू भन्छन् बाघको दीर्घकालीन संरक्षणको लागि उनीहरू कुनै सीमित वनमा मात्रै विचरण गर्नुहुँदैन ।

९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चितवन निकुञ्जमा कसराबाट चुरे पर्वत पारि पर्ने माडी र ठोरी क्षेत्र जाने अर्को सडक पनि बनिसकेको छ । तर त्यो कच्ची सडकमा प्रायस् सवारीको चाप कम रहने भएकोले अहिलेसम्म वन्यजन्तुलाई जोखिम बढिसकेको छैन ।

पर्सामा चाहिँ कस्तो जोखिम ?

चितवन निकुञ्जको पूर्वी भाग अर्को महत्वपूर्ण राष्ट्रिय निकुञ्जसँग जोडिन पुगेको छ । केही समय पहिलेसम्म आरक्ष भनिने ६२७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पनि बाघको राम्रो बासस्थान हो। त्यहाँ पछिल्लो गणनामा १८ बाघ गनिएका थिए । पूर्व–पश्चिम राजमार्गको चार किलोमिटर जति सडक निकुञ्जभित्रबाट अघि बढ्छ ।

तेस्रो देशबाट नेपाल सरसामान भित्र्याइने अत्यन्त व्यस्त पथलैया–वीरगन्ज सडक पनि पर्सा निकुञ्ज नजिकै पूर्व–पश्चिम राजमार्गमै मिसिन्छ । त्यसैले पर्सा निकुञ्जका वन्यजन्तु सवारीको चापका कारण बढ्दो रूपमा प्रताडित हुन थालेका छन् । पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार पथलैया वरपर ‘चौबिसै घन्टा सवारीसाधनको चाप अत्यधिक बढ्न थालेपछि’ वन्यजन्तुको विचरण प्रभावित हुन थालिसकेको छ । पर्सा निकुञ्ज जङ्गली हात्तीको पनि राम्रो वासस्थान र आवतजावत हुने क्षेत्र हो ।

उनले भने, ‘अहिलेसम्म कुनै बाघ परेको छैन । तर अन्य जनावरलाई असर परिरहेको छ । हालै हामीले हात्तीको एक हुललाई अघि बढ्न सहयोग गर्न केही बेर सवारी साधनको लस्कर नै रोक्नुपर्यो ।’ पर्सा निकुञ्जदेखि पूर्व र उत्तरतिर पनि बाघको बासस्थान हुनसक्ने वनहरू रहेका छन् । पथलैया पूर्वको चारकोसे झाडी भनिने वनको अवशेष वाग्मती नदी किनार क्षेत्र सम्मै फैलिएको छ । तर त्यो संरक्षित क्षेत्रभित्र पर्दैन। त्यहाँ पनि गति सीमा कम गर्ने केही काम भएको छैन ।

जोखिम घटाउन के पहल हुँदैछ ?

बर्दिया निकुञ्जमा जस्तै सवारीका लागि गति सीमा तोक्ने पहल वन्यजन्तुलाई बचाउन प्रभावकारी हुनेमा अधिकारीहरूको दुई मत छैन । तर त्यो काम बर्दियामा मात्र सीमित छ । चितवनका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार निकुञ्ज नजिकैका वन क्षेत्रका राजमार्गमा गति सीमा राख्ने विषयमा छलफलहरु सुरु गरिएका छन् । अन्य उपायहरूका बारेमा पनि सोचविचार भइरहेको छ ।

उनले भने, ‘निकुञ्ज क्षेत्रका राजमार्गमा सवारीसाधनका लागि पुलमाथिको मार्ग वा पुलमुनिको मार्ग (अन्डर वा ओभर पास) बनाउनु पर्दछ ।’ उनको विचारमा त्यसो गर्दा सवारी साधन पनि आफ्नो गन्तव्यमा आफ्नो गतिमा अघि बढ्न सक्छन् र संकटापन्न वन्यजन्तु पनि जोगिन्छन् । पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत महर्जनका विचारमा संकटापन्न वन्यजन्तु जोगाउन देशका सबै व्यस्त राजमार्गहरूमा विभिन्न उपायहरू अवलम्बन गर्न ढिलो गर्नहुँदैन ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार निकुञ्जभित्रको राजमार्गलाई थप सुरक्षित बनाउन गति कम गर्ने संरचना प्रत्येक पाँच सय मिटरमा राख्ने विषयमा सडक विभागसँग छलफल भइसकेको छ । उनले भने, ‘उहाँहरूले कानुन अनुसार के गरेर हुन्छ सहयोग गर्ने बताउनु भएको छ ।’

प्रतिक्रिया

धेरै पढिएको