चुजी बनेकी अञ्जलीको लोभलाग्दो सफलता

अञ्जली अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’

बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए ।

एसएलसीपछि भागेर काठमाडौं

स्कुल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् । २०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’

भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए । बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् ।

त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् । ‘स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।’ बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।

‘बोल माया’बाट व्यापकता

अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए । अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्विकार गरे । त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्यो बेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए ।

उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् । गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु । त्यसपछि उनले प्रकाशलाई फोन गरिन्, ‘दाइ, म यो भिडियो गर्छु ।’ सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो । गाउँका धेरै मान्छे रमिता हेरिरहेका थिए । गीत बज्न थालेपछि सबैको आँखा रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिनहरु खिचियो । त्यसपछि अँध्यारोमा लिप्सिङसहित थिम खिच्न पथ्र्यौ ।

अन्जलीमा गर्न सक्छु, सक्दिन भन्ने डर बढ्यो । लिप्सिङको सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडेजस्तो भयो । उनले साँच्चीकै रुदै सिन दिइन्, जुन भिडियोमा आवश्यक थियो । साँच्चै रोए पनि मिलेको छ वा छैन् भन्ने डर थियो । सुटिङ सकियो, सबैको मुहारमा चमक थियो । तर, अन्जली खुसी हुन सकिरहेकी थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् ।

चुजी बनेकी छन् अञ्जली

‘बोल माया’को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर, सम्पादनपछि तयार भएको गीत सार्वजनिक कार्यक्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा पर्यो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो । अन्जलीलाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफलता हात लाग्ला भन्ने अनुमान समेत थिएन ।

बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का मार्यो । दर्शकस्रोतमाझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आउन थाल्यो । मेला महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिएको छ । ‘मेहनतको मिठो प्रतिफल पाएँ, पाइरहेको छु,’ उनी भन्छिन्, ‘यो गीतपछि आफैंलाई पहिलेभन्दा पक्का भएको महशुस गर्न थालें ।’

धेरै अफर आएपछि अञ्चजी भने चुजी बनेकी छन्, आफूलाई राम्रो लागेको गीतमा मात्र अभिनय गर्न थालेकी छन् । विगतमा जस्तो ‘पैसाको लागि’ जस्तो पनि गीतमा अभिनय गर्न छाडेकी छन् । आगामी तिजमा पनि उनी पोहोर जस्तो दैनिक पाँचवटा गीतमा नाच्ने छैनन् । अब अलि फरक र नयाँपन देखिने काम गर्न चाहेको बताउँदै अञ्जली भन्छिन्, ‘ताकी स्रोता दर्शकले पनि सम्झिरहुन् ।’

बाबाको नाक फुलिएको छ । एउटा समय थियो, नाच्ने कुरा गर्दा अञ्जलीले बाबाको पिटाई खानुपथ्र्यो । तर, अहिले परिस्थिति फेरिएको छ । उनका बाबा अहिले सबैभन्दा ठूलो समर्थक बनेका छन् । अञ्जलीले अभिनय गरेको भिडियो छोरीले भन्दा पहिला सामाजिक सञ्जालमा शेयर गरिदिन्छन् । गाउँटोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलिएको छ भन्छिन्, अञ्जली ।

प्रतिक्रिया

धेरै पढिएको