‘आमा’ सहनशीलताकी पनि खानी

आज मातातीर्थ औसी अर्थात् आमाको मुख हेर्ने दिन

उपाध्यायान्दशा आचार्य आचार्याणां शतं पिता ।
सहस्त्रंतु पितृ माता गौरवेणा तिरिच्यते ।। (मनुस्मृति)

अर्थात ठूलोमा दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् । भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन् । बैदिक कालका ‘आमा’हरूको सन्दर्भमा विस्तृत प्रकाश पार्न छुट्टै लेखको आवश्यकता पर्दछ । तर यो लेखमा ‘आमा’को गरिमामय उच्च स्थानको सड्ढेत मात्र गर्न खोजिएको छ । सर्वप्रथम ‘आमा’ शव्दको छोटो परिचय दिनु पनि असान्दर्भिक हुने छैन । ‘आमा’ भन्ने वित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ ।

तर पनि ‘आमा’लाई संस्कृत भाषामा ‘माता’ भनेजस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नाम नामेसीबाट पहिचान पनि गर्दछन् । तथापी ‘आमा’ भनेपछि हामी नेपालीको साझा सम्पर्क भाषा नै नेपाली भएकोले ‘आमा’ शब्द नबुझ्ने नेपाली छंदैछैनन् भन्न सकिन्छ । आमाको सन्दर्भमा भन्नुपर्दा ‘माता’ भनेर संस्कृत भाषामा ‘म’बाट भए जस्तै अंग्रेजीमा पनि भनेर मबाटै हुन्छ । त्यस्तै ‘मम्मी’ भनेर पनि ‘म’ बाटै हुन्छ । त्यस्तै गुरु भाषामा पनि ‘मोम’ भनेर ‘म’बाटै हुन्छ । अन्य धेरै भाषामा ‘म’कै अक्षरबाट जस्तै हिन्दीमा ‘मा’नै भन्ने प्रशस्त चलन चल्ती छ ।

यसरी ‘आमा’ भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ । गरिमा भनेको गौरव तथा महत्व हो । आमा हुनुपूर्व छोरीको रूपमा जन्म लिन्छिन् । छोरीको रूपमा रहँदा बस्दा ‘आमा’ कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बावु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन् । यो अवस्था भनेको १४÷१५ वर्षसम्मको उमेर हुन्छ । यो अवधिमा २ अवस्था पार गर्दा छोरी र दिदी (बहिनी) को कार्यभार एवं कर्तव्यलाई निभाएकी हुन्छिन् । ‘घर नै पाठ्यशाला हो’ भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन् ।

साथै स्कुल तथा क्याम्पसको पर्ढाईमा पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन् । अनि क्याम्पसमा पनि छात्र छात्रामा प्रतिस्पर्धामा परेका हुन्छन् । आफ्नो २०/२२ वर्षे नौ जवानीको यात्रा शुरु हुँदा वैवाहिक सम्बन्धको चर्चा परिचर्चाले सताउन थाल्दछ । यो उमेर अति नै चञ्चल एवं तनावग्रस्त पनि हुन्छन् । छोरीको यो उमेरमा बावु आमा पनि त्यतिनै चिन्तित हुन पुग्दछन् । हाम्रो समाजले प्रेम विवाहलाई अझै मान्यता प्रदान गरेको छैन । तर पश्चिमी समाजमा भने त्यहाँको विकसित सभ्यताले भनौं अथवा ऐन कानुनले पनि युवा युवतीको उमेर पुगेपछि बावुआमासँग पनि सँगै नबस्ने छुट प्रदान गरिसकेका हुनाले प्रेम विवाहलाई नै स्वीकारेका छन् ।

तथापी ती मुलुकमा पनि युवायुवतीमा पूर्ण सन्तोष भने देखिएको छैन । किनभने प्रेम विवाहमा पनि पटकपटक छोडपत्रद्वारा फेर बदर भैरहेको छ । यस्तो पारिवारिक जीवन पूर्ण सन्तोषमा हुन्छ भन्न सकिँदैन । तर पनि यो अन्य देशको कुरा आफ्नै ठाउँमा । हाम्रो देशमा भर्खर भर्खर शहरिया जीवनमा प्रवेश गरेर केही शिक्षा हाँसिल गरेका युवा युवतीमा प्रेम विवाहको शुरुवात भएपनि नेपाली समाजले पूर्णरूपमा स्वीकार गरि सकेको छ भन्न सकिंदैन । अर्को देशको देखासिकीबाट मात्र अपनाइएको हुनाले पनि यो जनमानसको हृृदयबाटै स्वीकार्य हुन र सहर्ष ग्रहण गर्न नसकेपनि केही समयपछि विस्तार विस्तार यो प्रेम विवाह पनि स्वीकार्य न होला भन्न सकिंदैन ।

समय लाग्नु स्वभाविक हो । तर यो लेखको विषय यो हैन । तथापी सन्दर्भले गर्दा यो कुरा उठेको मात्र हो । यसको सन्दर्भ नै ‘आमा’ हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन । ‘आमा’ शव्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ । आमाको कार्य क्षेत्र जति विशाल र विस्तृत छ । त्यति नै महत्वपूर्ण र त्यति नै उच्च छ । वास्तविक भन्ने हो भने आमा सगरमाथा भन्दा अग्ली छन् । पृथ्वीभन्दा महान र विशाल छन् तर त्यस्तै ढुंगा माटोजस्तै कठिन तथा कठोर छैनन् । समुन्द्रभन्दा गहिरी छन् । तर न भेटिने हैनन् । आमा इश्वरकी पनि आमा हुन् । आमा मायाको पोको हुन् ।

हृदयकी खानी हुन् । धैर्यताकी प्रतिमूर्ति हुन् । सहनशीलताकी पनि खानी हुन् । आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन । त्यसैले फ्रान्सका राष्ट्रपति बोनापार्टले भनेका छन्, ‘मलाई असल आमा देउ, असल आमाबाटै असल नागरिक हुन्छन्’ आमाको महिमा हरेक राष्ट्र र देशको अभिमतमा पनि महत्वपूर्ण भनाईहरू पाइन्छन् । तर आमा पनि आमा हुनुपर्छ र असलै आमाबाट आमाका कर्तव्य तथा दायित्व पूरा हुन्छन् । अनि उनी सम्माननीय पुज्य एवं गौरवपूर्ण उच्च स्थानमा रहन्छिन् । ‘आमा’ को क्षेत्राधिकार विशाल एवं विराट छ, तर त्यसमध्ये बच्चा गर्भमा बसेदेखि बच्चाको करिब ९ महिनासम्मको जीवनको प्रतिरक्षात्मक क्रियाकलापदेखि उक्त अवधिमा बच्चामा पर्ने प्रभाव तथा प्रावधानको जिम्मा आमामा नै निहित रहन्छ जो अति नै महत्वपूर्ण र संवेदनशील हुन्छ ।

किनभने हाम्रा धर्मशास्त्रनुसार भन्ने हो भने बच्चाले आमाको गर्भमा छँदा पनि शिक्षा ग्रहण गर्दछन् । उदाहरणका लागि महाभारतमा अर्जुनको छोरा अभिमन्युले आमाको गर्भमा छँदा शिक्षा ग्रहण गरेका थिए । हाम्रा आध्यात्मिक ऋषिहरू मध्येका महान ऋषि अष्टावक्रले पनि आमाको गर्भमा छँदा शिक्षा ग्रहण गर्नु भएको हो भन्ने ग्रन्थहरूमा उल्लेख छ । त्यस्तै वामदेव ऋषिले पनि आमाको गर्भमा नै रहँदा सबै देवहरूको सबै जन्मको क्रम जानेका थिए भनिएको छ ।

आमाले बच्चा गर्भमा भएको बेला असल आचरण गर्ने र धर्म ग्रन्धहरू पढ्ने र सुन्ने गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सांस्कृतिक परम्परा छ तथापी बच्चा पेटमा छँदाका दुःख दर्दको पीडा भने आमालाई मात्र हुन्छ । त्यो मर्म बेदना हामी पुरुष जातिलाई अवश्य हुंदैन भन्ने मेरो धारणा छ । किनभने मेरी आमा करिव ९३ वर्ष बाँचेर स्वगेलोक हुनुभयो । बर्खि बारेर बसेको अवधिमा ‘आमा’बाट वियोग हुनुपरेको मर्म एवं व्यथाको बेदनामा कलम चलाएर कविताको रूपमा ‘शोक काव्य’ तयार पारेर प्रकाशित गरेकाले (वार्षिक) अन्तेष्टिको दिन वितरण गरेको सो कितावको श्लोक ६३ र ६४ साभार गर्ने अनुमति माग्दछु ।

जन्मेको जुन दर्द हो अझ सबै मैले त विर्सिसकें ।
आमाले अझ दुःख भोग्नु कतिभो भन्नै म के सक्तथें ।
बच्चा पाउनु नै असह्य छ कुरो जान्नै म के सक्छु र ।।
आमाले पनि भन्न सक्नु सहसा के सम्भवै यो छ र ।।
यै नै गूढ रहस्य हो हजुरको आभार छु है संधै ।
यो नै हो मत भन्छु जन्म जननी भन्दा महान् छैन क्यै ।
यस्तो क्यै छ भने उही छ भगवान् पाउँ कहाँ त्यो त ख्यै
भक्ति प्रेम न भावना छ म संगै कैले म देखुँ र ख्यैं ।।

यस्तै ‘मातृ वियोग’का सम्बन्धमा डा. रविलाल अधिकारीले पनि ‘आशुको अञ्जुली’ भन्ने शोक काव्य लेखेर ‘आमा’को गरिमालाई प्रकाशमा ल्याउनुभएको छ । कवि भीमनिधी तिवारीको ‘दागवत्ति’ कविता पनि यस्तै सन्दर्भको हो । भन्न खोजेको के भने ‘आमा’को बारेमा विश्व साहित्य जगतमा हेर्ने हो भने आमाको सन्दर्भमा लेख्ने सवुतहरू धेरै छन् । यसै सिलसिलामा ‘आमा’को गौरवपूर्ण सम्मान एवं महत्वलाई दिगो राख्नका लागि हाम्रो देशमा छोराछोरीले ‘आमाको मुख हेर्ने’ भनी बैशाखको औंशीमा आमालाई फलफुल एवं मिठाई र उपहारसमेत प्रदान गरेर आदरपूर्वक सम्मान र माया प्रेमले आलिङ्गन गरी मुख हेर्ने र स्वर्गवास भइसकेकी आमालाई सिधा दान गरी सम्झना गरेर आदरभाव प्रकट गर्ने परम्परा चलि आएको छ ।

त्यस्तै विश्वका हरेक राष्ट्रमा आ–आफ्नै तरिकाबाट ‘आमा’प्रतिको गरिमालाई महत्व प्रदान गरिएको छ । अमेरिकामा पनि ‘मदर्स डे’ भनेर ज्यादै महत्वपूर्ण तरिकाले ठूलाठूला साहु महाजनहरूले त्यसदिन आफ्नो व्यापारका सामानहरूमा आधामोल घटाएर बिक्री गरी र मिठाई बाँडेर मान्ने चलन पनि छ । यै दिनलाई ‘अन्तर्राष्ट्रिय मातृ दिवस’का रूपमा मनाउन अमेरिकाकै सुश्री अन्ना मेरीले कडा परिश्रम गरेर ‘मेको दोश्रो आइतबारका दिन’ आमाहरूको सम्झनामा ‘मदर्स डे’ मनाउने परम्परा विश्वमा नै चलाएर र सुश्री अन्ना अमर बनेकी छन् । अतः ‘आमा’को गरिमामय सन्दर्भमा प्रकाश पार्दा हाम्रा धर्म ग्रन्थहरूको चर्चालाई केही उठान नगर्दा पनि अधुरो हुने कुरा स्वतः सिद्ध छ ।

किनभने हाम्रो आध्यात्मिक ग्रन्थ जस्तै रामायणमा पनि रामचन्द्र भगवानले भाई लक्ष्मणसँग भन्नु हुन्छ, ‘अपि स्वर्णयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी,’ अर्थात् हे, लक्ष्मण सुनैसुनले भरिएको भएपनि मलाई लंका राज्य चाहिंदैन । जन्म दिने आमा र मातृभूमि स्र्वर्गभन्दा पनि ठूला छन् । भनेर ‘आमा’लाई ज्यादै नै महत्व प्रदान गरिएको छ । साथै जन्मभ’मिको पनि कदर गरिएको छ । आफू जन्मेको भ’मि मानै ‘आमा’को खानपिन हुन्छ, जहाँ आफ्नो वाल्यकाल वितेको हुन्छ । यस्ता ग्रन्थहरू खोतल्ने हो भने हाम्रा हिन्दु ग्रन्थहरू धेरै भेटिन्छन् । तर पनि यहाँ यो छोटो लेखमा यो सम्भव नभएकोले ‘आमा’को सन्दर्भमा भन्नुपर्दा ‘आमा’ पनि धेरै किसिमका हुन् सक्दछन् । तर पनि यहाँ त्यो सम्भव छैन । किन भने यहाँ लेख्न खोजिएको पनि हैन ।

कुन आमा कस्ती छन् भन्ने जानकारी लिनको लागि आमाहरूको विशाल र विस्तृत सभेक्षण गरेर त्यसैका आधारमा मात्र हुन सक्दछ । तापनि यो लेखमा त्यस्तो उद्देश्य नभएर केवल आमाको बच्चाप्रतिकै स्नेह एवं माया ममता लगायत लालन पालनको अतिरिक्त बच्चा प्रतिको कर्तव्यका आधारमा मात्र केही आमाको उपमा दिन खोजेको छु । हुन त म कुनै बाल विशेषज्ञ होइन एउटा अध्ययनशील पूर्व प्रशासक हुं । जसले केही सन्दर्भ सामाग्रीकै आधारमा प्रस्तुत लेख तैयार पारेको छु । आफ्नो बच्चालाई मात्रै ज्यादै माया गर्ने र बच्चाको लालन पालनमा व्यस्त रहने बच्चाको हर कुरामा अति माया ममता एवं अथाह प्यारमा रहेर बच्चामा नै व्यस्त रहने ‘आमा’हरू पनि त्यति ठिक नहुन सक्दछन् । किनभने बच्चालाई पनि आत्म विकास गर्न दिएर सन्तुलित लालन पालन गर्दा नै बच्चाको साथीका रूपमा आमा बेस हुन सक्दछिन् ।

अर्को शिक्षा दिक्षा दिने र नैतिक आचारणमा अग्रसर गराउने ‘आमा’लाई पनि अझ वेस भन्न सकिन्छ । अनि बच्चालाई आत्मनिर्भर गराउने ‘आमा’लाई उन्नत एवं अझ राम्रो मान्न सकिन्छ । यसरी मान्दा चार थरी आमा देखिए । उक्त भनाईलाई शब्दमा भन्ने हो लालनपालन मात्र प्यारो गर्ने साधारण आमा, साथीको रूपमा साथी हुने आमा वेस आमा, अनि विश्वासमा पार्ने आमा विश्वासी आमा उत्तम आमा र आत्मनिर्भर गराउने आमा अतिउत्तम आमा हुन् । ‘आमा’हरूको पनि विशेष परिस्थिति अनुकुल घर व्यवहार गर्नुपर्ने हुन्छ । सिद्धान्त मात्रले पनि व्यवहारिकतामा उतार्न अवश्य कठिन हुन्छ । जेहोस् ‘आमा’को गरिमा उच्च छ ।

प्रतिक्रिया

धेरै पढिएको