भाइरल ज्वरोका बिरामी बढे, तराईमा उच्च गर्मी

बाँके । मौसम बदलिने चरण र बर्षाका कारण बाँके लगायत पश्चिम तराईमा भाइरल ज्वरोका बिरामीहरुको संख्या बढ्न थालेको छ । नीजि तथा सरकारी अस्पतालहरुमा केही दिनयता यस्ता बिरामीको संख्या बढ्न थालेको जनाइएको छ ।

उच्च ज्वरो, रुघाखोकी, घाटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सि“गान निस्कने लक्षण देखिनेहरु अस्पतालमा आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै बाँके जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेको उनीहरुले बताएका छन् ।

मौसम परिर्वतन, दुषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोको बिरामी बढेको डाक्टरहरुले बताएका छन् । विरामीहरुमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको डाक्टरहरुले बताए । यहाँका अस्पतालहरुमा बिरामीको संख्या केही बढेको छ ।

जिल्लाभरका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा दैनिक १५/२० जनासम्म भाइरल ज्वरोको उपचारका लागि इमर्जेन्सी पुग्ने गरेका छन् । यसमा १०३ डिग्रीसम्म ज्वरो देखिएको उनीहरुले बताएका छन् । भाइरल ज्वरो तीनदेखि पाच दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिइरहेको डाक्टरहरुको भनाई छ ।

सामान्य अवस्थाभन्दा बिरामीको संख्या केही बढेको भएपनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामी कमै संख्यामा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुपानन्द अधिकारीले बताए । अस्पताल र क्लिनिकहरुमा समेत भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ ।

‘अहिले सिजनलरुपमा भाइरल ज्वरो देखिनु सामान्य हो । दुषित पानीको प्रयोग, असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले अहिले विरामीको संख्या केही बढ्दै गएको छ,’ उनले भने, ‘अस्पतालमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढिरहेको छ ।’ ग्रामीण क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

उनीहरुका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीहरुको संख्या बढ्दै गएको हो । गर्मी मौसम सुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेको भए पनि आत्तिनुपर्ने अवस्था नभएको स्वास्थ्यकर्मीको भनाई छ । यो सामान्य रोग भएपनि समयमै उपचार नगराए मानिसको ज्यानसमेत लिने गर्दछ ।

यो रोग स्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । हाल देखिएको भाइरल ज्वरोमा रोगीले सबैभन्दा पहिले टाउको दुखाइको समस्या देखिने गरेको छ । एक/दुई दिन टाउको दुखाइपछि ज्वरोले समेत समात्छ र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने अस्पतालका डा.अधिकारीले बताए ।

उनका अनुसार अन्य कुनै कडा लक्षण नदेखिए ज्वरो भएको दुई/तीन दिनसम्म सिटामोल र एन्टिएलर्जिक औषधि उपयोग गर्न सकिन्छ । धेरैजसो भाइरल ज्वरो प्रभावितहरुले डाक्टरको सल्लाह बिनै एन्टिबायोटिक औषधि खाने गरेकोले त्यसो नगर्न आग्रह गर्दै उनले भाइरल ज्वरोमा चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्ने बताए ।

गर्मी उच्च

बाँके लगायत पश्चिम तराईमा पछिल्लो एक सातादेखि गर्मी निकै बढेको छ । चर्को घामसँगै चल्ने तातो हावाले जनजीवन प्रभावित बनेको छ । नेपालगन्जको अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार एक सातादेखि दैनिक १ डिग्री तापक्रम वृद्धि भैरहेको छ । नेपालगन्जको अधिकतम तापक्रम यसबर्षकै उच्च रहेको छ ।

एक सातायता नेपालगन्जको अधिकतम तापक्रम ४१ देखि ४४ डिग्री सेल्सियसको हाराहारीमा रहेको मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले जानकारी दिए । ‘तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी महसुस भैरहेको हो,’ उनले भने । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो ।

काँचो र नपाकेको मासु, बासी खाना, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ ।

लुबाट बच्न पर्याप्त मात्रामा पानी पिउन डाक्टरहरुको सल्लाह छ । ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन,’ स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको