कमजोरीको छायाँमा आठौं खेलकुद : नीजिमा प्रतियोगिता गरेर राखेपले लाज जोगायो

बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा चीनबाट आधुनिक प्रविधिको पोट्रेबल प्याराफिट जडान गरिएको थियो । उक्त प्याराफिटको माथिल्लो भागको दुई तह रातो रिबन लगाएर छुट्टाइएको थियो । उक्त क्षेत्रकै माझमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन ग्रहणको व्यवस्था गरिएको थियो ।

त्यसैले, धेरैले भीआईपी एरिया भएकाले रातो रिबनको क्षेत्र भन्दामाथि नजान उद्घोषकले पटक पटक अनुरोध गरेको ठाने । तर, कारण भने भिन्नै थियो । प्याराफिट खचाखच भरिएपछि धेरैजसो दर्शकहरुले उक्त रातो रिबनको घेरा पनि नाघे, अनि उद्घोषक आफैले कारण खोतल्दै भने, ‘हामी तपाईंहरुकै सुरक्षाका निमित्त अनुरोध गरिरहेका छौँ । कृपया रातो रिबनभन्दा माथिको क्षेत्रमा नगई दिनुहोला ।’

उक्त क्षेत्रमा दर्शकहरु बस्दा प्याराफिटमा जोखिम बढ्ने डर आयोजकलाई थियो । चीनबाट चैत्र दोस्रो साता मात्रै आइपुगेको प्याराफिटका सबै नट–बोल्ट कस्ने काम नसकिदैँ ‘अन्डर कन्स्ट्रक्सन’ प्याराफिटमै आयोजकले देशकै प्रमुख व्यक्ति र हजारौँ दर्शकहरुको ज्यान जोखिममा राखेर उद्घाटन सम्पन्न गर्यो । विश्वमा कहीँपनि ‘अन्डर कन्स्र्टक्सन’ साइटमा कुनैपनि गतिविधि हुँदैनन् ।

अझै खेलमा भने हजारौं दर्शकहरुको उपस्थित हुने भएकाले त्यहाँ सुरक्षालाई पहिलो प्राथमिकतामा राखिन्छ । तर, विश्वको सर्वमान्य सिद्धान्त ‘शुरुमा सुरक्षा’लाई लत्याउँदै आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हजारौँको ज्यान जोखिममा राख्यो । ‘हामीलाई प्राविधिकले प्याराफिटमा उद्घाटन गर्न मिल्छ भनेपछि मात्रै उद्घाटन गरेका हौँ,’ राखेप सदस्यसचिव तथा मुल आयोजक समितिका अध्यक्ष केशव विष्ट भन्छन् ।

उनले अझै पनि आयोजनाको अपुग ११ करोड रुपैयाँ नआएको बताए । ‘यसपटक पूर्वाधारमा झण्डै १ अर्बभन्दामाथि खर्च गर्यौं । सबैभन्दा ठूलो समस्या बजेटको हो । बजेटको समस्या, निर्णय ढिलो हुने समस्या भएकाले धेरै पूर्वाधार समयमै सकिएनन्,’ बिष्टले भने । निर्माणाधिन प्याराफिटमा उद्घाटन गर्नु यसै साता सम्पन्न आठौँ खेलकुदको एकमात्रै कमजोरी होइन ।

निर्माण भएका हरेक पूर्वाधारमा समस्या देखिए, अनि परम्परागत व्यवस्थापनको कमजोरीले आठौँ खेलकुदको उत्साहलाई छायाँमा पारिदियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण भौतिक पूर्वाधार, खेल तथा खेलाडी व्यवस्थापन सम्पूर्णको जिम्मेवारी राखेप स्वयंले गरेको थियो । राखेपकै काम गराई र व्यवस्थापनको छायाँमा राष्ट्रिय खेलकुद परेको हो ।

राखेपले पूर्वाधारमा छलाङ मारेको दावी गरेपनि निर्माणमा भएको ढिलासुस्तीका कारण दुईवर्ष अघिबाट शुरु भएको तयारीले पनि पूर्णता पाएन । कुनैपनि पूर्वाधार पूर्ण रुपमा बनि नसक्दै खेलहरु सञ्चालन भए । एकातिर खेलाडीहरु खेलिरहँदा अर्कातर्फ निर्माणको काम जारी थियो । नेपालगन्ज रंगशालालाई २५ करोडमा स्तरोन्नति गरेको राखेपले मैदानमा विश्वभर प्रयोग हुने बर्मुडा घाँस रोपेको थियो ।

तर बर्मुडा घाँसलाई आवश्यक पर्ने पानीको व्यवस्था नगर्दा मैदानमा खेल खेलाउँदासम्म उक्त घाँस सुक्ने अवस्थामा पुगेको थियो । रंगशालासँगै रहेको पौडी पोखरीको काम अझैपनि सकिएको छैन् । प्रतियोगिता दौरान २३ करोड लागतको उक्त पोखरी निर्माण सम्पन्न नभएपछि अन्तिम दिनसम्म पनि पौडी कहाँ हुने भन्ने निश्चित थिएन । तर, स्थानीय एक होटलको पौडी पोखरामा आयोजना गर्दै राखेपले लाज जोगायो ।

काठमाडौँपछि रंगशाला परिसरमा बनेको उक्त अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मिल्ने पौडी पोखरीले अबको दिनमा पूर्णता पाउने हो कि हैन भन्ने पनि शंका छ । यस्तै, नेपालगन्जमै सुटिङ रेन्ज, भारोत्तोलन एकेडेमी, कभर्ड हल र जुडो हल पनि निर्माणाधिन अवस्थामै सञ्चालन भए । बाँकेको खजुरामा शुक्र भलिबल कोर्ट, बर्दियामा कबड्डी हल, खो–खो कभर्ड हल, सेपाकताक्रो कभर्ड हलले पनि पूर्णता पाएनन् ।

दाङको बेलझुन्डिमा काठमाडौँबाहिर पहिलो पटक एथ्लेटिक्स प्रतियोगिताको लागि सिन्थेटिक ट्रयाक निर्माण भएको छ । २५ करोड लागतको उक्त सिन्थेटिक ट्रयाकमा नै आठौँ राष्ट्रिय प्रतियोगिताका सम्पूर्ण दौडका स्पर्धाहरु भए । काठमाडौँमा दशरथ रंगशालामा भुकम्पमा क्षति पुगेपछि पहिलोपटक धेरै खेलाडीले दाङकै उक्त नवनिर्मित सिन्थेटिक ट्रयाकमा दौडको अनुभव लिएका थिए ।

तर, दौड सुरु हुनुअन्तिम दिनसम्म पनि सिन्थेटिक ट्रयाकको काम सकिएको थिएन । म्याराथनको रुट पहिल्याउन पनि आयोजकले ध्यान दिएको पाइएन । जसका कारण अन्तिम दिनमात्रै म्याराथनको रुट खेलाडीहरुले थाहा पाए । दाङकै तुल्सीपुरमा निर्माण भएको कभर्ड हल, लमही र कोहलपुलमा स्तरोन्नती गरिएका क्रिकेट मैदान, कपिलवस्तुको कुस्ती मैदानमा पनि कमजोरी कै माझ प्रतियोगिताहरु सञ्चालन भए ।

व्यवस्थापकीय कमजोरीको पूरानै रोग

दाङमा निर्माण गरिएको एथ्लेटिक्स ट्रयाक मोफसलमै पहिलो हो

बाँकेको नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा सञ्चालन गरियो । सबै ठाँउमा देखिएको व्यवस्थापकीय कमजोरी राष्ट्रिय प्रतियोगिता छायाँमा पर्ने अर्को कारणका रुपमा देखियो । उद्घाटन र समापन समारोह नेपालगन्ज रंगशालामा भव्य भएपनि पदक दिने क्रममा भने समग्रमा दोस्रो भएको पुलिसका स्थानमा एपीएफलाई ट्रफी दिदैँ आयोजकले गम्भीर त्रुटी गर्यो ।

जबकी, समग्रमा दोस्रो स्थान पुलिसले हात पारेको थियो । प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगर कम्प्युटर इन्ट्री गर्दा गलत पर्न गएको भन्दै पन्छिए । यस्तै राखेपले प्रतियोगिता बैशाख ५ गते घोषणा गर्दा चैत्र अन्तिम साता गरेको पत्रकार सम्मेलनमा ३ सय ७२ स्वर्णका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताएको थियो । तर, आठौँको समापन हुँदा जम्मा ३ सय ३२ स्वर्णमात्रै देखिए । अधिकांश खेलहरु निर्धारित कार्यतालिका र समयमा पनि सुरु भएनन् ।

दाङमा कराँते प्रतियोगिता अघि भएको उद्घाटन समारोह मन्तव्यका कारण लम्बिदा सो दिन हुने खेल नै अर्को दिन सार्नु र्पयो । उक्त कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा तथा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना स्वयं उपस्थित थिए । यस्तै, व्यवस्थापनमा कराडौँ खर्च गरिएपनि खेलाडीहरुबाट पोशाक, खाजा, आवातजावत, भत्ता, आवास लगायतका गुनासाहरु प्रतियोगिता अवधिभर नै आइरहे ।

दाङमा रंगशाला वरिपरि खाजा खाने पसलसम्म नभेटिएपछि खेलाडीहरुले चाउचाउको भरमा बस्नुपर्यो । रुपन्देहीमा भएको क्रिकेट प्रतियोगितामा भने खेलाडीलाई पानी समेतको व्यवस्था नभएको गुनासो सुनियो । राखेपको प्रचारप्रसार शहर केन्द्रित हुँदा गाउँमा भएका प्रतियोगिताहरु दर्शकविना नै सञ्चालन भए । फुटबल, क्रिकेट, भलिबलमा दर्शक देखिएपनि अन्य खेलमा खेलाडी र अफिसियलमात्रै देखिन्थे । फुटबलको सेमिफाइनल र फाइनल खेलमात्रै नेपालगन्ज रंगशालामा भए ।

त्यसअघिका लिगचरणका खेलहरु गाउँको विद्यालयमा खेलाइदाँ दर्शकहरु बिनै खेलाडीहरु भिडे । उपाधि विजेता आर्मीका कप्तान भरत खवासले लिग चरणकै खेलहरु रंगशालामा खेल्न पाएको भए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे । सेमिफाइनलको खेलपछि उनले भने, ‘सेमिफाइनलका खेलहरुमा रंगशालाभरि दर्शकहरु भरिएको देख्दा बल्ल राष्ट्रिय खेल खेलिरहेको छु जस्तो लाग्दैछ ।’ व्यवस्थापकीय कमजोरी आयोजक राखेपबाट मात्रै हैन, सहभागी टोलीहरुमा पनि देखियो ।

दाङमा महिला हाइजम्पका क्रममा राखेपले उपलब्ध गराएको जर्सी साइजभन्दा निकै ठूलो भएको भन्दै प्रदेश–६ कि विष्णु राईले इटालीको फुटबल जर्सी लगाएर खेलिन् । एक देशको राष्ट्रिय प्रतियोगितामा अर्को देशको जर्सी लगाएर खेलिएको यो दुर्लभ घटना थियो । १० हजार मिटर दौडमा गण्डकी प्रदेशकी सरस्वती कुँवर ट्रयाकमै ढलिन् । क्षेत्रीय छनौटमा ५ हजार मिटरमा दौडिएपनि प्रशिक्षक र खेलाडीकै जिद्दीका कारण १० हजारमिटर दौडमा उनी भाग लिएकी थिइन् ।

अर्कोतिर झाडापखालाको अस्वस्थताका बाबजुद पनि दौडिएकी उनी मैदानमै लड्न पुगेकी थिइन् । खेलाडी अस्वस्थता तथा आफ्नो तयारीको स्पर्धाभन्दा माथिल्लो स्पर्धामा मैदान उतार्नु प्रदेश व्यवस्थापनको लापरवाही ठहरियो । राष्ट्रिय खेलकुदलाई व्यवस्थापकीय कुशलताका साथ सम्पन्न गर्न सरकारको खेलप्रति हेर्ने दृष्टिकोणमा भर पर्ने बताउँछन् राखेपका सदस्यसचिव विष्ट ।

‘विगतभन्दा राम्रो हुँदै गएको छ । मलाई लाग्छ, यो अझै पर्याप्त छैन,’ विष्टले भने, ‘नवौँमा खेलाडीहरु व्यावसायिक रुपमा उत्रँदै राम्रो पूर्वाधारमा खेल्न पाउनुपर्छ भन्ने मलाई लाग्छ र म यसवर्षको बजेटमै यसलाई सम्बोधन गर्न माग पनि गर्छु । मलाई विश्वास छ नवौँ–दशौँसम्म पुग्दासम्म हामीले व्यवस्थित ढंगबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्नसक्छौँ होला ।’ विगतमा पनि राष्ट्रिय खेलकुदका लागि निर्माण भएका पूर्वाधारहरु खेलपछि भने बेवारिसे बनेका छन् ।

आठौँका लागि निर्माण भएका यी पूर्वाधारहरुको अवस्था पनि विगतमा अन्य क्षेत्र झै हुने हो कि भन्ने डर स्थानीयमा छ । यही कुरा मध्यनजर गर्दै समापन अघि पत्रकार सम्मेलन नै गरेर नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणाले बनेका पूर्वाधारहरुको संरक्षणमा चिन्ता व्यक्त गरेका थिए । उनले बनेका संरचनाहरु संरक्षण र सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिए आफूहरु तयार रहेको समेत बताए ।

‘हामीले देशको परिवेश बुझेकै छौँ । विगतमा अरु ठाँउमा भएको जस्तो नहोस् भन्ने हाम्रो चाहना हो,’ मेयर राणाले भने, ‘यहाँ पूर्वाधार बने, अब बनेका संरचनाहरु र बन्दै गरेका संरचनाको कसरी दिगो संरक्षण गर्ने भन्नेबारे हामी चिन्तित छौँ । खेलकुद परिषदले संरक्षणका लागि हामीलाई आधिकारिकरुपमा पत्र लेखेमा हामी त्यसका लागि तयार छौँ ।’

राखेपका सदस्यसचिव विष्ट पनि स्थानीय निकायलाई पूर्वाधारहरु हस्तान्तरण गर्ने कुरामा सकरात्मक देखिए । आफ्नो व्यक्तिगत धारणा राख्दै भने, ‘नेपालगन्ज रंगशाला कम्प्लेक्स चाहिँ प्रदेश सरकारलाई दिनुपर्छ । त्यसबाहेक अन्य संरचना सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्छ । संरचनाको थप विकास तथा विस्तारमा केही बजेट हामी दिन्छौँ र त्यसमा उहाँहरुले पनि थप्नुपर्छ ।’

देखिएन अब्बल प्रदर्शन

पहिलो पटक गैरआवासीय नेपाल संघ (एनआरएनए) को टोलीसहित ११ टोली सहभागी प्रतियोगितामा १ सय ४० स्वर्णसहित समग्रमा नेपाल आर्मी क्लब पुनः राष्ट्रिय च्याम्पियन बन्यो । यसअघि सातौँ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन पनि आर्मी नै थियो । त्यसबाहेक अपेक्षाकृत नै विभागीय टोलीले पदक तालिकामा वर्चस्व राखे । नेपाल पुलिस क्लब ६२ स्वर्णसहित दोस्रो स्थानमा रह्यो भने शशस्त्र प्रहरी बलको एपीएफ क्लब पदक तालिकामा तेस्रो रह्यो । उसले ५३ स्वर्ण जित्यो ।

गौरिका सिँह

सात प्रदेशलाई उछिन्दै चौथो स्थानमा रहेको प्रदेश ३ ले २२ स्वर्ण जित्यो भने पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्णमात्रै हात पार्यो । पहिलो पटक सहभागिता जनाएको एनआरएनएको टोली भने ६ स्वर्णसहित पुछारबाट दोस्रो स्थानमा रह्यो । ३५ खेलका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु समावेश भएपनि प्रतियोगिता अवधिभर कुनैपनि खेलाडीले उम्दा प्रदर्शन भने गर्न सकेनन् । पौडीकी गौरिका सिँहले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै १२ स्वर्ण जितिन् ।

व्यक्तिगत रुपमा यस प्रतियोगितामा एकल स्पर्धामा उनी नै सफल खेलाडीका रुपमा रहिन् । तर, बेलायतमा रहेर उच्चस्तरको प्रशिक्षण लिएकी गौरिकासँग प्रतिस्पर्धा गर्ने नेपालमै प्रशिक्षण पाएका कुनै खेलाडी पनि देखिएनन् । पौडीमै आर्मीकी डुवाना लामाले ६, एनआरएनका नाथन दोर्जे शेर्पाले ५ स्वर्ण जिते । नाथनले भने नेपाली पुरुष पौडीमा सम्भावना देखाएका छन् । अमेरिकामा बस्दै आएका उनले पौडी संघले बोलाए आफू आगामी डिसेम्बरमा नेपालमै हुने दक्षिण एसियाली साग खेल्ने र देशका पदक जित्ने आशा व्यक्त गरे ।

यस्तै जिम्न्यास्टिकतर्फ राजु राईले ५ स्पर्ण जिते । तर, सातौँ खेलकुदमा ७ स्वर्ण जितेको उनको प्रदर्शन यसपटक भने खस्किएको देखियो । टिम इभेन्ट्सतर्फ फुटबलमा विभागीय टोली आर्मीले पुलिसलाई १–० ले पराजित गर्दै स्वर्ण जित्यो । पुरुष भलिबलमा आर्मीलाई पराजित गर्दै नेपाल च्याम्पियन रह्यो । महिला भलिबलको सदावहार टोली एपीएफलाई कसैले चुनौती दिन सकेन । पुरुष र महिला क्रिकेट दुबै एपीएफकै पोल्टामा रह्यो । ब्याडमिन्टनमा दुई नेपाली च्याम्पियन जन्मिए ।

यसअघि निरन्तर नङशल देवी र रत्नजित तामाङ दिदीभाईको वर्चस्वलाई तोड्दै उनीहरुलाई नै हराएर महिलातर्फ रसिला महर्जन र पुरुषतर्फ दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बने । एथ्लेटिक्समा पनि विभागीय टोली आर्मीकै वर्चस्व रह्यो । आर्मीले सर्वाधिक २१ स्वर्ण जित्यो । ८ स्वर्ण जितेको एपीएफ दोस्रो र ३ स्वर्ण जितेको पुलिस तेस्रो स्थानमा रह्यो । आर्मीकै कृष्ण बस्नेतले पुरुष म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट टाइमिङ २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरे । नेपाल प्रहरीकी राजपुरा पछाई महिलातर्फको म्याराथन विजेता बन्दा दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको कीर्तिमान बनाउँदै दूरी पूरा गरिन् ।

प्रतिक्रिया

धेरै पढिएको