स्वस्थ बच्चा जन्माउँदै एचआइभी संक्रमित आमा

बाँके । सरकारले एचआईभी संक्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम लागु गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि संक्रमित आमाहरुले जन्माएका बच्चाहरुमा पनि एचआइभी संक्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।

‘एचआईभी संक्रमित भएपछि बच्चा नजन्माउन सुझाव दिन्थे । अहिले भने सम्भव भएको छ,’ एक आमाले भनिन्, ‘सन्तान पाउने इच्छा पूरा भयो । स्वस्थ बच्चा पाउँदा निकै खुसी छु ।’ औषधि विज्ञानको नयाँ प्रविधिले फड्को मारेपछि ऊक्त रोगबाट संक्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको छ ।

पीएमटीसीटी कार्यक्रम लागू भएपछि एचआईभी संक्रमित आमाहरु स्वस्थ बच्चा जन्माउन थालेपछि खुसी भएका छन् । बाँकेमा गत आर्थिक वर्षदेखि हालसम्मको अवधिमा १७ जना संक्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् । गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षमा ५ जना एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माएको भेरी अस्पतालले जनाएको छ ।

‘संक्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,’ भेरी अस्पतालका फिजिसियन तथा एचआईभीका स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआईभी संक्रमण हुने सम्भावना निकै कम रहन्छ ।’ संक्रमित आमाहरूकाका लागि अस्पतालमा छुट्टै वार्डसमेत खडा गरिएको छ ।

गर्भवती महिलाको अनिवार्य एचआईभी परीक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको सुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ । ‘गर्भवती भएका महिलामा एचआईभी संक्रमण भएको पाएपछि निगरानी सुरु गर्छौं । त्यहीअनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, ‘संक्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं ।’

संक्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआईभी सार्न रोक्छ । चिकित्सकहरूका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डीएनए पीसीआर गरिन्छ । संक्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ ।

संक्रमित आमाको दूध चुस्दा एचआईभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिँदै आएको छ । चिकित्सकहरुका अनुसार गर्भवती आमाबाट जन्मिने शिशुलाई पनि निगरानीमा राखिने गरिएको छ । चिकित्साशास्त्रको आधुनिकीकरणसँगै संक्रमित आमाहरूको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकामा उनीहरू खुसीसँगै दंग छन् ।

बाँकेमा एचआईभी संक्रमित भएका शतप्रतिशत गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धि भएको चिकित्सकहरूको दाबी छ । असुरक्षित यौन सम्पर्कले हुने एचआईभीको संक्रमण गर्भवती आमाबाट सीधै नवजात शिशुमा सर्छ । तर, संक्रिमत भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ ।

संक्रमित गर्भवती महिला नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । उनीहरूले डाक्टरले दिएको सुझाव मानेमा स्वस्थ बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट संक्रमित बच्चा जन्मिने खतरा रहने गर्छ । बाँकेमा एचआईभी संक्रमण डरलाग्दो छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण संक्रमित व्यक्त्हिरु लुकेरै बस्न बाध्य भएका छन् ।

अस्पतालका अनुसार हालसम्म १२ सय एचआईभी संक्रमित अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ४४० जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् । अझै पनि धेरै संक्रमित सार्वजनिक हुन नचाहेकाले एचआईभीको संक्रमणको संख्या बढी हुने अनुमान गरिएको छ । कामका सिलसिलामा विदेश जाने सर्वसाधारण एचआईभीको बढी जोखिममा पर्ने गरेका छन् ।

घर फर्किंदा रगत परीक्षण नै नगरी सम्पर्क गर्ने गरेका कारण श्रीमतीलाई सजिलै एचआईभी सर्ने गरेको पाइएको छ । गर्भवती आमाको रगत परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ भने प्राथमिक सेवा केन्द्र र स्वास्थ्य चौकीमा पनि रगत परीक्षण गरिँदै आएको छ ।

स्वास्थ केन्द्रले संक्रमित गर्भवती महिलालाई अस्पतालमा रिफर गर्दै आएका छन् । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र राप्तीपारिका क्षेत्र एचआइभी संक्रमणको उच्च जोखिममा छन् । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्ने दुव्र्यसनीहरू एचआईभी र एड्सबाट संक्रमित हुने गरेका छन् ।

कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने र असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले युवाहरू एचआईभीको जोखिममा छन् । लागूपदार्थ दुव्र्यसनी र त्यसका प्रयोगकर्ताहरू, यौनकर्मीहरु पनि यसको उच्च जोखिममा छन् । तर, परामर्श तथा जाँच केन्द्र स्थापना विस्तारसँगै संक्रमित व्यक्तिको पहिचान हुन थालेपछि संक्रमितको संख्या बढ्दो छ ।

प्रतिक्रिया

धेरै पढिएको