जहाँ एक प्याकेट बिस्कुटका लागि शरीर सुम्पिन्छन् !

राधा पोखरेल

‘धेरै त हैन, सय, पचास, बीस, तीस, त्यो पनि नभए एक प्याकेटको लागि भए पनि रात बिताउछौं । यदि ग्राहक आएनन् भने त्यो रात हाम्रोमा अगेनो बल्ने छैन । यसो ग्राहक आए पनि हुन्थ्यो नि कम्तीमा रोइरहेका लालबाला त चुप लाग्थे ।’ यो शब्द सुदुरपश्चिमको दुरदराज जिल्ला बझाङको सदरमुकामको चैनपुरको हो । जहाँ जीवन धान्नका लागि यौन धन्दाबाट जीवनयापन गरिरहेका पीडित वादी महिलाहरुको हो ।

सदरमुकामको नजिकै भएपनि जहाँ यस्तो सुकुम्बासी समुदाय बस्छन् । एक प्याकेट बिस्कुटको लागि शरीर सुम्पिन्छन् । गएराति यूट्युबमा एउटा भिडियो देखेँ । न रूनु, न हाँस्नु, न रिसाउनु, न बौलाउनु, किंकर्तव्यविमूढ भए, एकछिन भावशून्य भएर टहलाएँ । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर १६ मिनेटको भिडियो ७ पटक दोहोर्याएर हेरें हुँला । चटक्कै मुटु चुँडिने खबर ।

जतिपटक हेर्यो, त्यतिपटक झनझन आँखाका खोंचहरू आँसुले भरिएर आए, म भक्कानिए, विक्षिप्त नै भए, बादी महिलाको पिडालाई जति सम्झियो त्यतिपटक वलिन्द्र आँशुका धारा झार्दै मनभित्र आँधीमात्र होइन, सुनामी नै चल्यो । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै भयो । मेरो मुटुमा १० रेक्टरको भूकम्पको कम्पन पैदा भइरहेको थियो । शरीर पसिनाले लपक्क भिजेको थियो । म आँखा खोल्न सक्ने अवस्थामा थिँइन ।

बाह्र परिवारका सदस्य छ घरमा करिव सत्तरी जना कोचिएर बस्छन् । परापूर्वकालमा घुमन्ते जीवन बिताउने उनीहरु पछि आएर यसरी एकैठाँउमा बस्न थाले । पहिले उनीहरुको मुख्य ब्यवसाय नाचगान थियो । अहिले बुढ्यौलीले छोएका र सुत्केरीबाहेक सबैले यौनपेशा अपनाउने गरेका छन् । बैकल्पिक पेशा नभएपछि उनीहरु जीवन धान्नकै लागि यौनपेशा चलाएर बिहान बेलुकाको छाक टारिरहेका रहेछन् ।

उनीहरुको जीवन यति कष्टकर होला मैले कल्पना पनि गर्न सकेकी थिइन् । आफ्नी श्रीमती, छोरी, बुहारी आफ्नै आँखा अगाडि यौनपेशा गरिरहेको देख्दा कस्तो होला ? तपाईहरु आफै कल्पना गर्नुहोस् त एकपटक । यदि यसो गरिएन भने साँझ अगेनो बल्दैन र सास धान्ने अरु केहि विकल्प नै छैन उनीहरुसँग ।

भविष्यका कर्णधार बालबालिकाहरूले के संस्कार सिक्छन होलान् ? हे भगवान । सुन्दामात्र पनि आंग सिरिंग भएर आउँछ । तै पनि यो बुज्रुक समाज किन बोल्दैन ? हाम्रा राष्ट्रपति किन बोल्नुहुन्न ? के बादी भएर जन्मिएपछि यौनपेशा नै गर्न बाध्य हुनुपर्ने हो र ? यो कस्तो बिडम्बना कस्तो पिडा अनि कस्तो बाध्यता ?

अहिले बुढ्यौलीले छोएका र सुत्केरीबाहेक सबैले यौनपेशा अपनाउने गरेका छन् । यदि यसो गरिएन भने साँझ अगेनो बल्दैन र सास धान्ने अरु केहि विकल्प नै छैन उनीहरुसँग ।

समाज परिवर्तनको रफ्तारसँगै परम्रागतरुपमा देह ब्यापारलाई नै पेसा बनाएका बादी समुदायले बिस्तारै त्यस्तो काम गर्न छाडिसकेका छन् । तर जहाँ मैले यस्तो खबर हेरेँ त्यहाँ परिवर्तनको कुनै छनक नै छैन । के नारी उपभोगको साधन हो ? नारीलाई नंग्याएर वा किन हामी यस्तो विनाशको बाटो हिंडिरहेका छौं ? समाज र देशका शासकहरू के हेरिरहेका छन् ?

समाज र देशको बेइज्जत हुँदा शासकहरूलाई लाज लाग्नुपर्दैन ? विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । सायदनिकट भविश्यमा मान्छे अरू ग्रहमा बसाइँ सर्न सफल हुन्छन् होला । तर, विडम्वना । हाम्रो देशका हामी नागरिक चरम गरिबीमा बाँचिरहेका छौं ।

एकातिर महिला हिनताबोधले ग्रसित छन् । मानसिक रूपमा आतंकित छन् । शारीरिकरूपमा रोगी बन्दैछन् । अर्का्तिर पुरूषहरूले घृणा गर्छन्, अमानवीय व्यवहार गर्छन् । अनि परम्पराका नाममा अभिभावक र यो समाज गर्व गर्छ । सरकार मूकदर्शक बनेर रमिता हेर्छ । आर्थिक विपन्नताको कारण कतिपय नेपाली नारीहरू बेश्याबृत्तिमा लाग्न पनि बाध्य छन् । कतिपय होटल, रेष्टुरेन्ट, डान्सबार, मसाज सेन्टर अघोषित बेश्यालय बन्न पुगेका छन् ।

प्रहरी प्रशासनकै मिलिभगतमा त्यस्ता ठाउँहरूमा यौनब्यापार भइरहेको कुरा बेलाबखत मिडियामार्फत समाचार सार्वजनिक भइरहेका छन् । मलाई लाग्छ स्वईच्छाले कुनै पनि सद्धे महिला वेश्याबृत्तिमा लाग्नै सक्दैन । वेश्याबृत्तिमा संलग्न महिलाहरूलाई घृणा गर्नुभन्दा सबैलाई रोजगारी उपलब्ध गराई त्यस्तो घृणित पेसाबाट मुक्त गराउन सिंगै राज्य र समाज किन लागि पर्दैन ?

सरकारी र गैरसरकारी संघसंस्थाहरू गाउँगाउँमा च्याउसरी खुलेका छन् र त्यसले बिभिन्न शीर्षकमा बार्षिक अरबौं बजेट बालुवामा पानी बगाएर खर्च गरिरहेका छन् । अब त्यस्ता संघसंस्थाहरूले पनि परिणाममुखी काम गर्न जरूरी छ । साथै, नागरिक समाज र त्यसका अगुवाहरूले पनि काठमाडौंको तारे होटलहरूमा केही मान्छे जम्मा गरेर उपदेश दिन बन्द गरी जनताकाबीच गएर चेतना जगाउन आवश्यक छ । यस अभियानमा राजनीतिक पार्टीहरू, सामाजिक संघसंस्थाहरू, नागरिक समाज सबैले पनि साथ दिन जरूरी छ ।

अन्तमा, विकाशको भेल बगाउन लागिपरेको वर्तमान सरकारले यी बादी महिलाहरुको रोदन र क्रन्दनलाई सुन्ने साहस गर्ने की नगर्ने ? लोपोन्मुख अवस्थामा रहेका यी जातीको चित्कार सुनेर जो कोहीको पनि भक्कानो फुटेर आउँछ । पक्कै पनि नेता ज्यूहरुले चुनावताका यीनलाई भर्याङ्ग त अवस्य बनाएकै होलान् । यो नारकीय जीवन विताउन बाध्य परिवारलाई त्यो नर्क कुण्डबाट पार लगाउनेतर्फ सरकार लागिपरोस् भन्न चाहन्छु ।(लेखिकाको फेसबुक पेजबाट)

प्रतिक्रिया

लोकप्रिय