सवारी दुर्घटनामा २७ लाख बढीको क्षति, भदौं महीनामा सबैभन्दा धेरै

फाइल तस्वीर

बाँके । सवारी दुर्घटनाका कारण बाँकेमा चालु आर्थिक वर्षमा रु.२७ लाख ५६ हजार बराबरको क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार भदौं महीनामा सबैभन्दा बढी र माघ महीनामा सबैभन्दा कम क्षति भएको छ ।

तथ्यांक अनुसार साउनमा रु.१ लाख ७५ हजार, भदौमा रु.१३ लाख ५० हजार, असोजमा रु.२ लाख ३४ हजार, कातिकमा रु.२ लाख ५० हजार, मंसीरमा रु.१ लाख ९४ हजार, पुसमा रु.२ लाख ४५ हजार, माघमा रु.८५ हजार र फागुन महिनामा रु.२ लाख २३ हजार बराबरको क्षति भएको छ ।

त्यसैगरी बाँकेको मुख्य राजमार्ग (पूर्व–पश्चिम) क्षेत्रमा सवारी दुर्घटनाको दर पनि उच्च देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको तथ्यांक अनुसार ६० वटा सवारी दुर्घटनामध्ये २६ वटा दुर्घटना मुख्य राजमार्ग क्षेत्रमा भएका छन् भने २२ वटा सवारी दुर्घटना शहरी क्षेत्रमा र ११ वटा सवारी दुर्घटना ग्रामीण क्षेत्रमा भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

तथ्यांक अनुसार ८२ वटा सवारी साधन दुर्घटनामा संलग्न रहेका पाइएको छ । जसमा यस आवको फगुन मसान्तसम्म सडक दुर्घटनामा परी बाँकेमा ३७ जनाको मृत्यु भएको छ भने ४२ जना गम्भीर घाइते, ५२ जना सामान्य घाइते भएका छन् । सडकको क्षमताभन्दा गाडीको संख्या दोब्बरले वृद्धि भइरहेकाले दुर्घटना न्यूनीकरणमा चुनौति देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले सवारी साधनको संख्या दोब्बरले वृद्धि हुनु र करिब ४० बर्षअघि निर्माण भएका सडक स्तरोन्नती हुन नसक्दा दुर्घटना बढेको बताए । उनका अनुसार, प्रत्येक वर्ष सडक दुर्घटनामा वृद्धि भैरहेको छ । ‘न्यून जनशक्तिका कारण ट्राफिक व्यवस्थापनमा केही चुनौति छ,’ उनले भने ।

पुराना र जीर्ण सडकमा तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड र चालकको लापरवाहीले दुर्घटना बढेको बताउँदै प्रहरी निरीक्षक रोकायले भने, ‘मापसे गरेर सवारी चलाउने, सडकमा बिग्रीएका सवारी साधनलाई संकेत बिनै राख्ने, प्रहरी पहुँच नभएको ठाउँमा ओभरलोड गरी सवारी चलाउनाले पनि दुर्घटनामा मृतकको संख्या बढ्दै गएको हो ।’

न्यून जनशक्ति, जीर्ण सडक, ट्राफिक नियम अटेरीका कारणले पनि मानिसले ज्यान गुमाउने, अंगभंग हुने गरी दुर्घटना हुने गरेको उनको भनाई छ । प्रहरी निरीक्षक रोकायले आफ्नो ज्यान जोगाउन नागरिक आफै पनि सचेत हुनुपर्ने भन्दै ट्राफिक नियमप्रति नागरिक जिम्मेवार बनाउन सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताए ।

प्रतिक्रिया

लोकप्रिय