प्रदेश ५ मा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण, एक जना ट्राफिक प्रहरीलाई २१ किलोमिटर !

बाँके । प्रदेश ५ मा ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । प्रदेश ५ मा एकजना ट्राफिक प्रहरीले औसतमा २१.११ किलोमिटर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस प्रदेशमा ३६१ किलोमिटर पूर्वपश्चिम राजमार्ग मात्रै पर्छ । योसँगै ट्राफिक प्रहरीलाई अन्य जिल्लासँग जोडिएका सडकहरुको व्यवस्थापनमा पनि उत्तीकै सक्रिय हुनुपर्छ ।

प्रदेश ५ मा २४ महिला र ४३६ जना पुरुष ट्राफिक गरी जम्मा ४६० जना ट्राफिक प्रहरीको दरबन्दी छ । न्यून जनशक्तिले धेरै दुरीमा ट्राफिक व्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमूख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । उनका अनुसार, सवारी साधनको निगरानी गर्ने ट्राफिकको संख्या भने न्यून पाइएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार, प्रत्येक वर्ष सडक दुर्घटनामा वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८२५, आव ०७३/०७४ मा ८४३ र आव ०७४/०७५ मा ८५६ वटा दुर्घटना भएका छन् । प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार सडक दुर्घटनाका कारण प्रदेश ५ मा ज्यान गुमाउने, गम्भीर घाइते र साधारण घाइतेहरुको तथ्यांक पनि डरलाग्दो देखिएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार आव २०७२/०७३ मा ५८१ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने ८०७ गम्भीर ६९२ जना सामान्य घाइते भएका थिए । आव ०७३/०७४ मा ५७० जनाको दुर्घटनामा ज्यान गएको छ । सोही आवमा ७२१ गम्भीर ५८८ जना सामान्य घाइते भएका छन् । आव ०७४/०७५ मा दुर्घटनामा मृत्यु हुनेहरुको संख्या अघिल्लो बर्षभन्दा केही कमी आएको छ ।

यस अवधीमा दुर्घटनाका कारण ५४५ को मृत्यु, ८५४ जना गम्भीर र ५७१ जना सामान्य घाइते भएका छन् । यस तथ्यांकलाई आधार मान्दा प्रदेश ५ मा प्रत्येक दिन दुर्घटनाका कारण २ जनाले अकालमा ज्यान गुमाउने गरेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिए । प्रदेशमा चालु आवको आठ महिनामा भएको दुर्घटनाका कारण सरदर झण्डै दुई जनाले ज्यान गुमाउने गरेका छन् ।

चालु आवको फागुनसम्म ३४८ जनाले दुर्घटनाका कारण अकालमा ज्यान गुमाएका छन् । उक्त अवधीमा ६४२ जना गम्भीर घाइते भएका छन् भने ४८३ जना सामान्य घाइते भए । प्रहरी उपरीक्षक चन्दले तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड, जीर्ण सडक र चालकको लापरवाहीले दुर्घटना बढेको बताए ।

‘मापसे गरेर सवारी चलाउने, सडकमा बिग्रीएका सवारी साधनलाई संकेत बिनै राख्ने, प्रहरी पहुँच नभएको ठाउँमा ओभरलोड गरी सवारी चलाउनाले पनि दुर्घटनामा मृतकको संख्या बढ्दै गएको हो,’ चन्दले भने । उनका अनुसार यात्रुहरुले जथाभावी बाटो काट्ने, झुण्डिएर यात्रा गर्ने, विवाह, मलामी, वनभोज, राजनीतिक दलका कार्यक्रममा ट्राफिक नियम पालना नगर्दा दुर्घटनाहरु बढिरहेका छन् ।

प्रदेश ५ मा शहरीकरण तीव्र छ । त्योसँगै सवारीको चाप पनि उल्लेख्य बढेको छ भने शहरी क्षेत्रका बाटो साँघुरिँदै गएका छन् । अहिले प्रदेश ५ मा पाँच लाख ५० हजार सवारी साधन रहेका छन् । सडक भने एक हजार ८४९ किलोमिटर मात्र कालोपत्रे छ । यस्तो अवस्थामा चालकले संयमता अपनाउनुपर्ने प्रहरी उपरीक्षक चन्द बताउँछन् । चालकले संयमता अपनाए सडक दुर्घटना आधाभन्दा धेरै घट्ने जाने उनको भनाइ छ ।

उनले न्यून जनशक्ति, जीर्ण सडक, ट्राफिक नियम अटेरीका कारणले पनि मानिसले ज्यान गुमाउने, अंगभंग हुने गरी दुर्घटनाका घटना हुने गरेको बताए । चालु आवमा बाँकेमा मात्रै ६० वटा सडक दुर्घटना भएका छन् । जसमा ३७ जनाको मृत्यु ४२ जना गम्भीर घाइते र ५० जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले आफ्नो ज्यान जोगाउन नागरिक आफै पनि सचेत हुनुपर्ने बताए ।

उनले ट्राफिक नियमप्रति नागरिक जिम्मेवार बनाउन ट्राफिकका सम्बन्धमा भएका ऐन, नियम र अदालती फैसलालाई कार्यान्वयनमा ट्राफिक प्रहरी सक्रियरुपमा लागेको बताए । ‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालना गराउन कडाईका साथ लागिपरेका छौं,’ प्रहरी निरीक्षक रोकायले भने, ‘आपतकालीन अवस्था र अञ्जानमा कसैले नियम तोडेमा सम्झाई बुझाई गरेर पठाउँछौं ।’

प्रदेशमा सडक दुर्घटना र मृतकको संख्या बढ्दै गएपछि प्रदेश सरकारले गत फागुनमा कार्यदल गठन गरेको थियो । प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठित सडक सुरक्षा सुझाव कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्यसचिव छन् । कार्यदलले प्रदेशका विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेको छ ।
र्
टनाको कारण पहिल्याएर न्यूनीकरणका लागि कदम चाल्नुका साथै ट्राफिक व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउने उद्देश्यका साथ कार्यदल गठन गरिएको हो । प्रदेशका सडकको अवस्था, सडक सुधारका लागि गर्नुपर्ने काम, दुर्घटना रोक्ने उपायसहितको प्रतिवेदन दुई महिनाभित्र तयार गरी प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा प्रदेश सरकार सडक सुरक्षा योजना बनाएर लागु गर्ने योजनामा छ ।

प्रतिक्रिया

लोकप्रिय