राजु सुनाम : ‘धेरै कुरा उतै छुटाए, उतै छोडे’

काठमाडौं । नेपालगन्जबाट काठमाडौँका लागि रात्रीबस छुट्यो । उनले बिर्सिसके उनको छेउको सिटमा को बसेको थियो । यत्ति सम्झना छ, भएको दुई हजार रुपैयाँमध्ये टिकट लिएर बचेको बाँकी एक हजार खल्तीमा थियो । कतै हराउँछ कि भनेर उनी बेलाबेला खल्ती छामिरहन्थे ।

काठमाडौँका लागि बस छुटेसँगै उनले धेरै कुरा उतै छुटाए, उतै छोडे । उसो त नेपालगन्ज आउनुअघि धेरै कुरा गाउँमा छुटेका थिए । घर–बाआमा–घर नजिकैको धारो–गाउँघर–आफ्ना पैतालाले वर्षाैदेखि टेकिरहेको जमिन । यी सबै, सबै गाउँमै छुटे । र, गाउँमै छुटिन् ६ महिनाकी गर्भवती श्रीमती पनि ।

जाजरकोट भेरी नगरपालिका–२, (साविक खलंगा–७ डिँगा) का राजु सुनाम गायक बन्ने सपना र रहरको झोला बोकेर काठमाडौँ सहरका लागि हिँडे । नेपालगन्ज आइपुग्न दुई दिन लाग्यो । साथमा मजदुरी गर्न भारत जाने गाउँकै साथीभाईहरु थिए । उनीहरु पनि नेपालगन्जमै छुटे । उनी सम्झिन सक्दैनन् जीवनको यो उमेरसम्मा आइपुग्दा के–के छुटे ?

कहाँ–कहाँ छुटे । तर, उनी आफ्नो यात्रामा कहिँ नछुटी हिँडिरहेका छन् । २०६२ असारमा नेपालगन्ज झरेर पहिलो एल्बम निकाले ‘सिउँदो खाली छ’ । गीत रेर्कडिङ, आतेजाते गर्दा उनको ४० हजार सकियो । अहिलेको जस्तो भर्चुअल समय थिएन । गीतले बजार पाएन । त्यतिमात्र होइन ४० हजार खर्चेको गीतले पानीसमेत भन्न पाएन ।

तर, उनले हार मानेनन् । किनकी, गाउँघरमा हुने विहे, पुजाआजामा उनी गीत गाउँथे । गाउँमा उनी ‘गायक’ भइसकेका थिए । र, उनलाई साँच्चिकै गायक हुनु थियो । यही सपना बोकेर ०६३ मंसिर ६ गते उनले जाजरकोटबाट काठमाडौँका लागि यात्रा तय गरे । काठमाडौँ नयाँ बसपार्क ।

नयाँ ठाउँ, कता जाने, के गर्ने कुनै टुंगो थिएन । उनी गोंगबुस्थित बसन्तनगरको साइकुरमारी गेष्ट हाउसमा बसे । साथी पैसा लिएर आउँदै भनेर साहूलाई ढाँटे । मनकारी साहूले उनको कुरा पत्याए । उधारोमा बस्न, खाना दिए । उनले सोचेका थिए, काठमाडौँ पुगेपछि नामुद गायक बन्छु ।

दोहोरीमा काम पाइन्छ भनेर उतै हुँदा सुनेका थिए । काम खोज्दा खोज्दै दुई महिना बित्यो । कतै काम पाइएन । अन्ततः काम पाइयो । माछापोखरीस्थित गंगाजमुना दोहोरीमा साँझमा मादल बजाउन काम पाए । गायक बन्न आएका उनी बाद्यवादक बन्नुपर्ने भयो । सोचे, यो राम्रो अवसर । वाद्यवादनसँगै गीत पनि गाउँछु ।

तलब : मासिक २ हजार ।
होटल खर्च : मासिक २५ सय ।

बाँकी पाँच सय कसरी पुर्ति भयो त ? उनी भन्छन्, ‘टिप्स आउँथ्यो । त्यसरी नै चल्यो ।’ जागिर त पाए । तर, दुःखले छोडेन । कोही राम्रो गाउने आयो भने, राम्रो बजाउने आयो भने साहूले उसलाई राखेर आफूलाई विदा गर्छ कि भन्ने चिन्ता रहिरह्यो । चिन्तलाइ उनी हिम्मतले जित्थे । उनलाई उनको सपनाले जित्न सहयोग गथ्र्यो ।

‘जसरी पनि गायक बन्छु भनेर आएको थिएँ’, राजु भन्छन्, ‘इट्टा बोकेर भएपनि एल्बम निकाल्छु भन्ने सोँचमा थिएँ ।’ उनी एकप्रकारले खुशी थिए, एकप्रकारकाले दुःखी । खुशी यसमानेमा कि उनी सपनाको सहर काठमाडौँमा थिए, दुःखी यसमानेमा कि उनीसँग खल्ती पैसा थिएन । जिन्दगी यसरी नै चलिहरह्यो । दोहोरी साँझमा राम्रो हुँदै गयो ।

तर, त्यहाँ काम गरिरहेका पुराना कलाकारहरुको हेपाई भने सहिरहनुपर्यो । सजिलो गीत आफू गाउँथे, अलि अफ्ठेरो आयो भने राजुलाई गाउन लगाउँथे । तीनै अफ्ठ्याराहरुले राजुलाई अहिले यहाँ ल्याइपुर्याएको हो । ०६४ सालमा ‘जोडी ढुकुर’ एल्बम निकाले । आधाउधी लगानी उठायो । त्यसपछि उनी हौसिए ।

पहिलो एल्बमले पानी समेत भन्न पाएको थिएन । यसले कमसेकम आधा लगानी त उठायो ! त्यसपछि उनले जलेको मन शितल पार्नलाई, सपनीमा देखेँ, दशैँ–तिहार खर्च, टीका राम्रो दहीले, पानी घैलाको, उठेर–बसेर, वर माग्छु शिवजी, न्याउली चरी, आँशु खस्दा, सँधै पागल हुने भइयो सानू, मायाको गाउँ जाने बाटो जस्ता थुप्रै गीत निकाले ।

जसले लगानी मात्र उठाएनन्, राजुलाई परिचित पनि बनाउन थाल्यो । ०७१ मंसिर ३ गते जाजरकोटको भुरचौर नजिकै यात्रुबस भेरी नदीमा खस्यो । जसमा ५४ जनाले ज्यान गुमाए । राजु र उनका सहकर्मी बलु आरसी मिलेर गीत निकाले । मध्यपश्चिम क्षेत्रमा निकै चल्यो ।

‘एउटा दुःखद घटनाको सम्झनामा त्यो गीत बनाएका थियौँ’ राजु भन्छन्, ‘सबैले धेरै माया गरिदिनुभो । अहिले पनि मेला, महोत्सवमा त्यो गीत गाइदिन आग्रह गर्नुहुन्छ । त्यसले पनि हाम्रो क्षेत्रमा थप चिनिने मौका दियो ।’ राजु गीत मात्रै गाउँदैनन् । लेख्छन् र एरेञ्ज पनि गर्छन् ।

०७३ सालबाट एरेञ्जको काम सुरु गरेका उनले अहिले झण्डै २ सय गीतमा एरेञ्ज गरिसकेका छन् । घुसघुसे माया, रन्काइदेउ गीत, रानी भनौँला, शून्य भो गाउँघर लगागयत उनले एरेञ्ज गरेका थुप्रै गीतलाई स्रोताहरुले मन पराएका छन् । यतिधेरै काम गर्दापनि किन गुमनाम ? राजु भन्छन्, ‘पहिलो कुरा त म मिडियाको नजिक हुन सकिनँ । र, दोस्रो कुरा मैले प्रचारभन्दा पनि काममा विश्वास गरेँ ।’

कामलाई विश्वास गर्ने सिलसिलामा अहिले कस्तुरी म्युजिक प्रालि चलाएर बसिरहेका उनी थप राम्रो गर्दै जाने योजनामा छन् । ‘जीवनका यत्रा वर्ष यही क्षेत्रमा बिताइयो, अब अन्यत्र के गर्नू ? यही क्षेत्रमा राम्रो गरौँ भन्ने हो,’ राजु भन्छन् । जब उनी गीत गाउन भनेर काठमाडौँ आए । गाउँमा फलानोको छोरा गायक बन्न गयो भनेर चर्चा चलिरहेको थियो ।

तर, दुई वर्षसम्म गीत सुन्न नपाउँदा धेरैले खिसिट्युरी गर्न थालिसकेका थिए । ०६४ मा निकालेको जोडी ढुकुरले जति चिनाउनुपर्ने हो त्यति सकेन । त्यसपछि ०६५ सालमा निकालेको जलेको मन गीतले भने उनलाई मध्यपश्चिम क्षेत्रमा स्थापित गरायो । गाउँमा भन्न थाले–फलानोको छोरा गायक भएछ नी ! राजुले काठमाडौँको माटोमा धेरै रगत र पसिना बगाएका छन् ।

भृकुटीमण्डपबाट गोँगबुसम्म पैदल हिँडेकोदेखि भोकै सुतेकासम्म किस्सा छन् उनीसित । काठमाडौँ आइसकेपछि उनले विभिन्न प्रतियोगिताहरुमा पनि भाग लिन थाले । २०६४ मा नारी दिवसको अवसरमा भएको खुल्ला राष्ट्रिय दोहोरी गीतमा प्रथम भए । यस्तै, २०६६ मा गणतन्त्र दिवसको अवसरमा भएको लोकगीत प्रतियोगितामा द्वितिय भए ।

त्यसअघि उनले २०६४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरिसकेका थिए । उनको जीवनमा केही बिर्सनै नसक्ने पात्रहरु छन् । जसले राजुलाई कयौँपटक दुःख र अफ्ठ्यामा हात दिएका छन् । साथ दिएका छन् । निर्देशक कुमार केसी, संगीतकार केशव सापकोटा, गायीका गायत्री थापा, सर्जक कर्णबहादुर खत्री, पूर्वसांसद गोविन्द विक्रम शाह, उनले जीवनमा बिर्सनै नसक्ने मान्छेहरु हुन् ।

तत्काललाई काठमाडौँमा बस्न उनलाई दुःख छैन । गायकी भन्दा पनि एरेञ्जको कामले जीविका चलिरहेको छ । अहिले श्रीमती, छोरी र छोरासहित काठमाडौँमा बसिरहेका छन् । तर, उनी अझैँ जीवनको ‘टर्निङ प्वान्ट’ खोजीरहेका छन् । चाहे, त्यो उनले गाएको गीतबाट होस्, चाहे आफूले भरेको संगीतबाट । उनी त्यो दिनको पर्खाईमा छन् ।

प्रतिक्रिया

धेरै पढिएको