ट्राफिक कमाण्ड सम्हालेका २९ बर्षे युवा भन्छन्, ‘चुनौतिसँग जुध्दा आनन्द आउँदा’

बाँके । गहुँगोरो वर्ण, सलक्क परेको शरीर, लक्का जवान । जसले बाँकेको ट्राफिक व्यवस्थापन चुस्त बनाउन खटिरहने हिरेन्द्रबहादुर रोकाय । नेपालीहरुको औषत आयुको मध्यतिर लम्किँदै गरेका उनी हाकिमभन्दा कामदार भएर खटिरहन्छ । उनको खटनपटनले उनलाई पहिलोपटक भेट्ने जो कोहीलाई आकर्षित गर्छ । उनको पोशाक र काँधमा खुकुरी र डण्डा क्रम फुलीले उनको पद सहजै थाहा पाउन सकिन्छ, अर्थात् उनी नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्पेक्टर) हुन भनेर सहजै चिन्न सकिन्छ ।

बाँके जिल्लाको ट्राफिक व्यवस्थापनको कमाण्ड उनै इन्पेक्टर रोकायले चलाएका छन् अर्थात् जिल्लाको ट्राफिक व्यवस्थापन उनकै वरिपरि घुमिरहेको छ । ‘ओठ निर्चदा दुध निस्किन्छ’ भनेझैं झट्ट हेर्दा २२/२४ बर्षका जस्ता देखिने उनको उमेर २९ पुग्यो । उमेरले युवा भएपनि उनको काँधमा जिम्मेवारी भने निकै ठुलो छ । एउटा अधबैंसे ठिटो जसको कमाण्डमा जिल्लाको ट्राफिक व्यवस्थापन मजबुत बन्दै गइरहेको छ । चुनौतिसँग जुध्दा आनन्द मान्ने रोकाय देश र जनताका लागि बतिदान दिने कसम खाँदै वि.सं. २०७० साल चैत्र ९ गते नेपाल प्रहरी सेवामा प्रवेश गरे ।

सेवा प्रवेशसँगै मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा काम गरेसँगै ट्राफिक व्यवस्थापनको अनुभव बटुल्ने अवसर पाए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, क्षेत्रीय तालिम केन्द्र दिपायल हुँदै वि.सं.२०७५ जेठ २१ गतेदेखि उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रहरी निरीक्षकको रुपमा कमाण्ड सम्हाल्न आएका उनलाई यहाँको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निकै चुनौतिहरु थपिए । जिल्लाभर ६४ जनाको भरमा ट्राफिक व्यवस्थापन मिलाउनुपर्ने जिम्मेवारी उनको काँधमा छ । जिल्लामा जम्मा २४ जना ट्राफिक प्रहरीको दरबन्दी छ बाँकी सबै काजले चलिरहेको छ ।

बाँके जिल्लाको ट्राफिक व्यवस्थापनको कमाण्ड उनै इन्पेक्टर रोकायले चलाएका छन् अर्थात् जिल्लाको ट्राफिक व्यवस्थापन उनकै वरिपरि घुमिरहेको छ ।

थोरै जनशक्तिलाई सहीरुपमा परिचालन गरी ट्राफिक व्यवस्थापनमा खटिएका युवा इन्स्पेक्टर रोकाय उनकै पहलमा नेपालगन्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा भयो, अहिले कार्यान्वयनको चरणमा छ । नेपालगन्जलाई पुस १ गतेदेखि ‘नो हर्न जोन’का रुपमा घोषणा गरिएको छ, त्यसको श्रेय रोकायलाई नै जान्छ । हर्न निषेधित क्षेत्र घोषणा गर्नुअघि मंसिर महिनाभर सचेतनामूलक कार्यक्रमहरु गर्दै नागरिकलाई सचेत बनाउन आफै सडकमा खटिएका थिए, इन्स्पेक्टर रोकाय । नेपालगन्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणापछि कार्यान्वयनमा केही चुनौति देखिए पनि समग्रमा ‘नो हर्न’ सफल भएको छ ।

नेपालगन्जमा अहिले निकै कम मात्रामा हर्न बज्ने गर्छन् । थाहा नभएका केही चालकले हर्न बजाउने गरे पनि सचेत बनाउने अभियान चलिररहेको छ । भारतीय सीमा क्षेत्र नजिकै परेकोले केही समस्या देखिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगन्जमा हर्न निषेधित तथा ट्राफिक व्यवस्थापन गर्ने मुख्य योजनाका रुपमा राखेर अभियान सुरु गरेको थियो । ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार तथा ट्राफिक प्रहरीले विभिन्न सकारात्मक प्रयासहरु भएका छन् । यसको श्रेय पनि उनै इन्स्पेक्टर रोकायलाई नै जान्छ । ट्राफिक व्यवस्थापन गर्नु भनेको सवारी दुर्घटना रोक्नु हो । यस्तो कार्यलाई संवेदनशील मानिन्छ ।

उपमहानगरपालिकाले जग्गा नपाएर अहिले नेपालगन्जमा चालकले सडकमै ‘सवारी पार्किङ जोन’ तोकेको छ । बीपीचौक, धम्बोझी चोक र पुप्पलाल चोकमा पार्किङका लागि ‘सवारी पार्किङ जोन’ बनाइएको छ । रोकायकै विषेश पहलमा दुई पाङ्ग्रे सवारीको लागि र चार पाङ्ग्रे सवारीको लागि फरकफरक ‘सवारी पार्किङ जोन’ बनाइएको छ । त्यसैगरी कोहलपुर क्षेत्रको ट्राफिक व्यस्थापनका लागि पछिल्लो समयमा थुप्रै प्रयासहरु भइरहेका छन् । धेरै संख्यामा चलेका अटो रिक्साले पनि दुर्घटनाको जोखिम बढाएसँगै ट्राफिक प्रहरी कार्यालयले अटोको दायाँपट्टिको खुला भागलाई बन्द गर्ने अभियान नै थालेको छ ।

अटोचालकले पनि लाइसेन्स, सवारीको विलबुक अनिवार्यरुपमा राख्नुपर्ने प्रावधान उनकै पहलमा भएको छ । अटो चालकसँग लाइसेन्स बिलबुक नहुँदा दुर्घटना पीडितले क्षतिपूर्ति पाउन नसकेपछि रोकायले उक्त कदम चालेका हुन् । यसैगरी पछिल्लो समय हेलमेट चोरीका घटना वृद्धि भइरहँदा हेलमेटमा मोटरसाइकल नम्बर राख्नुपर्ने व्यवस्थाका बारेमा छलफल गरिरहेका छन् । ट्राफिक प्रहरीलाई विभिन्न किसिमका आरोप प्रत्यारोप लाग्ने गरेका छन् । उनी भने आफूलाई गलत कार्यबाट अलग राख्न चाहन्छन् ।

उनलाई आफू प्रहरीभन्दा पनि आम नागरिकका माझमा ट्राफिक प्रहरी सबैको साथी भएको स्थापित गराउन चाहन्छन् । करिब ९० प्रतिशत सडक दुर्घटना चालकको लापरवाहीका कारणले हुने गरेका छन् । चालकले तिव्र गतिमा सवारी हाक्नुले अधिकांश दुर्घटना हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । जेब्राक्रसिङको बारेमा चालक र सर्वसाधारण यात्रुहरुलाई प्रशिक्षण दिन जरुरी देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी हाक्नु पनि दुर्घटनाको प्रमुख कारण हो । मापसे जाँच गर्ने ब्रेथलाइजर मेसिन नहुँदा चेकजाँचमा केही कठिनाई भएको उनी महसुस गर्छन् ।

चालकले मदिरा सेवन गरे, नगरेको थाहा पाउने भनेको व्रेथलाइजरले हो । अहिले त्यो ट्राफिक प्रहरीसँग छैन । सवारी चालकले मदिरा सेवन गरेको छ भने पनि चेकजाँच गर्न दिदैनन् । विभिन्न बहाना बनाउदै टार्ने गर्छन् । त्यसले गर्दा दुर्घटना हुने अवस्थाको सिर्जना हुनसक्छ । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले ट्राफिक प्रहरीलाई अत्याधुनिक सामाग्रीहरुको व्यवस्थान गरिदिए काममा सहजता आउने थियो । ट्राफिक व्यवस्थापनका लागि सडकमा म्याजिक लाइटको अभाव छ । लाइटले गर्ने काम अहिले काममा खटेका ट्राफिकहरु आफैले गर्ने छन् । पछिल्लो समयमा ट्राफिक प्रहरीले केही न केही सकारात्मक कार्य गरिरहेका छन् । ट्राफिक चिन्ह राखेका भएपनि आम जनताले जानकारी पाएका छैनन् ।

ट्राफिक चिन्हको बारेमा जनतालाई जानकारी गराउन प्रत्येक हप्ता स्कुलिङ कार्यक्रमहरु हुँदै आएको छ । ‘दुर्घटना घटाऔं मान्छे बचाऔं’ भन्ने मुख्य नाराका साथ इन्स्पेक्टर रोकाय आफैं विभिन्न विद्यालयहरु पुग्ने गरेका छन् । अहिले सामुदायिक प्रहरी साझेदारी समिति पनि गठन भैरहेका छन् । त्यस अन्तरगत कोहलपुर नगरपालिकामा महिला सञ्जालसँग पनि सहकार्य गरिरहेको छ । महिलाहरु पनि उत्साहित हुँदै यस कार्यमा सहकार्य गर्दैछन् । अहिलेको अवस्थामा सडकमा सवारी साधन तथा मानिसहरुको चाप बराबर नै छ । यस्तो चापका कारण दुर्घटनाको सम्भावना हुन्छ । यसकारण नेपालगन्ज तथा कोहलपुरमा आकाशे पुल निर्माण गरिनु जरुरी छ ।

उनलाई आफू प्रहरीभन्दा पनि आम नागरिकका माझमा ट्राफिक प्रहरी सबैको साथी भएको स्थापित गराउन चाहन्छन् ।

नेपालगन्जका धम्बोझी, कारकाँदो, पुष्पलाल तथा बीपीचोकमा आकाशे पुल निर्माण गरि सडक दुर्घटनालाई कम गर्न सकिन्छ । यसैगरि कोहलपुरको न्युरोड चोक र कोहलपुर मध्य बजार क्षेत्रमा पनि आकाशे पुल निर्माण गरि सर्वसाधारण मानिसहरुलाई बाटो वारपार गर्न सजिलो हुने र दुर्घटना कम हुने देखिन्छ । जिल्लामा अकल्पनिय दुर्घटना भैरहेका छन् । दुर्घटनास्थलसम्म पुग्नको लागि प्रयाप्त स्रोत र साधनहरु छैनन् । भएका साधनहरु पनि पुराना तथा बिग्रेको अवस्थामा छन् । जिल्लामा १२ वटा पोष्ट छन् । जम्मा ३ वटा मोटरसाइकल मात्रै छन् । एउटा पुरानो बोलेरो भ्यान छ जो गुड्दा गुड्दै आफै स्टार्ट बन्द हुने गर्छ । घटनास्थलसम्म पुग्दा अरुको सहयोग मागेर पुग्नुपर्ने बाध्यता छ । तर पनि सिमित स्रोत साधनलाई नै परिचालन गरेरै भए पनि सफलता प्राप्त गर्न उनी तल्लिन छन् ।

ट्राफिक व्यवस्थापनको जिम्मा सरकार र ट्राफिक प्रहरीको मात्र नभएर आम जनताको पनि हो । ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य पनि हो । ट्राफिक प्रहरी निरीक्षक रोकाया लगायत उनको टिम आमजनताहरुलाई सवारी दुर्घटनाबाट हुने क्षतिलाई कम गर्ने अभियानमा रात दिन लागिरहेको छ । ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सक्यो भने दुर्घटना कम हुने र जनधनको क्षति हुनबाट जोगिनेछ । एउटा युवाको कमाण्डमा चलिरहेको जिल्लाको समग्र ट्राफिक व्यवस्थापनको अभियानमा हामी सबैले साथ दिऔं । युवा कमाण्डरसँगै विभिन्न पदमा रहेर जिल्लाको ट्राफिक व्यवस्थापनको अभियानलाई सार्थक बनाउन तल्लिन सम्पूर्ण ट्राफिक प्रहरीहरुमा शुभकामना ।।

 

प्रतिक्रिया

लोकप्रिय