दुई दिन अगावै होलीमय बन्यो नेपालगन्ज

बाँके । असत्यमाथिको विजयी गरी सत्मार्गमा लागेको खुशीयालीमा एक अर्काबीच रंगहरु प्रयोगबाट खुशीयाली साटेर मनाइने पर्व हो, होली । होली पर्व विशेषगरी हिन्दु धर्ममा आस्था राख्ने सम्प्रदायमा मनाइन्छ । तर, पछिल्लो समयमा होली सवैको साझा बन्दै आएको छ । साथै पर्व मनाउने समयावधि पनि लम्बिएको छ । एकदिन मनाइने होली पर्व पनि अब एकदिनमै सिमित भएको छैन । हप्तादिन अघिदेखि यसको उमङ्गले सवैलाई छोएको छ ।

नेपालमा पहाडी र तराई भेगमा गरी दुईदिन होली मनाइन्छ । तर, केही समयता होली पर्व साप्ताह व्यापी मनाउने चलन चलेको छ । होली आउनु एकसाता अघिदेखि नै एक अर्काबीचमा रंगहरु लगाउँदै खुशीयाली साँट्ने गरिन्छ । यसपटकको होली भोली बुधबार पहाडी क्षेत्रमा हर्षोउल्लासका साथ र तराईका केही ठाउँमा सांकेतिक रुपमा मनाइदै छ । तराईका लागि भने बिहीबार विशेषरुपले मनाइने गरिन्छ । तर, होलीको उमङ्गले नेपालगन्जलाई आइतबारदेखि नै छोइसकेको छ ।

होलीलाई मध्यनजर राख्दै सरकारले पनि दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । यस वर्षको फागु पूर्णीमा अर्थात होली ६ र ७ गते मनाइदैछ । तिथिमा आएको घटबडका कारण यस वर्षको होली चैत्रमा परेको छ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगन्जलाई काखी च्यापिसकेको छ । होलीको पूर्व सन्ध्यामा नेपालगन्जका चोक तथा गल्ली होलीका सामाग्रीले भरिभराउ छन् । सामाग्री खरिद विक्रीमा ब्यापारिले आफ्नो पसल सजाएका छन् । उत्तिकै मात्रामा ग्राहकको पनि भीड लागिरहेको छ ।

बालकदेखि बृद्धासम्म होलीको उमङ्गले छोइसकेको छ । होलीको पूर्वसन्ध्या आज मङ्गलबार नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिति जनाइसकेको छ । विद्यालय तथा कलेजको गेटबाट बाहिरिदै गरेका विद्यार्थीहरु रंगिन अनुहार लिएर निस्किरहेका छन् । कतिपयले सडकमै साथीभाईलाई अविर र रङ्ग लगाई शुभकामना साटिरहेका छन् । दुई दिनसम्म मनाइने पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएको छ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझमात्र सिमित भएन ।

अन्य धर्मवालम्बिहरुले पनि उत्तिकै चाख दिएर मनाउने गर्छन् । धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ । नेपालको पहाडी जिल्लामा होली चाड यहि फाल्गुन ६ गते मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात ७ गते फागु पूर्णीमा मनाइदैछ । दोस्रो दिन तराईमा मनाइने भए पनि होलीले नेपालगन्जलाई छोएको छ । बिद्यालयमा बिदा अगावै बिद्यार्थीहरुले एकआपसमा होली खेलेर रमाईलो गरेका छन् ।

तराईका जिल्लामा बुधबार ७ गते होली मनाइने भएपनि साथीहरुसँग होलीको दिन भेट नहुन सक्ने भन्दै विद्यार्थीले समय अगावै होली मनाएको विद्यार्थी बताउछन् । होली प्रेम, मित्रता र सद्भावको पर्व भएकोले आफ्ना साथीसँग बिद्यालयमा होली खेलेर प्रेम साटासाट गरेको होली मनाइरहेका बिद्यार्थीले बताए । स्कुल पोसाकमै गएका बिद्यार्थीहरु घर फर्किदा रंगिबिरंगी बनेर फर्कीए ।

प्रतिक्रिया

धेरै पढिएको