बेरोजगार सूचीकरण प्रक्रिया सुरु, वडा कार्यालयबाटै सूचीकृत गरिँदै

बाँके । सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् एकसय दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसँगै बाँकेमा पनि बेरोजगार सूचीकरण प्रक्रिया शुरु भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्न बाँकेमा बेरोजगार सूचीकरण शुरु भएको हो । बाँकेमा आठवटै स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक हरिबोल भट्टराईले जानकारी दिए ।

बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए । रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेको शैक्षिक योग्यता, सीप तथा तालीमको विवरण, कामको अनुभव, आफूले काम गर्न चाहेको क्षेत्र, काममा खटिन चाहेको सम्भावित समय र काम गर्न चाहेको स्थान खुलाएर निवेदन दिनुपर्ने उनी बताउँछन् ।

उनकाअनुसार शुक्रबारबाट प्रक्रिया शुरु भयो तर, फाराम भर्ने काम दुई–तीन दिनपछि मात्रै हुनेछ । वडा कार्यालयबाट संकलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्ने प्रावधान रहेको छ ।

सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधारलगायत सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यमा सहकार्य र समन्वय गरी एकीकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गरिने उनले बताए ।

गत फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए । सरकारले एक आर्थिक वर्षभित्र न्यूनतम् एक सय दिनको रोजगारी प्रदान गर्न नसके रोजगारी प्राप्त गर्न नसकेको दिनको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा दिनेछ ।

प्रतिक्रिया

लोकप्रिय