बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बन्दै

भेषराज बस्नेत । राँझा । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा बाँकेमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।

मधेशी तथा मुसलमान समुदायको बाहुल्य रहेको बस्तीमा सानै उमेरमा विवाह गरिदिने संस्कार अmभैm हट्न नसकेकाले बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलाई यो प्रचालनले चुनौती थपेको हो ।

नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयोजक शोभा शाहले शिक्षित, सचेत र राजनीतिक नेतृत्व गर्ने घरपरिवारमा समेत लुकीछिपी बालविवाह हुने गरेको बताइन् ।

‘हामी घरदैलोमा गएर सम्झाउँछौँ विभिन्न गोष्ठी तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ, हाम्रा कार्यक्रमकै सहभागीहरुले पनि बालविवाह गर्ने र गराउने गरेको पाइएको छ,’ उनले भनिन्, ‘जबसम्म सानै उमेरमा विवाह गरिदिने परम्परामा परिवर्तन आउँदैन तबसम्म हाम्रा अभियानले मात्रै बालविवाह न्यूनीकरण गर्न कठिन हुन्छ ।’

बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकारी र सामाजिक सङ्घसंस्थाको मात्र हो कि भन्ने सोचाइमा समेत परिवर्तन हुनुपर्नेमा जोड दिँदै संयोजक शाहले सामाजिक अगुवा, धर्मगुरु र राजनीतिक दलका नेता सबैको सहयोगविना यस्ता सङ्घसंस्थाले मात्रै बालविवाह न्यूनीकरण गर्न नसक्ने बताइन् । उनका अनुसार एक वर्षको अवधिमा नेपालगन्जमा मात्र ३८ बालविवाह भएका छन् ।

सबै बालविवाह जानकारीमा नआएकाले यो सङ्ख्या अझै बढ्न सक्ने शाहको भनाइ थियो । बाँकेमा बालविवाहविरुद्ध क्रियाशील गैरसरकारी संस्था (स्याक)का अध्यक्ष शिवलाल पाण्डेले सामाजिक परम्परा र मान्यतालाई परिवर्तन गर्न समय लाग्ने भएकाले बालविवाह रोक्न नसकिएको बताए ।

‘बालविवाहविरुद्धका अभियानमा भाषण गर्ने व्यक्ति नै सुटुक्क बालविवाह गराउँछन्, अरुको के कुरा गर्ने ?’, पाण्डेले भने, ‘सामाजिक परम्परा र मान्यता एकैसाथ परिवर्तन नहुने हुँदा मानिसको सोचमा परिवर्तन ल्याउनाका साथै समाजलाई पनि सचेत बनाउने काम भइरहेको छ ।’

उनका अनुसार घरपरिवारमा अभिभावकहरूको बेमेल, अभिभावक वैदेशिक रोजगारमा गएका र गरीब परिवारमा बालविवाह हुने गरेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपाल–भारतबीच वैवाहिक सम्बन्धका कारण पनि जिल्लामा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको बताए ।

नेपालबाट भारतमा लगेर विवाह गर्ने गरेका कारण बालविवाह न्यूनीकरण गर्न कठिन भएको उनको भनाइ थियो । नगरप्रमुख राणाले बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना महत्वपूर्ण कुरा भएकाले मधेशी तथा मुसलमान छात्रालाई लक्षित गरी छात्रा विद्यालय सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १९, २०७४/०७५ मा २५ जोडीले बालविवाह गरेका छन् । चालू आर्थिक वर्षको हालसम्म १६ को बालविवाह भएको पाइएको छ । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले परम्परागत मान्यता, अशिक्षा, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौतीका रुपमा रहेको बताए ।

मुसलमान तथा मधेशी समुदायमा सानै उमेरमा विवाह गरिदिने परम्परा अझै छ । मुसलमान धर्मगरु मौलाना अब्दुल जब्बार मञ्जरीले इस्लाम धर्ममा बालविवाहमा छुट नभएको बताए । पुरानो परम्पराका कारण बालविवाह हुने गरे पनि यसमा कुनै धार्मिक कारण नरहेको उनको भनाइ थियो ।

मोबाइल र फेसबुक सहयोगी

बालविवाहको सङ्ख्या बढाउन मोबाइल र सामाजिक सञ्जाल फेसबुक पनि सहयोगी भएको पाइएको छ । बालबालिकाले पनि को मोबाइल र फेसबुकको प्रयोग गर्न थालेकाले यस्ता गतिविधि रोक्न क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलाई यसले अर्को समस्या बढाएको छ । बालविवाहविरुद्ध गठित बाल क्लबका पदाधिकारी नै सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने गरेका उदाहरण छन् ।

‘पहिला घरपरिवारले जबर्जस्ती बालविवाह गरिदिन्थे, अहिले बालबालिका आफँै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन्,’ सिविन नेपाल नेपालगन्ज शाखाका प्रमुख सिद्धराज पनेरुले भने, ‘बालविवाहका सङ्ख्या नघटेको हेल्पलाइनको फोनमा दिनप्रतिदिन यस्ता गुनासो आइरहनाका साथै यसले घरेलु हिंसा, बहुविवाहदेखि आत्महत्याको अवस्थासम्ममा पुर्याउने गरेको छ ।’

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सामाजिक मूल्य, मान्यता र अन्धविश्वासलाई परिवर्तन गर्दै बालबिवाहमुक्त गाउँपालिका बनाउन अभियान शुरू गरेको बताए । ‘बालबिवाह न्यूनीकरण लागि गाउँपालिका भित्रका विद्यालय शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समितिका पदाधिकारीसँग अभिमुखीकरण गरिएको छ,’, अध्यक्ष कक्षपतिले भने, ‘बालबिवाहमुक्त बनाउने यस अभियानमा सबैले सहमति पनि जनाएकाले सफलता प्राप्त गर्न सकिन्छ ।’

बालविवाह रोक्न किशोरी क्लब

बालविवाह न्यूनीकरणका लागि क्रियाशील संस्था स्याक नेपालले जिलाकोे आठवटै स्थानीय तहमा किशोरी क्लब गठन गरेको छ । स्थानीय तहमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखासँगको सहकार्य र समन्वयमा उक्त क्लब गठन गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताए ।

क्लबले प्रत्येक स्थानीय तहका वडास्तरमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्ने र बालविवाह रोक्न क्रियाशील हुने जानकारी दिँदै उनले क्लबमा आवद्ध सदस्यलाई बालविवाहका घटनाको निगरानी गर्न र बालविवाहको सम्भावित क्षेत्रलाई नक्साङ्कन गरी योजना बनाउनका लागि सीप सिकाइएको बताए । रासस

 

प्रतिक्रिया

लोकप्रिय