बाख्रा पालेर आत्मनिर्भर बन्दै महिला

बाँके । बाँकेको दुर्गम क्षेत्र राप्तीसोनारी गाँउपालिकाका महिलाहरु पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित भएका छ । महिलाहरु विभिन्न समूहमा आबद्ध भई व्यवसायिकरूपमा बाख्रापालन गरेर आत्मनिर्भर हुँदै आएका छन् । नजिकै वनजंगल हुँदा घाँसको समस्या नभएकाले खासै दुःख गर्न नपर्ने र बिक्री गरेपछि तुरुन्तै पैसा आउने भएकाले बाख्रापालनमा लागेको उनीहरुको भनाई छ ।

बाख्रापालन व्यवसायमा लागेपछि परिवार पाल्न सहज मात्र नभई केही आम्दानी हुनुका साथै रकम बचत गर्ने अवसर मिलेको बाख्रापालनमा सक्रिय राप्तीसोनारी–६, फत्तेपुरकी टिका खड्काले बताइन् । उनले भनिन्, ‘यसरी पालिएका खसीबाख्रा विक्री गरेर घरखर्चमा सघाउ मात्र पुगेको छैन, फुर्सदको समयलाई सही सदुपयोग गरिरहेका छौं ।’ फत्तेपुरस्थित छटकपुरकी सुगैया थारुले ब्यवसायिकरुपमै खसीबाख्रा पाल्न थालेको ६ वर्ष बढी भयो ।

उनले यो अवधिमा थुप्रै खसीबाख्रा विक्री गरिसकेको अनुभव सुनाइन् । उनले भनिन्, ‘आफुलाई आवश्यक परेको सामग्री किन्न धौ–धौ हुन्थ्यो, अहिले सजिलो भएको छ । यसमा लागेपछि आफुलाई रोजगारी मिलेको छ ।’ खेतीको सिजन नभएको अवस्थामा खसीबाख्रा पाल्दा दोहोरो फाइदा भइरहेको उनले बताए । बाख्राको मलमुत्रलाई तरकारीबारीमा प्रयोग गर्ने गरेको उनको भनाई छ ।

सुगैयाजस्तै सोही गाउँकी रामकली थारुले आफ्नो बाख्रापालनको दिनलाई सम्झिँदै भनिन्, ‘आफूले खसीबाख्रा पाल्न सुरु गरेदेखि चाडपर्व, विवाह, उत्सवमा आफ्नै खसीले गर्जो टार्छौ ।’ उनले बाख्रापालनबाट आएको आम्दानीले एक कठ्ठा खेत पनि किनिसकेकी छन् । उनले भनिन्, ‘घरखर्च त चलेकै छ, खसीबोका बेचेको आम्दानीले थोरै जमीन पनि किनेकी छु । त्यो जमीनमा पक्की घर बनाउने मेरो योजना छ ।’

यसरी व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुका लागी सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेले सहयोग गर्दै आएको छ । बाँके जिल्लाका विभिन्न १५ वटा सेन्टरमा आबद्ध महिला उद्यमीहरुले ब्यावसायिक बाख्रापालनमा सक्रिय छन् । उनीहरुले पालेको खसीबाख्रा उक्त केन्द्रमा जोखेर विक्री गरिन्छ । महिलाहरु व्यावसायिक बाख्रापालनमा लागेपछि राम्रै आम्दानी गरिरहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक कृष्ण केसीले बताए ।

उनले भने, ‘यसमा लागेपछि घरखर्च चलाउन सहज मात्र नभई केही आम्दानी गर्नुका साथै बचतसमेत गरिरहेका छन् । शुुरूवातमा केही समस्या देखिए पनि अहिले छैन । बाख्रापालनबाट महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् ।’ महिला उद्यमीले पालेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी संघमा पठाउने गरे पनि नेपालगन्ज, बर्दिया, दाङ लगायत काठमाडांैका ब्यापारीहरू घरमै आएर खसीबाख्रा खरिद गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको