सधैंका चर्चित नेता रवीन्द्र अब मात्र सम्झनामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ । बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा उनको निधन भएको हो । काठमाडौंबाट बिहान ८ बजे उडेको एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर साढे १ बजे फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दुर्घटना भएको हो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।

विमानस्थलको निरीक्षण गरी फर्कने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन् । अधिकारी गत चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका थिए । उनको राजनीतिक यात्रा विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । कालान्तरमा उनले सोही संगठनको नेतृत्व गर्ने अवसर पनि पाए । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा रेडक्रस तथा विभिन्न क्लबहरुमा संलग्न हुन्थे । उनी जुन संगठनसँग जोडिए, सबैमा चर्चा कमाए ।

२०४४ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु कमिटीको अध्यक्ष, २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वा्चित भएका थिए । २०५६ सालमा उनी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भए । उनी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीको जन्म २०२६ वैसाख २२ मा कास्कीको भरतपोखरीमा भएको थियो । अधिकारी तीन पटकसम्म सोही जिल्लाबाट निर्वाचित भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी अधिकारीले १३ हजार ३८६ मत पाएका थिए । यस्तै २०७० सालको दोस्रो संविधानसभा चुनावमा १३ हजार ११० मत ल्याएर विजयी भएका थिए । ०७४ सालको प्रतिनिधिसभामा चुनावमा भने कास्की २ बाट २७ हजार २०७ मत पाएर विजयी भएका थिए ।

एमाले विभाजन भएसँग बामदेव गौतम नेतृत्वको नेकपा मालेतिर गएका उनका लागि ०५६ सालको प्रतिनिधिसभा चुनाव भने सुखद हुन सकेको थिएन । सो चुनावमा उनले कास्की १ मा पराजित भएका थिए । त्यतिबेला उनले १ हजार ७५२ मत प्राप्त गरेका थिए । पछि उनी मूल पार्टी एमालेमै फर्किए । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर अधिकारीले चर्चा कमाएका थिए ।

साथै, विद्यार्थीमाझ लोकप्रिय पनि भएका थिए । शिक्षामा भएको निजीकरण र व्यापारिकरण विरुद्धको आन्दोलन होस् वा कालापानी मार्च होस् उनले आफूलाई सधैं जनताको पक्षको नेताको रुपमा उभ्याइरहे । सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानमा हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने नेता उनै थिए । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिलाउन अधिकारीको भूमिका थियो ।

त्यतिबेलादेखि नै उनी ठूलो समूहको नजरमा परे । उदयीमान नेताको संकेत पनि दिए । ०६२–६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा अधिकारी पटकपटक गरी पाँच महिना जेल बसेका छन् । ०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए । दोस्रोपटक संविधानसभा सदस्य भएका बेला उनले संसदको विकास समितिको नेतृत्व गरेका थिए ।

सो समितिबाट भएका कतिपय निर्णयहरु यद्यपि चर्चित छन् । त्यतिबेला अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल भएका थिए । अधिकारीका ‘संविधानसभा ः लोकतन्त्र र पुनर्संरचना’ र ‘समृद्द नेपाल’ पुस्तक प्रकाशित छन् । पछिल्लो समय उनी नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाज अनियमिततामा जोडिएका थिए । संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिको छानबिन प्रतिवेदनले मन्त्री अधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको थियो । यद्यपि वाइडबडी अनियमितता प्रकरण अझै सुल्झिएको छैन ।

प्रतिक्रिया

धेरै पढिएको