जाजरकोट : गणतन्त्रकालमा राजाको भाषा, ‘पास दिइबक्सियोस् गोल हानिबक्सियोस् !’

अश्विनी कोइराला । काठमाडौं । परम्परागत भोटो, कछाड र नेपाली टोपी लगाएका भरियाहरुको समूह । साथमा केही घोडाहरु । लामो डोरीले घोडालाई बाँधेपछि भरिया समूहको नाइकेजस्तो देखिने व्यक्तिले मैलो कपडाको पोको फुकाए । दाउराजस्तै अररा पोलेका मकैका रोटीलाई भुँइमा राखेपछि छरिएर बसेका साथीहरुका आँखा चनाखा भए । अर्का एकजनाले कपडाको गाँठो खोलेर टिमुरको अचार मुख्य व्यक्तिका अगाडि राखिदिए ।

छरिएर बसेका सबै एक ठाउँमा गोलाकार भएर बसे । नाइके जस्तो देखिने व्यक्तिले भर्खरै घोडा बाँधेर कम्मरमा हात राखेर उभिएको ठिटोलाई हेरेर खानेपानीको पाइपतिर इसारा गरे । फूर्तिका साथ ती युवाले कुनै घरतिर गएको पाइपको जोड्नी खुस्काए । आम्खोरामा पानी भरियो । खानेपानीका दर्जनौं पाइपमध्येको एकको जोड्नी अलग भएपछि त्यसले पाखो चउर भिजाउन थाल्यो । भरियाको समूह भने राजशी भाषामा कुरा गर्दै रोटी चपाउन थाले ।

डाँडाबाट हेर्दा अघिसम्म कुइरोले ढाकेको खलङ्गा बजारमा घाम लाग्न थालेको थियो । ‘हजुर, उता नजर होस् त ।’ आम्खोराको पानी घुट्क्याउँदै एकजनाले डाँडो उक्लिरहेका मानिसतिर देखाए । एकजना मानिस सकी नसकी बोरा बोकेर समूहको नजिक आउँदै थिए । काठमाडौंबाट जाजरकोट पुगेको कवि–लेखक समूह यी दृश्य हेर्दै अघि बढिसकेको थियो । मलाई भने त्यो दृश्य र उनीहरुको भाषाले लोभ्यायो । म अडिएँ ।

त्यहीबेला भारी बोकेका व्यक्ति रोटी टोकिरहेका भरियाहरुका सम्मुख उभिए र भने, ‘हजुरहरु कहाँसम्म गइबक्सन्छ ?’ ‘रोकाया गाम नै हो ।’ मुखियाजस्ता देखिनेले मुस्कानसहित उत्तर दिए । ‘त्यसोभए ठीक छ । मेरो भारी पनि त्यहीँ मण्डलीसम्म र्पुयाइबक्सेला । म भरेसम्म आइपुग्छु ।’

००००

जाजरकोटको मुख्य बजार खलङ्गाको उत्तर–पूर्वी डाँडोमा दुईवटा बिशाल घर छन् । कुनैबेला स्थानीय राजा र रजौटा बस्ने ती घर मध्ये ठूलोलाई सेतो दरबार र सानोलाई रातो दरबार भनिन्छ । त्यही दरबार अगाडिको खुला चौरमा केही बालबालिका मोजाको फुटबल खेलिरहेका थिए । दुर्गम पहाडी भेगमा उनीहरुको लवाइ अति सामान्य हुनु स्वाभाविक नै थियो । तर, बोली काठमाडौंको ‘अति सुसंस्कृत परिवार’ मा बोलिनेझैँ दरबारिया थियो । गोल खेल्ने वालबच्चा भन्दै थिए,
‘पास दिइबक्सियोस् ।’
‘हजुरले झण्डै गोल गरिबक्सियो ।’
‘मर्जी होस् ।’

जाजरकोटका ठकुरी परिवारमा दरबारिया भाषा बोल्नु करिब–करिब अनिवार्य रहेछ । आफूलाई ठकुरी परिवारको भन्ने चिनाउने काम यही भाषाले गर्ने भएकाले पनि सबैले सानैदेखि दरबारिया भाषा बोल्दा रहेछन् । आम मानिसलाई अप्ठ्यारो लागे पनि जाजरकोटीहरु आफ्नो भाषा नै राजसी भएको दाबी गर्छन् । कसैले आफ्नो भाषा बिर्सियो कि, प्रयोग गर्न छाड्यो कि चियो चर्चो पनि गरिँदो रहेछ ।

गएको सातामात्रै ठकुरीको भाषा, भेष, परम्परा र संस्कृति बचाउने विषयमा जाजरकोटको खलंगा बजारमा बहस भयो । बहसको अयोजना ठकुरी सहयोग समाजले गरेको थियो । जुनसुकै पेसा, व्यवसाय र वर्गका भए पनि सबैले राजकाजको भाषामै कुरा गर्नुपर्ने बैठकले पारित गरेको थियो ।

‘आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्छ भनेर केही वर्ष यता जागरण आएको छ । हाम्रो बैठकले पनि यस्ता परम्परा बचाउनु पर्छ भनेर सिफारिस गरेको हो,’ ठकुरी सहयोग समाजका अध्यक्ष राजीवविक्रम शाह भन्छन्, ‘पहिले ठकुरीबीच जुन विभाजन थियो, अब त्यो विभाजनको अन्त्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।’

ठकुरीहरुमा पनि सुरुदेखि नै राणाहरुमा झैँ ल्याइते, ब्याइते चलन थियो । आफ्नो जातमा विवाह भएका सन्तानहरुले आफूलाई विक्रम शाह र विक्रम शाही लेखाउन थाले । फरक जातमा विवाह हुनेहरुलाई जात हेरि जंग शाही र बहादुर शाही लेखाउन थाले । विक्रम शाह र विक्रम शाहीहरुबीच अहिले पनि राजशी भाषाको प्रयोग हुने भए पनि जंग र बहादुर ठकुरीहरुमा राजशी भाषा कम हुँदै गएकोमा बैठक चिन्तित भएको थियो ।

‘जुनसुकै थर लेखिए पनि र आर्थिकरुपले जतिसुकै कमजोर भए पनि हामी जाजरकोटी राजाका सन्तान हौं, त्यसैले पनि हाम्रो भाषा र संस्कार मासिनु हुँदैन र एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने ठकुरी सहयोग समाजको मान्यता हो’ अध्यक्ष शाह भन्छन्, ‘जाजरकोट बाहिर रहिबक्सेका सबै ठकुरीलाई पनि संस्थामा समेट्ने हाम्रो योजना छ ।’ देशका दुर्गम जिल्लाहरुको सूचीमा परेको जाजरकोटका अरु जातजाति झैँ ठकुरीहरु पनि गरिब नै छन् ।

जसको काठमाडौं सत्तासँग नजिकको सम्बन्ध थियो, उनीहरु पञ्चायतकालदेखि नै काठमाडौं र द्वन्द्वका समयमा नजिकका तराई जिल्लामा बसाइँ सरिसकेका थिए । कतिपय अहिले पनि राजनीतिका कारण शक्तिशाली नै छन् । तर, अधिकांशको ब्यवस्था भने उति गतिलो छैन । यद्यपि ठकुरी भएका नाताले उनीहरु आफूलाई जगाती सिंहका सन्तान मान्छन् र आफूहरुलाई त्यही अनुसार व्यवहार गरियोस् भन्ने आशा पनि राख्छन् ।

‘पञ्चायती शासनको अन्त्यपछि ठकुरीको अवस्था कमजोर हुँदै गयो । उनीहरु कृषक, भरिया, सानोतिनो जागिरे जे भए पनि आफूहरुलाई राजपरिवारका खलक मान्छन् र त्यही अनुसारको व्यवहार गरियोस् भन्ने चाहन्छन्,’ स्थानीय शिक्षक अच्युत शर्मा भन्छन्, ‘यसपटक ठकुरी सेवा समाजको बैठकमा पनि यही कुरा उठेको बुझेको छु ।’

यस्तो छ इतिहास

कुनैबेला कर्णाली भेगलाई केन्द्रमा राखेर खसहरुले शक्तिशाली राज्यको स्थापना गरेका थिए । पछि यो टुक्रेर २२ राज्यमा विभक्त भयो । त्यसमध्येको एक राज्य जाजरकोटलाई केन्द्रमा राखेर साके सम्वत् १३०० तिर राजा जगाती सिंहले ‘विशाल राज्य’ स्थापना गरेको लिखित इतिहास भेटिन्छ । त्योबेला जाजरकोट राज्य हालको दैलेख, जुम्ला, कालिकोट हुँदै गंगा नदीसम्म फैलिएको दाबी यहाँका ठकुरीहरुले गर्छन् ।

यही शक्तिका कारण पृथ्वीनारायण शाहले आफ्नो एकीकरणमा जाजरकोटमा हमला नगर्ने सहमति गरेका थिए । पृथ्वीनारायण शाहसँग भएको सम्झौतामा जाजरकोटले प्राप्त गरेको खड्ग अहिले पनि दसैंको फूलपातीको दिन पूजा गर्ने चलन छ । त्यो खड्गलाई फूलपातीका दिन खलङ्गा भित्राएपछि मात्रै जाजरकोटमा दसैं भित्रिएको मानिन्छ ।

बहादुर शाहका पालामा पृथ्वीनारायण शाहको सम्झौताअनुसार नै जाजरकोटसँग सहयोग लिएर नेपाल एकीकरणमा पश्चिमका केही भूमि नेपालमा गाभिएको थियो । गोर्खाली राजाहरुको शक्ति बढ्दै गएपछि मुस्ताङी, सल्यानी, बझाङ्गी र जाजरकोटी राजाहरुले आफ्ना एकरएक ‘श्री’ प्रदान गरेका थिए । यिनै चार राजाका अधिपति भएका कारण शाहबंशीय राजालाई ‘श्री ५’ को उपाधि प्राप्त भएको इतिहासमा जाजरकोटबासीहरु सुनाउँछन् ।

‘यही कारण सुरुदेखि नै जाजरकोटी ठकुरीहरुको तत्कालीन ‘श्री ५’हरुसँग निकट सम्बन्ध रहेको देखिन्छ । राणा खलकमा यहाँका छोरी चेली विवाह गरेर दिने चलन पनि बाक्लै थियो । यसको प्रभाव यहाँको विकास निर्माणमा पनि देखिएको छ,’ स्थानीय शिक्षक अच्युत शर्मा भन्छन्, ‘आज पनि चन्द्रशमशेरकी जाजरकोटे कान्छी महारानी बालकुमारीले अंग्रेजलाई अनुरोध गरेर बनाइदिएको खानेपानी आयोजना र भेरी नदीको पुल सञ्चालनमा छ ।’

विसं.२०१५ सालको आम निर्वाचममा नेपाली कांग्रेसले दुई तिहाइ मत ल्याएपछि संसदले राजा रजौटा उन्मूलन गर्ने विधेयक ल्यायो । त्यहीबेला जाजरकोटी राजा प्रकाशविक्रम शाहसहित देशका अन्य तीन राजालाई भत्ता दिएर ती भूमि नेपालमा आधिकारिक रुपमा मिसाइएको जाजरकोटका ठकुरीहरु सुनाउँछन् । स्थानीयहरुका अनुसार संसदले राजाको अधिकार खोसे पनि पञ्चायतकालको मध्यसम्म पनि प्रकाशविक्रम शाह खलङ्गा दरबारमा बसेर स्थानीय राजाकै रुपमा शासन गर्थे । राजा महेन्द्रले पनि पञ्चायतलाई स्थानीयरुपमा दह्रो बनाउन प्रकाशविक्रमको सहयोग लिएका थिए ।

उनले जाजरकोट र त्यस वरपरका जिल्लाका सबैजसो गाउँमा कम्तिमा एकजना भए पनि ठकुरी राख्ने, उनीहरुमार्फत नै पञ्चायतको रेखदेख गर्ने नीति लिएका थिए । यही नीतिकै कारण सुरुमा खलङ्गामा एकत्रित ठाकुरीहरु गाउँ गाउँमा छरिए । यद्यपि ल्याइते र ब्याइते सन्तानबीच गरिने भेदभावका कारण ठाकुरी परिवारमा बेमेल थियो । त्यस्ता ठकुरीहरुले विस्तारै प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्न थालेपछि प्रकाशविक्रम शाहले आफू एक्लिएको महसुस गरे ।

त्यसपछि काठमाडौंमा बस्न थालेका प्रकाशविक्रमले जीवनको अन्त्यतिर शासनको अवशेषका रुपमा रहेको दरबार सरकारलाई एक लाख रुपैयाँमा बेचे । त्यसपछि भने जाजरकोट पूर्णरुपमा राजाबिहीन हुन पुग्यो । यद्यपि जुनसुकै विचारधारा माने पनि गाउँ गाउँमा रहेका ठकुरीहरुले भने अहिलेसम्म आफ्नो राजसी चालचलनलाई बचाएर राखेका छन् । जिल्लामा आधुनिकता भित्रिएपछि आफ्नो संस्कृति मासिएकोमा चिन्ता गर्दै ठकुरी सहयोग समाजमार्फत पुनः संगठित हुने र एक अर्कालाई सहयोग गर्न थालेका छन् ।

‘तपाईंले गाउँ गाउँमा बच्चाहरुले पनि राजसी भाषा बोलेको सुन्न सक्नुहुनेछ । कुनैबेला अन्य जाति र राजनीतिकर्मीहरुका लागि यो सामन्ती भाषा थियो । अहिले यो ठकुरीहरुको जातीय पहिचानका रुपमा स्वीकार गर्न थालिएको छ,’ बेलाबेलामा जाजरकोट पुग्ने प्राकृतिक चिकित्सक डा. हरि पोखरेल भन्छन्, ‘भरियाहरुले पनि राजकीय भाषा बोलेको सुन्दा मलाई पनि सुरुमा अचम्म लागेको थियो । जिल्लामा पहिलोपटक आउनेहरु तपाईंजस्तै धेरै अचम्ममा पर्नु स्वाभाविक पनि हो ।’

 

 

#अनलाइनखबर

प्रतिक्रिया

धेरै पढिएको