इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय

नीरज गौतम । नेपालगन्ज । देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ । विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ ।

यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाइन्छ । नेपालगन्ज उपमहानगरपालिका–५ का महिला सदस्य मञ्जु नेपाली बादीको भनाइ छ, ‘अरु समुदाय जस्तै बादीहरु पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण अब सकारात्मक बन्नुपर्छ ।’ सो समुदायका महिलाहरु व्यक्तिगत तथा समूहगत रुपमा सानादेखि ठूला स्वरोजगार व्यवसायमा संलग्न भएको पाइन्छ ।

‘विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतदार पेशा गरेर जीवन निर्वाहमा जुटेका छन्,’ नाम प्रकाशित नगर्ने शर्तमा नेपालगन्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाको भनाइ थियो । विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालीम लिएका त्यस समुदायका सयाँै महिलाहरु नेपालगन्जमा व्यवसायमूलक पेशामा संलग्न भएका छन् । समाजले पनि अहिले उनीहरुलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।

यो समुदायका महिला मात्र होइन, पुरुषहरु पनि रोजगारमूलक काममा लागेका छन्, धेरैजसो कामका लागि विदेशिएका छन् । सीप सिक्दै रोजगार र स्वरोजगारको काममा उनीहरुको पनि सङ्लग्नता बढ्दै गएको छ । बाँके मात्र होइन प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिलाहरु इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगार लगायतका इलममा संलग्न छन् । नेपालगन्जको विशेषतः गगनगन्जको भगवान् तलाउ क्षेत्रमा बसोबास गर्ने बादी समुदायका सबै घरपरिवारका सदस्यहरु कुनै न कुनै इलममा संलग्न भएको पाइन्छ ।

उनीहरुका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् । बाँके जिल्लाको अगैया, कोहलपुर क्षेत्रमा पनि बादी समुदायका महिलाहरु स्वरोजगार व्यवसायमा लागेका छन् । त्यस क्षेत्रका बादी महिलाहरुले होटल, खुद्रा पसल र कृषि पेशा अङ्गालेको पाइन्छ । ‘नेपालगन्ज उपमहानगरपालिकाले यहाँका बादी समुदायका लागि छुट्टै कार्यक्रम योजनामा नपारेकोमा दुःख लागेको छ, दलित समुदायका लागि योजनामा परेको सामाजिक विकास कार्यक्रममा बादी समुदायलाई समेट्न भने पनि त्यो सम्भव छैन,’ महिला सदस्य मञ्जुको भनाइ छ ।

बाढीपीडितको घर बन्दै

बाँकेको राप्ती सोनारी गाउँपालिका फत्तेपुरका बाढीपीडितको घर निर्माणमा जापानी विद्यार्थी कस्सिएका छन् । जापानको क्वान्सी गाकुइन विश्वविद्यालयका २० देखि २३ वर्षका २६ विद्यार्थी सेतो हेलमेट लगाएर स्वयं काममा खटिरहेका छन् । हेविटाटका नेपाल बाढी प्रकोप प्रतिकार्य कार्यक्रम संयोजक साजन महर्जनका अनुसार जापानी विद्यार्थीले १० दिन लगाएर अहिलेसम्म आठ वटा घरको ‘डिपिसी’ तयार पारेका छन् । ‘उनीहरुले बालुवा, गिट्टी, इँट्टा, ढुङ्गा ओसार्नुका साथै सिमेन्ट घोल्ने, मसला बोक्ने, माटो कटान गर्ने लगायतका काम आपैmँ गर्छन्,’ संयोजक महर्जनले भने ।

आफैंले दिएको सहयोग रकमबाट घर बनाउन विद्यार्थीहरु स्वयं खटिएका हुन् । जापानबाट आएका विद्यार्थीले घर बनाउन सहयोग गरेर धेरै गुन लगाएको गाउँपालिका–६, कमैयाडाँडाका बाढीपीडित गोपीलाल चौधरीले बताए । घर बनाउन जनश्रमदान गरेर स्वयंसेवकले बाढीपीडितको रकम बचत गरी दिएको गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर चौधरीको भनाइ छ । ‘रकम नभएर घर बनाउन समस्या भइरहेका बेला जापानी विद्यार्थीले स्वयंसेवकको रुपमा काम गरेर बाढीपीडितको पीडामा मलम लगाएका छन्,’ अध्यक्ष चौधरीले भने । रासस

प्रतिक्रिया

धेरै पढिएको