नेपालगन्जमा टोलैपिच्छे सिसी क्यामरा, ठुला होटलसँगै छैन अनुमति

अनुमतिबिनै सिसी क्यामरा

बाँके । बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा २०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेको पाइएको छ । सरकारी, गैरसरकारी र नीजि संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन ।
नेपालगन्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी टिभी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सिसि क्यामरा कानून विपरित अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लगेपनि त्यसपछि नविकरण गरेका छैनन् । बाँकेमा ३८ वटा संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् ।
सडकमा मात्रै नभई नेपालगन्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले बताएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगन्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमै जडान गरिएका सिसी क्यामरा गैरकानूनी वा मापदण्ड विपरित देखिएका छन् ।
यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए । उनकाअनुसार नेपालगन्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरेपनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगन्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान भएको पाइएको छ ।
सहायक प्रजिअ अर्यालका जानकारी अनुसार नेपालगन्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिनु आश्चार्यजनक भएको उनले बताए ।
करोडौं लगानीका होटलका साथै गैरसरकारी संस्था र नीजि कम्पनीहरूले सरकारी नीति तथा नियमको ठाडो उलल्घंन गरिरहेको देखिएको छ । यसको रोकथाम तथा यस्ता निकायलाई कानूनी दायरामा ल्याउनका लागि यसअघि चासो नदिएको सम्बन्धीत निकायले कडाई सुरु गरेको छ । बाँकेमा जताततै सिसी क्यामरा जडित भएको र अनुमति लिनेको संख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले केही कडाई गरेको सहायक प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सिसी क्यामरा जडान गरेर पनि मापदण्ड पुरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र नीजि कम्पनीलाई सात दिनभित्र अनुमित लिई मापदण्ड पर्याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कुनैपनि संस्थालाई कानूनी दायरामा ल्याउने र कानूनले तोके अनुसारको कारवाही गर्ने जनाइएको छ ।
सहायक प्रजिअ अर्यालले सिसी क्यामरा राख्नको लागि अनुमति लिएकोले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पनि पुरा नगरेको बता बताउँदै भने, ‘सिसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तिमा पनि ९० दिनसम्मको फुटेज सुरक्षित गरेर राख्नुपर्ने, तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भन्ने जस्ता सूचना स्पष्ट देखिने गरी राख्नु अनिवार्य भए पनि अधिकांशले मापदण्डसमेत पुरा गरेका छैनन् ।’

प्रतिक्रिया

धेरै पढिएको