वैदेशिक रोजगारीमा जाने जनशक्ति ४० प्रतिशतले घट्यो, स्वदेशमै उद्यम गर्दै युवा

काठमाडौं । राम्रो आर्जन गर्ने, सम्पत्ति जोड्ने चाहना आम नेपालीको हो । स्वदेशमा सोचेजति कमाउन नसकिने भएपछि सर्वसाधारणको चाहना हुन्थ्यो, वैदेशिक रोजगारी । दक्षता नभएपनि काम पाइने, सिप सिकिने र दुईचार वर्षमा राम्रो आम्दानी हुने कारण वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहँदै आएको थियो । तर, पछिल्लो समय यो ट्रेन्ड बदलिएको छ ।
वैदेशिक रोजगारी र उच्चशिक्षाका लागि अन्य देश जाने क्रम बढ्दा सानो मुलुक र कम जनसंख्या भएको देशमा बाँकी रहेका जनशक्ति घटेका छन् । सरकारी तथ्यांकले पनि यसै भन्छ– दश वर्षमै ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । उच्चशिक्षका लागि बाहिरिनेको संख्याको लेखाजोखा नै छैन । तर, स्वदेशमा सिर्जना भएको रोजगारीको अवसर, वैदेशिक रोजगारीमा पाइने कष्ट, त्यससँग सम्बन्धित समाचारले पनि वैदेशिक रोजगारीको आकर्षण घटेको जानकारहरुले बताउँदै आएका छन् ।
आर्थिक वर्ष २०७०–७१ मा सबैभन्दा धेरै ५ लाख २७ हजार नेपाली वैदेशिक रोजगारीमा गएकोमा त्यसयता संख्या वर्षेनी रुपमा घटेका छन् । गतवर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षभन्दा ३५ हजारले घटेर ३ लाख ८४ हजार जनामा कायम भयो । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झनै कम देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा १ लाख १३ हजार ३९० नेपाली मात्र वैदेशिक रोजगारीका लागि उडेका छन् ।
विभागले सार्वजनिक गरेको एक तथ्यांकमा संस्थागत र नयाँ तथा वैधानिकीकरण गरी श्रम स्वीकृति लिएर विदेशीनेको संख्या गत वर्षको पहिलो ६ महिनाको तुलनामा ३९ प्रतिशतले कमी आएको हो । गत वर्षको सोही अवधीमा १ लाख ८६ हजार ५३ जना नेपाली कामदारको रुपमा विदेश उडेका थिए । चालु आवमा रोजगारीका लागि प्रतिदिन विदेशिने नेपालीको संख्या ६२० जना मात्र रहेको छ । विभागका अनुसार अघिल्लो वर्ष यो संख्या ९०० भन्दा बढी थियो ।
यसवर्षको पहिलो महिनामा २० हजार ८२४ जना नेपाली कामका लागि विदेश उडेकोमा भदौमा १७ हजार ६२६ जना, असोजमा २० हजार २६३ र कात्तिकमा सबैभन्दा कम १४ हजार ४४२ वैदशिक रोजगारकिो सिलसिलामा बाहिरिएका थिए । यसैगरी कात्तिकमा १९ हजार ७७६ जना र मंसिरमा चालू आवकै सर्वा्धिक बढी २० हजार ४५९ जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । गत आवको पहिलो ६ महिना मासिक औसतमा २७ हजार नेपाली विदेशिने गरेका थिए ।
यता विभागले भने हालसम्म तथ्यांक विश्लेषण नगरेपनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको देखिएको बताएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंका अनुसार पछिल्लो ५ महिनामा मलेसिया जानेको संख्या लगभग शून्य छ । उनले भने, ‘केही वर्ष पहिले विदेश जानुमा एक किसिमको रौनकता थियो । काम पनि सिक्ने र अलिकति पैसा पनि कमाउने ध्येय सबैको हुने गरेको थियो । तर, पछिल्लो समय त्यहाँबाट फर्केका व्यक्तिहरु यही केही गरुँ भनी उद्यम गर्न थालेका छन्, त्यो सिप नेपालमै प्रयोग गर्न थालेको देखिन्छ ।’
अर्को कुरा, वैदेशिक रोजगारीमा गएकाले फिडब्याक राम्रो आएको छैन । ‘वैदेशिक रोजगारीमा जानुअघि गरिने सेवा सुविधाका कुरा र त्यहाँको वास्तविकताबारे आउने समाचारले गर्दा वैदेशिक रोजगारीको आर्कषण घटेको हुनसक्छ,’ उनले भने । सम्बन्धित देशका विभिन्न आर्थिक, नीतिगत तथा राजनैतिक परिवेशले वैदेशिक रोजगारी प्रभाव पारेको दाबी उनले गरे । व्यसायीहरुले ‘फ्रि भिसा, फ्रि टिकट’ को अवधारणले नेपाली कामदारको माग घटेको बताउँदै आएका छन् ।
वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, कतारलगायतका खाडीमुलुक मात्रै हुन भन्ने मनस्थिति बनिरहेको बेला पछिल्लो अवस्थामा युरोप र अन्य एसियाली देश पनि क्रमशः आकर्षणको केन्द्र बन्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार खाडीमुलुक जानेको संख्या कुल वैदेशिक रोजगारमा जानेको ९५ प्रतिशत रहेको छ । बाँकी ५ प्रतिशत कामदार युरोप, अमेरिका तथा अन्य एसियाली देशमा जाने गरेका छन् ।
पछिल्लो समयमा कामदारहरू दक्षिण कोरिया, जापान, मकाउ लगायतका एसियाली देश, फिनल्यान्ड, पोल्यान्ड, पोर्चुगललगायतका युरोपेली देश तथा अल्जेरिया, कंगोलगायतका अफ्रिकी मुलुकप्रति आकर्षित हुने गरेका छन् । सुविधा र आकर्षक पारिश्रमिकका कारण वैदेशिक रोजगारीमा पोल्यान्ड र पोर्चुगललगायतका देश जाने कामदारको संख्या बढेको हो । ती देशमा कम काम गर्नुपर्ने र कमाई पनि बढी हुने भएका कारण कामदारहरू त्यहाँ जान लोभिएका हुन् ।
विभागका अनुसार खाडी तथा अन्य रोजगार गन्तव्य मुलुकतर्फ काममा जाने नेपाली सबैतिर उल्लेख्य दरमा घटेका छन् । सबैभन्दा धेरै मलेसिया जानेको संख्या घटेको छ । चालु आवको पहिलो ६ महिनामा २ हजार ५८६ नेपाली कामका लागि मलेसिया गएका छन् । असोजमा जम्मा ७५ जनामात्र मलेसिया गएका थिए । यो संख्या कात्तिकमा ७० रहेको थियो भने मंसिरमा ८५ र पुसमा ६१ मात्र छ । तर, गत आवको पहिलो ६ महिनामा मलेसिया जान नेपालीको संख्या उल्लेख्य थियो ।
उक्त अवधिमा करिब ६० हजार नेपाली कामका लागि मलेसिया पुगेका थिए । चालु आवमा मलेसिया जाने नेपाली, सरकारले मलेसिया रोजगारी बन्द गर्नुअघि श्रम स्वीकृति लिएका कामदार हुन् । पछिल्लो दुई महिना संस्थागततर्फ एकजना नेपाली पनि मलेसिया गएका छैनन् । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यमध्ये प्रमुख मानिने मलेसियाका लागि सरकारले श्रम स्वीकृति बन्द गरेको करिब ९ महिना भएको छ । सरकारीस्तरबाट कामदार मलेसिया पठाउन थुप्रै पहल गरिएपनि अहिलेसम्म नेपालीका लागि मलेसियाको ढोका खुलिसकेको छैन ।
विभागका अनुसार पहिलो पाँच महिनामा कतार जानेको संख्या सर्वाधिक ४४ हजार ७४९ छ । पहिलो स्थानमा रहेको कतारलाई पछ्याउँदै दोस्रो स्थानमा परेको संयुक्त अरब इमिरेट्स (युएई) मा ३६ हजार १०९ नेपाली काम गर्न गएका छन् । त्यसपछि यो सूचीमा साउदी अरब, कुबेत, मलेसिया र बहराइन परेका छन् । ओमन, अफगानिस्तान, जापान, दक्षिण कोरिया, इजरायल, लेबनान र अन्य मुलुक जानेको संख्या पनि उल्लेखनीय छ ।

प्रतिक्रिया

लोकप्रिय