सार्वजनिक बाटो बन्द गरेर कोहलपुर महोत्सव !

बाँके । भोलीदेखि कोहलपुरमा सञ्चालन हुने कोहलपुर औद्योगिक व्यापार, कृषि फूडफेस्टिभल तथा पर्यटन महोत्सवमा सार्वजनीक बाटो बन्द गरेर स्टलहरु राखेपछि त्यसको तीव्र विरोध भइरहेको छ । कोहलपुर नगर विकास समितिले महोत्सवको लागि खाली जमीन दिइसकेको अवस्थामा पुनः सार्वजनिक सडक बन्द गराई महोत्सवलाई प्रयोगमा ल्याउन दिएसँगै विवाद बढेको हो ।
नगर विकास समितिले केही दिन पूर्व महोत्सवले सार्वजनिक सडक बन्द गराई मुल गेट र स्टल राखी रहेको अवस्थामा कोहलपुर उद्योग वाणिज्य संघलाई सडक कब्जा नगर्ने र सम्झौता अनुसार खाली जमीन मात्र प्रयोग गर्ने र त्यसो नगरेमा सम्झौता रद्द गरी खाली जमीन पनि नदिने पत्र पठाएको थियो । तर सो पत्र संघले अटेरी गरेको थियो ।
महोत्सव उद्घाटनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउने भन्दै नगर विकास समितिले प्रचण्ड आउने भन्दै आफ्नो निर्णय बंग्याएको छ । नगर विकास समितिका एक पदाधिकारीले भने, ‘सार्वजनिक सडकको हकमा मौखिक सहमति भइसकेको छ । आज आइतबारको बैठकबाट पास गराएर सडक बन्द गराई महोत्सव लगाउन दिने निर्णय हुन सक्छ ।’
यद्यपी महोत्सव उद्घाटनको लागि नेकपा अध्यक्ष प्रचण्ड आउने पहिले नै चर्चा भएको थियो । सार्वजनिक सडक बन्द गर्ने बिषयमा सहरी विकास मन्त्रालय भन्छ, ‘सार्वजनिक सडक बन्द गराउने अधिकार समितिमात्र होइन, मन्त्रालयलाई पनि छैन । सबैको सहमतिमा व्यवहारिकरूपमा गर्न सकिन्छ, तर केहीको विरोध आएमा सार्वजनिक सडक बन्द गर्न मिल्दैन ।’
महोत्सवले सार्वजनिक सडक बन्द गराएको विरोधमा नेपालगन्ज उच्च अदालतमा मुद्दासमेत दायर भएको केही स्थानीयहरुले बताएका छन् । समितिले अहिलेसम्म सार्वजनिक बाटो बन्द गराउने खालको पत्र उद्योग वाणिज्य संघलाई नदिएको बताउँदै आए पनि संघले भने पत्र बाटो बन्द गराउने पत्र आफूलाई आएको दावी गरिरहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको