कर्णालीमा हिमपात, ‘कतै कष्ट, कतै हर्ष’

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । विगत तीन दिनदेखि लगातार हिउँ परेपछि कर्णालीका हिमाली जिल्लामा जनजीवन प्रभावित भएको छ । कर्णालीका जुम्ला, मगु, डोल्पा र हुम्लामा शुक्रबार पनि दिउँसोदेखि हिउँ पर्न थालेको छ ।
सुर्खेत, दैलेख, कालिकोट र जाजरकोट, सल्यान, रुकुमका केही स्थानमा भने असिना पानीसमेत परेको छ । हिमपातसँगै लगायतार वर्षा हुँदा चिसो बढेको छ । चिसोले हिमाली जिल्लामा दैनिकी कष्टकर बनेपनि पहाडी जिल्लाका किसानहरु भने हर्षित बनेका छन् ।
हिउँदे बाली सप्रीने भएकाले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट लगायतका जिल्लाका कृषकहरु खुसी भएका छन् । हावापानी कार्यालय जुम्लाका अनुसार जुम्ला सदरमुकाम खलंगाको तापक्रम माइनस पुगेको छ ।
विहानैदेखि जुम्लाका डाडाँकाडाँमा शुरु भएको हिमपात अहिले सदरमुकाममा समेत हुन थालेको छ । ‘विहानसम्म त डाडाहरुमा हिउँ परिरहेको थियो, अहिले सदरमुकाममा पनि पर्न थालेको छ,’ हावापानी कार्यालयका कर्मचारी आसपुरा कार्की भनिन्, ‘मंगलबार परेको हिउँ पग्लिएको थियो तर, अहिले पून पर्न थालेको छ । चिसो अत्याधिक छ ।’
चिसोका कारण मंगलबार जुम्लामा एक जनाको मृत्युसमेत भएको थियो । चिसो बढेसँगै मंगलबारदेखि व्यापार व्यवसायदेखि सरकारी कामसमेत प्रभावित भएका उनले जानकारि दिइन् । डोल्पा जिल्लाका विभिन्न भुभागमा विहानैदेखि हिमपात भइरहेको छ । जिल्ला सदरमुकाममा पानी परिरहेको छ ।
उपल्लो डोल्पामा सम्पर्क विहीन बनेको छ । त्यस क्षेत्रमा बालबालिका र बृद्धाबृद्ध मात्रै बसोबास गरेको स्थानीय प्रशासनले जनाएको छ । चिसो छल्न त्यस क्षेत्रका बासिन्दाहरु सदरमुकाम वा फेदी बसाइ सर्ने गर्छन् । तर, बालबालिका र बृद्धबृद्धा भने हिड्न नसक्नेभएकाले उपल्लो डोल्पामा नै बस्न बाध्य छन् ।

चार दिनदेखि हवाई सेवा ठप्प
लगातारको हिमपातले हुम्ला जिल्लाको सिमकोट विमानस्थल अवरुद्ध भएको छ । विमान्स्थलमा तीन फिट हिउँ जमेपछि जिल्लामा आवतजावतको एकमात्रै माध्याम हवाई सेवा अवरुद्ध भएको हो । सोमबार रातिदेखि लगायतार परेको हिमपातले मंगलबारदेखि हवाई सेवा ठप्प भएको छ ।
बाह्य जिल्ला जान हवाई यातायातकै भरपर्नुपर्ने यस जिल्लामा हिमपातका कारण अवरुद्ध भएपछि जिल्ला बाहिर जाने र भित्रिने यात्रुहरु अलपत्र परेका छन् । हिमपातबाट जनजीवन प्रभावित भएसँगै स्थानीय प्रशासनले विमानस्थलको हिउँ हटाउन शुरु गरेको थियो । तर, हिमपात नरोकिएपछि विमानस्थलको हिउँ हटाउन अवरोध भएको छ ।
विमानस्थलमा जमेको हिउँ आधा हटाइसके पनि पूनः हिमपात शुरु भएकाले काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । प्रशासनले हिउँ हटाउन जनपथ प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको थियो ।
‘हिजोदेखि हिउँ हटाउन लागिएको हो । आधा हिउँ त पन्छाउने काम भएको छ तर, लगातार हिमपात भइरहेको छ,’ उनले भने, ‘सदरमुकाममा तीन फिट र नाम्खामा पाँच फीट हिउँ जमेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर छ ।’ उनले हिमपात नरोकिएसम्म विमानस्थल खुल्न मुस्किल पर्ने बताए ।
हिमपात र चिसोका कारण जिल्लामा कुनै अप्रीय घटना भने घटेका छैनन् । तर, केही दिनमा हवाई सेवा सञ्चालन नभए जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव हुनसक्ने सम्भावना रहेको उनले बताए । जसका लागि प्रशासनले हिमपात रोकिएलगतै विमानस्थलमा पुगेर हिउँ हटाउन आवश्यक संयन्त्र तैनाथ राखेको छ ।

प्रतिक्रिया

धेरै पढिएको