Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

खाद्य संस्थानको हरिविजोग : गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

खाद्य संस्थानको हरिविजोग : गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकता अनुसारको भण्डारण कक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करिब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो ।
संस्थानका तीन वटा गोदाम चामलले भरिएको कारण अहिले खरिद गरिएको केही धान बाहिरै राख्नु परेको खाद्य संस्थान नेपालगन्जका प्रमुख हरि जोशी बताउँछन् । अहिले संस्थानमा बाहिर राखिएको सहित ३२ हजार क्विन्टल धान र चामल स्टक रहेको छ । यसरी खुल्ला मैदानमा त्रिपालमुनि राखिएकोमध्ये आठ हजार क्विन्टल धानको मात्रै बिमा गरिएको जोशी बताउँछन् ।
संस्थानले खरिद गरेको धान र कुटाएको चामल राख्नका लागि भाडामा गोदाम खोजी गरेपनि हालसम्म भाडाकै गोदामसमेत पाउन नसकेको जोशीले बताएका छन् । उक्त चामल र धान पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि संस्थानमा राखिएको हो । गोदाममा रहेको करिब पाँच हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाई सकिएको छ ।
अञ्चल कार्यालयका प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताउँदै अहिले करिब १५ हजार किवन्टल जापानी चामल आएको जानकारी दिए । उक्त चामल राख्नका लागि दुईवटा गोदाम प्रयोग भएका छन् । एउटामा १० र अर्कोमा पाँच हजार क्विन्टल जापानी चामल राखिएको छ । उनले भने, ‘यसले पनि यहाँ खरिद गरिएको धान राख्न समस्या भएको हो ।’
संस्थानका तीनवटा गोदाममध्ये दुई वटामा जापानी चामल छ भने बाँकी एउटा गोदाममा यहाँ खरिद गरिएको केही क्विन्टल धान र कार्यालयका सामग्री थुपारिएको छ । गोदाम अभावमा खरिद गरिएको धान र चामल गोदाम बाहिरै त्रिपालमुनि राख्नुको विकल्प छैन,’ उनले भने, ‘दिउँसो त्रिपाल निकाल्ने र रातमा त्रिपालले छोप्ने काम चलिरहेको छ ।’
नेपालगन्जमा धान राख्ने स्थानको अभाव देखिएको छ । यहाँबाट खाद्यान्न पठाउनुपर्ने कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने चामलको अभाव भइरहेको छ । कर्णालीका विभिन्न जिल्ला पठाउनुपर्ने चामलसमेत नेपालगन्जमै थुपारिएको छ । संस्थानका कार्यालय प्रमुख जोशीले भने, ‘समस्या नै समस्याका बीच कर्णालीका केही जिल्लामा थोरै भए पनि चामल ढुवानी भइरहेको छ ।’
उनकाअनुसार कर्णाली प्रदेशको माग बमोजिम सबै जिल्लामा चामल ढुवानी भने गर्न सकिएको छैन । संस्थानमा रहेको मौजाद चामल ढुवानी गर्ने र संस्थान परिसरमा त्रिपालमुनि रहेको धान कुटाई सुरक्षित भण्डारका लागि साल्ट टेडिङको गोदाम माग गरिरहेको उनले जानकारी दिए ।