Loading... आजः ५ आश्विन २०७७, सोमबार

तरकारीको गुणस्तर बढाउँदै माहुरी !

तरकारीको गुणस्तर बढाउँदै माहुरी !

विजय मल्ल । बाँके । ‘माहुरीले तरकारीको परागसेचन गर्दछ । तरकारीको फूलमा माहुरीले पराग सेचनका क्रममा तरकारीको गुणस्तरता र उत्पादनमा समेत प्रत्येक्ष सहयोग गरिरहेको छ,’ तरकारी खेतीसँगै माहुरीपालन गरिरहेका गोपीप्रसाद यादवले भने ।
राधाकृष्ण तरकारी संकलन केन्द्रका अध्यक्षसमेत रहेका यादवले तरकारीको उत्पादन र गुणस्तरता बढाउन माहुरी पनि पाल्दै आएको बताए । बारीमा लगाएको सागसब्जी, तरकारीको गुणस्तरता र यसको उत्पादन बढाउन तीन घार माहुरीसमेत पालेको उनको भनाई छ ।
‘किसानका लागि यो विल्कुल नयाँ पद्दती हो,’ यादवले भने, ‘परागसेचनकै क्रममा माहुरीले यहाँ लगाइएको तरकारीबालीको उत्पादन र गुणस्तरता बृद्धि गर्न ठूलो भूमिका खेलेको छ । विगतमा तरकारी खेतीमा विषादीको प्रयोग गर्थे, यसको बारेमा थाहा थिएन । माहुरीपालनबाट दोहोरो फाइदा भएको छ ।’
रसायनिक मल प्रयोग नगर्न सुझाव पनि दिँदै उनले थपे, ‘माहुरीबाट हामी मह पनि पाउँछौं । यसका साथै खेतबारीमा लगाएको तरकारीको उत्पादन र गुणस्तरतामा यसले सहयोग गरिरहेको छ । अहिले मैले सबैलाई यो तरिका सिकाइरहेको छु ।’ उनका अनुसार आफूले पनि विषादीरहित उत्पादन गर्दा उत्पादन पनि बढेको छ ।
विषादीयुक्त खाद्यान्न उपभोग गर्नु स्वास्थ्यका दृष्टिकोणले अत्यन्त हानिकारक मानिन्छ । ‘माटोको उर्वरशक्तिमा केही भएको छैन,’ यादवले भने । रासायनिक मल प्रयोग गर्दा उत्पादनमा बृद्धि हुने भए पनि त्यसखाले उत्पादनले मानव शरीरलाई असर पार्नुका साथै माटोको उत्पादन शक्ति (उर्वर शक्ति)मा ह्रास आउँछ ।
विषादीयुक्त मललाई निरुत्साहित गर्न राधाकृष्ण तरकारी संकलन केन्द्रले जैविक मल उत्पादनमा समेत जोड दिएको छ । अध्यक्ष यादवका अनुसार उत्पादन गर्दै आएको जमिनमा जैविक मलको प्रयोग भइरहेको छ । खेर गएको तरकारी तथा गाईभैसीको गोवर प्रयोग गरि जैविक मल उत्पादन गर्ने उनको भनाई छ ।
यसअघि सामान्यरुपमा जैविक मल उत्पादन गरिरहेको संकलन केन्द्रले अहिले आधा कठ्ठा जमिनमा जैविक मल उत्पादनको तयारी गरिरहेको छ । कृषकहरुले नै जैविक तयार गरेर त्यसलाई सहजै खेतबारीमा प्रयोग गरिरहेको केन्द्रले जनाएको छ ।

माहुरीपालनका फाइदा
यो विश्वबाट माहुरी लोप भयो भने त्यसको चार वर्षमा मानवमात्रको अस्तित्व समाप्त हुन्छ । यो उद्गार प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हो भन्ने धेरैको विश्वास छ । आइन्स्टाइन स्वयंले त्यसो भनेका थिए वा थिएनन् भन्ने विवाद आफ्नो ठाउँमा छ, तर माहुरीविनाको विश्व सम्भव हुँदैन भन्ने कुरा निर्विवाद छ ।
वैज्ञानिकहरू भन्छन्, ‘हामीले खाने प्रत्येक तीन गाँसमध्ये एक गाँस त माहुरीकै कारण उपलब्ध हुने हो ।’ परागसेचन सेवा अन्न, फलफूल, सागपात, दलहन, तेलहन आदि कृषि उपजमा परागसेचनको अहं भूमिका रहन्छ । परागसेचन सेवामा माहुरीलाई अरूले जित्न सक्दैन । हाम्रोमा अध्ययन–अनुसन्धानको कमी छ, तथ्यांकहरू उपलब्ध छैनन् ।
वातावरण प्रदूषण एवं अधिक विषादी प्रयोगले गर्दा प्रकृतिमा कीरा फट्यांग्रा, माहुरी, पुतली आदि परागसेचनमा सेवा पु¥याउने प्राणीहरूको कमी भइरहेको छ । व्यावसायिक खेती गर्नेहरू पाल्तु माहुरीका घारहरू खेतबारी वरपर ल्याएर माहुरी चराउँछन् । त्यसबाट राम्रो बाली र पर्याप्त मह उत्पादन हुन्छ । माहुरीलाई माया, स्नेह र सम्मान गरेमा मरुभूमिमा फुल्न सक्छ ।
माहुरीको अपहेलना भयो भने उर्वरभूमि र फूलबारी पनि मरुभूमिमा परिणत हुन्छ । प्रकृतिको नियम यस्तै छ । माहुरी नरहे तोरी त के कुरा वनमा गुराँस पनि फुल्दैन । जोखिममा माहुरी र मानिस हाम्रो कृषि बालीको प्रसंगमा माहुरीको गुण गाएर साध्य छैन । किसानमा रसायनिक मलको प्रयोग गर्नुपर्छ भन्ने मान्यता जवसम्म हराउदैन तवसम्म माहुरी जोखिममा रहन्छनज् ।
माहुरी जोखिममा रहनु भनेको मानव सभ्यता पनि जोखिममा पर्नु हो । परागसेचनको मुख्य कुचीकार नै माहुरी भएकाले यस विषयमा समयमै सवैले ध्यायन दिनसक्नुपर्छ । परागसेचनको काम हावा, पानी र प्राणीहरूले सम्पन्न गरिदिनुपर्छ । माहुरीको सेवामा भरपर्ने अन्न, फलफूल, साग, तरकारी, तेलहनको तथ्यांक लामो हुन्छ । माहुरीलाई किसानको सर्वश्रेष्ठ मित्र नै मानिन्छ ।
तोरी, रायो, मूला, गोलभेंडा, भान्टा, फर्सी, काँक्रो, काउली, बोडी, केराउ, सिमीसँगै लेकमा फल्ने फापरसमेत माहुरीका सेवाग्राही वनस्पति हुन् । फलफूल र वागवानीको संसारमा माहुरीको भूमिका अझ व्यापक छ । स्याउ, नासपाती, सुन्तला, कागती, ज्यामिर, भोगटे, आरु, आरुबखडा, बदाम, अम्बा लगायत नेपाल भित्रिएका स्ट्रबरी, किवी र एभोकाडोलाई समेत परागसेचन गर्न माहुरीहरू नभई हुँदैन ।
विश्वमा मह बनाउने माहुरी मात्र ७ प्रजातिका मात्रै पाइन्छन् । तीमध्ये ४ प्रजाति नेपालमै पाइन्छन् । यस अर्थमा विश्व माहुरी वैभवको ७१ प्रतिशत प्रजाति नेपाल भित्रै मौजूद छन् । ‘एपिस लेवोरिओसा’ जातको भीरमाहुरी । मह पार्ने माहुरीमध्ये सबभन्दा ठूलो ज्यान (३ सेन्टिमिटर लामो) को र सबभन्दा उच्च भूभाग (४१०० मिटर) मा विचरण गर्ने कीर्तिमानी माहुरीलाई हामी भीरमाहुरी भनिन्छ ।
हिमाली माहुरी ‘एपिस लेवोरिओसा’ वैज्ञानिक नामले चिनिन्छ । यसले २ हजार ५०० देखि ३ हजार मिटरसम्मका बाँदर पनि चढ्न नसक्ने भीरमा कलात्मक ढंगले चाका बनाएर आफूलाई मान्छेबाहेक सबै प्राणीबाट सुरक्षित राख्छ । विश्वको सबैभन्दा सानो कीर्तिमानी माहुरी पनि जीव सम्पदाभित्रकै अनुपम प्राणी हो, जसलाई हामी कठ्यौरी भन्दछौ । झिंगाभन्दा सानो ज्यानको कठ्यौरीले झ्याँक्रामा मह पार्छ ।
माहुरी प्रजातिको प्राकृतिक विकासको इतिहासमा यो कठ्यौरी सबैभन्दा जेठो (प्रिमिटिभ) माहुरी हो । १ हजार ६०० मिटरभन्दा माथिका भूभागमा नपाइने यसले सेवा चुरे र मधेशका वनस्पतिलाई दिन्छ । माहुरीपालनको विकाससँगै व्यावसायिक महखेती गर्न माहुरी पाल्ने चलन बढ्दो छ । यिनलाई वागवानी तथा अरू बालीनालीमा घार घुमाएर चराइन्छ । त्यसबाट बाली र मह दुवै अधिक लाग्ने शुभलाभको परिस्थिति सिर्जना हुन्छ ।