Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

‘क्यासिनो हब’ बन्दै नेपालगन्ज, ६ वटा होटलमा करोडौं लगानी

‘क्यासिनो हब’ बन्दै नेपालगन्ज, ६ वटा होटलमा करोडौं लगानी

बाँके । भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओइरिएको मध्यपश्चिमको व्यापारिक केन्द्र नेपालगन्जमा क्यासिनो सिटीको रुपमासमेत चिनिने भएको छ । नेपालगन्जमा सञ्चालित तीन तारेदेखि लिएर पाँच तारे वर्गसम्मको होटलले क्यासिनो (जुवा घर) सञ्चालन गर्ने तयारी गरेका छन् ।
हाल सञ्चालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल सिद्धार्थ, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ले क्यासिनो सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिसकेका छन् । चार तारेस्तरको होटल सोल्टीले क्यासिनो सञ्चालनकै लागि पाँच तारेमा स्तरोन्नतिको लागि पर्यटन विभागमा आवेदन दिइसकेको छ ।
’स्तरोन्नती लगत्तै क्यासिनो संचालनको लागी पूर्ण तयारीका साथ छौं, होटल सोल्टीका उच्च व्यवस्थापकले भने, ‘स्तरोन्नतीको प्रमाणपत्र पाएको एक महिनाभित्रै क्यासिनो सञ्चालनमा आउनेछ ।’ ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ले काठमाडौंस्थित पाँचतारे सोल्टी होटलमा झैँ नाइट क्यासिनो सञ्चालनमा ल्याउन लागेको हो ।
नेपालगन्जमा होटल सोल्टी बाहेक सबैले मिनी क्यासिनो सञ्चालनको तयारी गरेका हुन् । ‘होटलको स्तरोन्नती र क्यासिनो दुबै एक साथ गर्ने तयारीमा छौं,’ कारकाँदोस्थित तीनतारे होटल किचन हटका सञ्चालक विनोद मैनालीले भने, ‘स्वीमिङ पुल, क्लब, साउना, क्यासिनो अहिले यहाँका तारे होटल सञ्चालनको लागि अत्यावश्यक पूर्वाधार झैं भइसकेको छ ।’
सिद्धार्थ हस्पिटालिटी समूह अन्तरगतको कारकाँदोकै चारतारे होटल सिद्धार्थमा क्यासिनो सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको व्यवस्थापन सम्बद्ध श्रोतले जानकारी दिएको छ । हाल ६८ वटा कोठा रहेको धम्बोझीस्थित होटल सिटी प्यालेसले पनि थप पचास करोड रुपैयाँ लगानी गरेर क्यासिनो सञ्चालनको लागि पूर्वाधार निर्माणको कार्य तीब्र गतिमा गरिरहेको छ ।
‘थप पचास वटा कोठा, स्वीमिङ पुल, क्लब, ब्यांक्वेट हल र क्यासिनोसहितको पूर्वाधार निर्माणको कार्य भइरहेको छ,’ होटल संचालक समितिको अध्यक्ष लोकेन्द्र अर्यालले भने, ‘आठ महिनाभित्र विदेशी साझेदारसँगै क्यासिनो सञ्चालनमा ल्याउने योजना छ । निर्माण कार्य छिटो सम्पन्न गर्न भवन निर्माणमा फलामे संरचनाको प्रयोग गरिएको उनले बताए । तीनतारे होटलमा नयाँ थपिने कोठा र पूर्वाधार पछि चारतारे स्तरमा स्तरोन्नती गरिने सिटी प्यालेस होटल व्यवस्थापनले जानकारी दिएको छ ।
राँझा विमानस्थल नजिकै निर्माणाधीन तीन तारे होटल द गोल्डेन ब्लिसमा समेत क्यासिनो सञ्चालनमा ल्याउने तयारी भइरहेको होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । क्षेत्रिय विमानस्थल घोषणा गरिएको नेपालगन्ज विमानस्थलबाट नेपालगन्ज–दिल्ली सिधा हवाई उडान शुरु गर्ने तयारी भइरहेकोले समेत बाँके र बर्दियाका पर्यटन व्यवसायी उत्साहित छन् ।
जंगल सफारीको लागी विश्व प्रसिद्ध बर्दिया, प्राकृतिक सुन्दरताको लागि मुगुको रारा ताल र धार्मिक पर्यटनको लागि मानसरोवर भारतीय पर्यटकलाई भित्र्याउने मुख्य आकर्षण हुन् । तारे होटलसँगै क्यासिनो सञ्चालनले पर्यटकको बसाई लम्ब्याउन र खर्च बढाउन उपयोगी हुने होटल व्यवसायीको भनाई छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको सुर्खेतरोडमा अवस्थित नेपालगन्जकै पुरानो तारे होटल स्नेहा होटलमा मात्र क्यासिनो सञ्चालनमा रहेको छ ।