Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

कोहलपुर ‘क’ श्रेणीको होटलबिहीन

कोहलपुर ‘क’ श्रेणीको होटलबिहीन

बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कोहलपुर क्षेत्रमा सञ्चालित मध्ये ४२ वटा होटललाई वर्गीकरण गरेको छ । तीमध्ये तीन वटाले हरियो, आठले पहेंलोमा एउटा रातो र २५ वटा दुई वटा रातो थोप्ला भएको स्टिकर टाँसिएको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गरेको कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठले बताइन् ।
यसरी वर्गीकरण गरिएका होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसेको उनले जानकारी दिइन् । उनका अनुसार कोहलपुर क्षेत्रभरमा एउटा होटल मात्रै उत्तम वर्गीकरणमा परेको छ । उनका अनुसार कोहलपुर दशबिगाहमा रहेको होटल कृष्णा उत्तमको श्रेणीमा वर्गीकरण भएको छ । कोहलपुरकै चर्चित होटल सेन्टर प्लाजाले भने सन्तोषजनक सूचीमा चित्त बुझाएको छ । अनुगमन र मूल्यांकनलाई आधार मानेर कार्यालयले वर्गीकरणको स्टिकर टाँसेको हो ।
अन्य होटलमा समेत विस्तारै स्टिकर टाँसिने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिइन् । वर्गीकरण गरिएका अधिकांश होटल तथा रेष्टुरेन्टहरू सन्तोषजनक र सामान्यमै देखिएका छन् । होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण एवं व्यवस्थित ढल निकासलगायतलाई मूल्यांकनको आधार बनाइने उनले बताइन् ।
उनका अनुसार वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइने गरिन्छ । अतिउत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउँछन् । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउँछन् ।
यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउँछन् । बाँकेमा यस्ता होटल रेष्टुरेन्टको संख्या अधिक रहेको छ । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ ।
यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख गरिएको छ ।