Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

‘साउदी अरबमा कुनै जिन्दगी नै छैन’

अरब छाडेर क्यानडा पुगेकी युवती राहफ मोहम्मद अल कुनन भन्छिन् :-
‘साउदी अरबमा कुनै जिन्दगी नै छैन’

बीबीसी । यो एउटा नाटकको कथाजस्तो लाग्छ, जसले साउदी अरबमा महिलामाथि लगाइने प्रतिबन्धलाई बाहिर ल्यायो । १८ वर्षकी राहफ मोहम्मद अल कुननको सन्दर्भमा विश्वको चासो तब बढ्यो जब उनले बैङ्ककको विमानस्थलमा आफूलाई एउटा कोठामा बन्द गरिन् र फर्केर साउदी नजाने बताइन् । उनी साउदीमा आफ्नो परिवार छाडेर आएकी थिइन् ।
ट्विटरमा उनको समर्थनमा एउटा क्याम्पेन चलेपछि उनलाई क्यानडामा आश्रय दिइयो । यो घटनापछि अरबमा महिला अधिकार र तिनले भोग्नुपरेको प्रतिबन्धबारे पुनः प्रश्न उठ्न थालेको छ । यही अवस्थाबाट गुज्रन बाध्य एकजना केटी जो अरब छाडेर क्यानडा पुगिन्, उनले आफ्नो कथा बीबीसीलाई बताएकी छन् । २४ वर्षकी सलवा आफ्नी १९ वर्षकी बहिनीसँग ८ महिनाअघि घर छोडेर भागेकी थिइन् । र, अहिले उनी मन्ट्रियलमा बस्छिन्, उनकै शब्दमा उनको कथा यहाँ प्रस्तुत छ ।

कसरी गरिन् घर छाड्ने तयारी ?
हामी करिब ६ वर्षअघिदेखि नै साउदी अरब छाड्ने तयारी गरिरहेका थियौँ । तर, यसका निम्ति हामीलाई पासपोर्टका साथै ‘नेसनल आईडी कार्ड’ आवश्यक पथ्र्यो । यी दस्तावेज प्राप्त गर्न अभिभावकको सहमति आवश्यक थियो (साउदी अरबमा महिलाहरुलाई कतिपय चिज प्राप्त गर्नका लागि पुरुषको अनुमति आवश्यक पर्छ) ।
मसँग आईडी कार्ड थियो । विश्वविद्यालयमा पढ्दा मेरो परिवारले यसका लागि अनुमति दिएको थियो । तर, कार्ड परिवारको हातमा थियो, त्यो मैले फिर्ता लिनुपथ्र्यो । मैले आफ्नो भाइको घरबाट साँचो चोरेँ र नक्कली साँचो बनाएँ । जब परिवार निदाइरहेको थियो, तब मैले सबै काम सकेँ । यो निकै डरलाग्दो र जोखिमयुक्त कार्य थियो । कसैले देख्यो भने ठूलो खतराको सामना गर्नुपथ्र्यो ।
मसँग साँचो भएपछि मैले आफ्नो र बहिनीको पासपोर्ट निकालेँ अनि त्यसको पञ्जीकृत नम्बर परिवर्तन गरेर आफ्नो नम्बर राखेँ । यसकै आधारमा मैले गृह मन्त्रालयको वेबसाइटमा गएर उनको अकाउन्ट लगइन गरेँ अनि पञ्जीकृत नम्बर फेरेर आफ्नो नम्बर राखिदिएँ । मैले पिताजीको अकाउन्टबाटै हामी दुवैजनालाई देश छाड्ने अनुमति लिएँ ।

कसरी निस्क्यौँ हामी घरबाट ?
एक रात जब घरका सबैजना मस्त निदाइरहेका थिए, हामी त्यहाँबाट भाग्यौँ । त्यो बेला हामी दुवैजना निकै तनावमा थियौँ । हामीलाई गाडी चलाउन आउँदैनथ्यो । ट्याक्सी बोलायौँ । ट्याक्सी चालक विदेशी थियो, त्यसैले उसले हामी दुई केटी रातको समयमा बाहिर जान लागेकोमा केही भनेन । हामी रियादनजिक किङ खालिद इन्टरनेसनल एयरपोर्टतर्फ लाग्यौँ । त्यो समयमा कसैले हामीलाई देखेको भए हत्यासमेत हुन सक्थ्यो ।
म कलेजको पढाइ सकिने समयदेखि नै एउटा अस्पतालमा काम गर्दै आएकी थिएँ । मसँग पैसा जम्मा भइसकेको थियो र म जर्मनीका लागि जहाज टिकट, ट्रान्जिट भिसा खरिद गर्न सक्थेँ । त्यसमाथि मसँग बेरोजगार भत्ताको पैसा पनि थियो । म आफ्नी बहिनीसँगै जर्मनीका लागि उडेँ । त्यो मेरो लागि पहिलो फ्लाइट थियो, जुन मेरा निम्ति अनौठो अनुभव थियो । म खुसी थिएँ, डराएको पनि थिएँ, एकैसाथ यस्ता कुरा अनुभव गरिरहेकी थिएँ ।
हामीले घर छाडेको जब मेरा पिताले थाहा पाए, उनले प्रहरी बोलाए, तर त्यो निकै ढिला भइसकेको थियो । मैले गृह मन्त्रालयको वेबसाइटमा रहेको उनको नम्बर परिवर्तन गरेर आफ्नो राखिदिएकी थिएँ । गृहले फोन गर्दा मेरो नम्बरमा आउँथ्यो । जब हामी जर्मनी पुगेर जहाजबाट उत्रियौँ, प्रहरीको तर्फबाट एउटा म्यासेज आयो, जुन मेरा पिताजीको लागि आएको थियो ।

जर्मनी पुगेपछि…
साउदी अरबमा कुनै जिन्दगी नै छैन । मेरो जिन्दगी केवल यत्ति थियो, म घरबाट विश्वविद्यालय जान्थेँ । त्यहाँबाट घर फर्कन्थेँ । त्यसबाहेक म केही पनि गर्दैनथेँ । उनीहरु मलाई गलत कुरा सिकाउँथे, जस्तो कि– पुरुष महिलाभन्दा माथि हुन्छन् । मलाई रमजानमा रोजा बस्नका निम्ति बाध्य पारिन्थ्यो । जब म जर्मनी पुगेँ, आश्रयका लागि कानुनी मद्दत लिन वकिल भेट्न गएँ । मैले त्यसका लागि फाराम भरेँ र आफ्नो कथा बताएँ ।
मैले क्यानडामा बस्ने फैसला गरेँ । मानवअधिकारका लागि क्यानडा उपयुक्त देश थियो । मैले समाचारहरुमा पढेको थिएँ, सिरियाका शरणार्थीहरुलाई क्यानडामा राख्न लागिएको छ । मेरो अनुरोधलाई स्वीकार गरियो । जब म टोरन्टोमा उत्रिएँ, मैले क्यानडाको झण्डा देखेँ, त्यहाँ पुग्नु मेरा लागि ठूलो उपलब्धि थियो । म अहिले मेरी बहिनीका साथ बिनाकुनै तनाव मन्ट्रियलमा बसिरहेकी छु ।
यहाँ कसैले मलाई केही गर्न वा नगर्न बाध्य पार्न सक्दैन । हुनसक्छ, साउदीमा धेरै पैसा छ, तर क्यानडामा सुखद जिन्दगी छ । म आफूलाई मन लागेको बेला अपार्टमेन्टबाट निस्कन सक्छु । आफूलाई लागेको काम गर्न कसैको अनुमति लिइरहनुपर्दैन । यही कुराले मलाई अधिक खुसी दिन्छ । मलाई स्वतन्त्र महसुस हुन्छ । मलाई जे पहिरन मन लाग्छ, त्यही लगाउँछु । मलाई यहाँको पतझड र हिउँ खुबै मन पर्छ ।
म फ्रेन्च भाषा सिकिरहेकी छु, यो भाषा निकै गाह्रो रहेछ । म मोटरसाइकल चलाउन, पौडी खेल्न र आइस स्कटेटिङ पनि सिकिरहेकी छु । अहिले मलाई लागिरहेको छ, म जिन्दगीमा केही गर्दैछु । परिवारसँग मेरो कुनै कुराकानी हुँदैन । तर मलाई लाग्छ, यो मेरो र परिवार दुवै पक्षका लागि राम्रो अवस्था हो । अचेल मलाई यो ठाउँ आफ्नो घरजस्तो लाग्न थालेको छ । अझ आफ्नो घरभन्दा पनि बढी राम्रो ।