Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

कृषिमा अब्बल खजुरा, आत्मनिर्भर बन्दै किसान

कृषिमा अब्बल खजुरा, आत्मनिर्भर बन्दै किसान
व्यवसायिक कृषि समुह र सहकारीहरुलाई सिचाई सामाग्री वितरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति । फाइल तस्वीर
व्यवसायिक कृषि समुह र सहकारीहरुलाई सिचाई सामाग्री वितरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति । फाइल तस्वीर

बाँके । विहान घाम नझुल्कँदै भारतीय बजार रुपैडिहाबाट साइकलमा तरकारी बोकेर व्यापारीहरु खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिएका छैनन् ।
रुपैडिहाको तरकारी तथा फलफुल किनेरै साँझ विहानको छाक टार्ने रानाको खेतबारीमा आजभोली भने बाह्रैमास तरकारी फल्छ । उनी आफुले फलाएको तरकारी खानको लागि मात्र प्रयोग गर्छन् । उत्पादन भएको तरकारी स्थानीय बजारमा विक्रीसमेत गर्ने गर्दै आएका छन् । वार्षिक तीन हजार क्वीन्टलभन्दा बढी तरकारी विक्री गर्ने गरेको राना बताउँछन् ।
कृषक रानामात्र नभएर खजुरा गाउँपालिकाका ८ वटै वडामा व्यवसायिक तरकारीखेती, कुखुरापालन, भैंसीपालन, गाईपालन, बंगुरपालन, बाख्रापालन, हाँसपालन, माछापालनसहित विभिन्न फलफुल खेती पनि हुँदै आएको छ । अधिकांश किसानले व्यवसाय दर्ता गरेरै कृषि कर्म गरिरहेका छन् ।
कृषि उत्पादन बढ्दै जाँदा अहिले रुपैडिहाबाट तरकारी तथा फलफुल विक्री गर्न आउने क्रम रोकिएको छ । खजुराका स्थानीयले आफु र परिवारलाई आवश्यक पर्ने तरकारी, फलफुल तथा माछा मासु आफै उत्पादन गर्न थालेका छन् । खजुराका किसानले उत्पादन गरेको तरकारी, फलफुलदेखि मासु, दुध, अण्डासम्म खजुरा बजार, नेपालगन्ज, कोहलपुर, बर्दिया, सुर्खेतसम्म निर्यातसमेत हुँदै आएको छ ।
खजुरा गाउँपालिका–४ डी गाउँका राजेन्द्र श्रेष्ठले ५ हजार बढी लेयर्स कुखुरापालन गर्दै आएका छन् । श्रेष्ठले जस्तै डी गाउँका एक दर्जन युवाहरु कुखुरापालन गरेर आत्मनिर्भर बनेका छन् । खजुरा गाउँपालिका–३ मनकामनापुरमा प्रत्येक घरमा ४–५ वटा उन्नत जातका गाईपालन गरिएको छ भने अधिकांशले व्यवसायीकरुपमा तरकारीखेती गर्दै आएका छन् । खजुरा–२ सितापुर तरकारी र फलफुल उत्पादनमा जिल्लामै अग्रस्थानमा रहँदै आएको छ ।
यहाँका किसानहरुले सिजनमा २५ हजार क्वीन्टल बढी टमाटरसमेत विक्री गर्ने गरेका छन् । त्यस्तै आलु, काउली, भाण्टा, खुसार्नी, लौका, चिचिण्डा, बोडी, करेला लगायतको तरकारी नेपालगन्ज, कोहलपुर लगायतका बजारमा विक्रीका लागि लैजाने गरेको सितापुरका किसान विरेन्द्र मुराउले बताए ।
किसानहरुले दुग्ध विकासमा टेवा पुग्ने गरी पनि दुग्ध उत्पादनलाई वर्षेनि वृद्धि गर्न व्यवसायीक पशुपालन गर्दै आएको खजुरा–३ मनकामनापुरका काशीराम कँडेलले बताए । खजुरा क्षेत्रमा साविकको जिल्ला कृषि विकास कार्यालय, किसान परियोजना, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहकार्यमा विभिन्न शीर्षकमा आधुनिक कृषि उत्पादनलाई बढवा दिइएको छ ।
किसानलाई सक्षम बनाउन आईपिएम तालिमसमेत दिइएको छ । किसानलाई अग्रानिक तरकारी उत्पादन गर्न सहयोग गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, सोलार पम्प जडान गर्ने, व्यवसायिक तेल उत्पादनमा सहयोग गर्नेदेखि लिएर विदेशबाट फर्केर आएका युवालाई मागमा आधारित अनुदान दिने कार्यक्रम रहेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिए । गाउँपालिकाले मिश्रित बालीहरुको लागि पनि अनुदानको कार्यक्रम ल्याएको ठाकुरले बताए ।
व्यवसायिकरुपमा कृषि पेशा गर्न चाहने किसानलाई खजुरा गाउँपालिकाले पनि सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनले भने, ‘हामीले पहिलो वर्षमै साना किसानका लागि बीउबिजनका रुपमा रु.५ लाख वितरण गरेका थियौं ।’ अध्यक्ष कक्षपतिले केही वडालाई नमुना कृषि वडाका रुपमा विकसित गर्न लागिएको बताए ।
प्रदेश नं. ५ को कृषि, भूमि तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर बृहत योजना ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ । हाल खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेमौसममा पनि अन्य स्थानमा निर्यात गर्न सक्ने गरी बृहत योजना ल्याउन लागिएको उनले बताए । कृषि उत्पादनमा वृद्धि भैरहेकाले यहाँ किसानहरु आत्मनिर्भर भएर राम्रो आर्थिक आम्दानी गरिरहेका छन् ।