Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

बलात्कारबाट ‘प्रसाद’ प्राप्ति !

बलात्कारबाट ‘प्रसाद’ प्राप्ति !

आहुति

सामान्यतया नेपालमा बन्दै र चल्दै आएका सिनेमाबारे बौद्धिकहरूको ठूलो हिस्साले खासै चासो दिएर बहस, छलफल उठाउने गरेको वा त्यस्ता बहसमा भाग लिने गरेको पाइँदैन । सिनेमा सम्बन्धी विषय चलचित्रकर्मी, केही समीक्षक र फाटफुट अन्य क्षेत्रका अध्येताको मात्र रहँदै आएको छ । यता नेपालमा र विदेशमा बनेका सिनेमाहरूले भने समाजलाई व्यापक स्तरमा ठिक वा बेठिक विचार र संस्कृतिद्वारा लगातार प्रशिक्षित गरि रहेछन् । सिनेमा क्षेत्र पाठ्यक्रम नभएको खुला विश्वविद्यालय जस्तै हो, जहाँका निर्देशक वा लेखकले इच्छा लागेको विषय इच्छा लागेको तरिकाले इच्छा लागेको निष्कर्ष सहित दर्शकलाई पढाउन सक्छन् ।
त्यसका निम्ति मानव समाजमा विकसित ललित कलाका सबै विधालाई एकसाथ जोडेर प्रयोग गर्न सक्छन् । जसरी विश्वविद्यालयहरूले खास प्रकृतिका विद्यार्थी उत्पादन गर्ने गर्छन्, त्यसरी नै सिनेमा क्षेत्रले पनि समाजमा खास चरित्रका मानिस निर्माण गर्न गम्भीर भूमिका खेलि रहेको यथार्थलाई कम आँक्न अबको दुनियाँमा मिल्दैन । आजको दुनियाँमा ललित कलाका विभिन्न विधामध्ये संगीत पछाडि आम जनता सिनेमासँगै जोडिएको प्रस्टै छ । यसको सोझो अर्थ हो, मानिसको विचार र संस्कृति निर्माणमा पनि यस क्षेत्रले त्यही स्तरमा प्रभाव पारिरहेको छ । सिनेमा मार्फत व्यापक जनताबीच जीवनका सबै आयामसँग सम्बन्धित विषयमा धारणा प्रचार हुन्छन् ।
जीवनका सबै आयामसँग सम्बन्धित बौद्धिकले पनि सिनेमालाई आफ्नो चासोको विषय बनाउनैपर्छ । बौद्धिक बहस चलाउन जाँगर देखाउनैपर्छ । यस सन्दर्भमा अध्येता अनुभव अजितको कुरा शतप्रतिशत ठिक छ । उनले केही वर्ष अगाडि सिनेमाबारे आफ्नो प्रस्तुतिमा भनेका थिए, नेपाली सिनेमा अब्बल छैनन् भनेर त्यसबारे विद्वानहरूले चासो नदिनुभनेको खराब शिक्षकलाई बच्चा जिम्मा लगाएर मस्तसँग निदाउनु जस्तै हो । केही साता अगाडिबाट नेपालका सिनेमा हलहरूमा खस नेपाली भाषामा बनेको कथानक चलचित्र ‘प्रसाद’ चलिरहेको छ । त्यसको कथा यस्तो छ ।
बाग्लुङ जिल्ला निवासी दलित युवक बाबुराम परियार र क्षत्री युवती नारायणी कार्की प्रेमपछि गाउँबाट निकालिएर काठमाडौं आई बिहे गर्छन् । उमेरले पच्चीस नकटेका उनीहरूमध्ये बाबुराम सिलाइको सीप जानेको तर स्कुल धेरै नपढेको छ । नारायणीले स्कुल अध्ययन सकेकी छ । बाबुरामले कपडा पसलको पेटीमा बसेर सिउँदै र नारायणीले मन्टेसरीमा शिशु स्याहार्दै वैवाहिक जीवनको दुई वर्ष बित्छ । नारायणीलाई बच्चा पाउने रहरले पिरोल्न थाल्छ । डाक्टरले बाबुरामलाई मात्र बताउँछ कि उसको तर्फबाट बच्चा हुन सक्दैन । तर अरुको वीर्य लिएर टेस्ट ट्युब बेबी भने सम्भव छ । यो विषय बाबुरामले नारायणीलाई नभनिकन टेस्ट ट्युब बेबी प्रक्रियाका लागि पैसा खोज्न गाउँ जान्छ ।
त्यही मौका छोपेर गाउँ देखिकै साथी तर यौनलम्पट चरित्रको रमेशले नारायणीमाथि बलात्कार गर्छ । बाबुराम पैसाको जोहोलाई अगाडि बढाएर काठमाडौं आउँछ, नारायणी भने आफूमाथि भएको बलात्कार लोग्नेलाई बताउन सक्दिन । नारायणीले आफू गर्भवती भएको चाल पाउँछे । तर लोग्नेबाट बच्चा नहुने थाहा नपाएकीले उसको तर्फबाटै गर्भ रहेको ठान्छे र बाबुरामलाई आफू गर्भवती भएको सुनाउँछे । आफूबाट गर्भ नरहने बुझेको बाबुरामले तथ्य बताउँदै गर्भ कसको भनी सोध्छ, स्वाभाविक रूपमा तनाव हुन्छ र अन्ततः सम्झौताका निम्ति भ्रुण फाल्न माग गर्छ ।
रमेशद्वारा भएको बलात्कारबाटै गर्भ रहेको बुझिसकेकी नारायणीले भ्रुण फाल्न अस्वीकार गर्छे । बच्चा जन्माएरै छाड्ने निर्णय गर्छे । उता बलात्कारबाट गर्भ रहेको थाहा पाएको बलात्कारी रमेशले लगातार भ्रुण फाल्न दबाब दिन्छ । नारायणी अस्वीकार गर्छे । अन्ततः बाबुराम नारायणीले गर्भ फाल्नैपर्ने दबाबबाट पछि हट्दै जान्छ । उनीहरू पहिलेकै प्रेमपूर्ण जीवनतिर फर्किन थाल्छन् । नारायणीको गर्भ आफ्नो निम्ति खतरा महसुस गरेको बलात्कारी रमेशले नारायणीलाई मार्ने उद्देश्यका साथ मोटरबाइकले ठक्कर दिनलाग्दा अचानक एउटा ट्रकले बलात्कारी रमेशलाई किच्न पुग्छ । रमेशको मृत्यु हुन्छ । नारायणीले छोरा जन्माएपछि बाबुरामले भन्छ, बच्चा भगवानले दिएको प्रसाद हो, प्रसाद कहाँबाट कसरी आयो सोधेर हुन्न ।
सिनेमा निर्माणको समग्र पक्षसँग सम्बन्धित विषयमा छलफल चलाउन यहाँ सम्भव छैन । एक, केही परम्परागत फर्मुला जस्तै– एक पुरुषले एक स्वस्थ महिलालाई घाइते पनि नबनाई बलात्कार सम्भव हुनु अनि हतार परेका बेला हिन्दी सिनेमामा ‘गणपति बाप्पा’ को भिड सडकमा आए जस्तै भिड सडकमा आउनु इत्यादि । द्वन्द्व र सम्बन्ध निर्माणको विश्वसनीयताका निम्ति पाश्र्व कथाको अभाव । जस्तै– क्षत्री युवतीले दलित युवालाई किन माया गरी ? न सँगै पढेको हो, न त विशेष जीउडालको पुरुष, न कुनै आकर्षणको संयोग छ । अविवाहित महिलाहरू नै खेलाइ रहेको बलात्कारी रमेश किन विवाहित नारायणी माथि बलात्कार गर्न तम्सिन्छ ? आदि ।
दुई, अनावश्यकरूपमा पात्रहरूको मनको भाव व्यक्त गर्न पाश्र्व गीतको सहारा लिनु । तीन, नायक र नायिकाको रूप र शृङगार सधैं उस्तै देखाउनु । बाबुराम कहिले पनि किन दाह्री काट्दैन ? आफ्नो सम्बन्धमै समस्या हुँदा पनि घर बस्दा पनि नारायणी किन लाली लगायत शृङगार छाडेकी अवस्थामा हुन्न ? यस्ता फर्मुलाबाट सिनेमा कमजोर छ । सिनेमामा सकारात्मक पक्ष थुप्रै छन् । तल्लो वर्गको श्रमिक परिवारलाई लिएर कथा बुन्ने प्रयत्न, संवादमा सामाजिक जनबोली प्रस्तुत गर्ने चेष्टा, गीतै–गीतले सिनेमा छोप्ने रोगबाट पृथक, अनावश्यक दृश्य खोज्दै हिँड्ने लत परित्याग, भद्दा यौनिक दृश्यको व्यापार गर्ने लोभ नदेखिनु, सिंगै कथा फर्मुलामा आधारित नहुनु आदि सिनेमाका राम्रा तथा प्रभावकारी पक्षहरू ‘प्रसाद’मा देखिन्छन् ।
केही वर्षयता यस प्रकारको प्रयास गर्ने एक हुल निर्देशक र पटक थाकार जन्मिएका छन् र केही सिनेमा यस्तो प्रवृत्ति बोकेर आएका छन् । यो प्रवृत्ति प्रशंसनीय छ । त्यो ‘प्रसाद’मा पनि प्रस्ट देख्न सकिन्छ । केही वर्षयता समाजको पिँधमा रहेका दलित समुदाय अनि जनजातिबाट आएको पात्रलाई कथाको मुख्य पात्रका रूपमा उतार्ने प्रवृत्ति सुरु भएको छ । यो प्रवृत्तिलाई प्रसादले अघि बढाएको मात्रै छैन कि समाज भित्रको खास केही कटु तथ्यलाई यथार्थबोध हुने गरी सिनेमामा उतारिएको छ । यो निकै राम्रो कुरा हो । कतिपय युवा दर्शकले चिन्ता प्रकट गरेजस्तो दलित पात्र र दलित समुदायमाथि अपमान सिनेमामा छँदै छैन । ‘प्रसाद’लाई दलित विरोधी सिनेमा भन्न मिल्दैन ।
काठमाडौंमा दलितलाई डेरा समेत नदिने पनि प्रवृत्ति रहेको देखाउने सिनेमाको बलात्कारी खलपात्रले ‘गुहु गन्हाउँछ, जात जनाउँछ’ भन्ने संवाद बोल्नु अत्यन्तै स्वाभाविक देखिन्छ । क्रान्तिकारी भनिने पार्टीको जिल्ला पार्टी बैठकमै दलितलाई ‘तँ डुम नबोल’ भन्दै चप्पलले हान्ने तर पार्टीले कारबाही नगर्ने आजको समयमा एउटा बलात्कारी पात्रले त्यो संवाद बोल्नु सामान्य कुरा मान्नैपर्छ । त्यसैगरी तनावका बीचमा भर्खर रक्सी खान सिकेर मातेको दलित पात्र बर्बराउनुलाई अस्वाभाविक कसरी मान्ने र ? कुनै पनि संवादलाई पात्र र उसले झेलि रहेको अवस्थाबाट अलग गरेर र्हेयो भने त कलामा यथार्थको प्रतिविम्बन असम्भव हुन जान्छ ।
बरु सिनेमा हेर्दा यस्तो लाग्छ कि दलित पात्रलाई न्याय गर्ने लालसामा दलित समुदायको श्रमिक–संस्कृति माथि कतै–कतै छेडछाड हुन पुगेको देखिन्छ । आफ्नी श्रीमतीले सधैं जुत्ता पुछिदिएको कसरी सहज रूपमा लिन सक्छन्, दलित युवाले ? त्यो उसको संस्कृति नै होइन । दलित भित्रका जातमध्ये पनि दमाई जातका महिला अलि बढी स्वतन्त्र हुने परिवारमा हुर्केको बाबुरामलाई क्षत्री श्रीमतीले जुत्ता सधैँ पुछेको कसरी सहज लाग्न सक्छ ? यो संस्कृति पटकथाकारले लादेकै मान्नुपर्ने हुन्छ । यी र यस्ता थुप्रै विषयमाथि छलफल हुन सक्छन् । तर प्रसाद सिनेमाबारे गर्नु पर्ने बहसको मूल पाटो भने अर्कै हो । त्यो हो– बलात्कार र महिलाको शरीरमाथिको अधिकार ।
सिनेमाकी मूल महिला पात्र नारायणी कार्की आफू माथिको बलात्कारलाई कुनै मुद्दा बनाउँदिन । हो, समाजमा थुप्रै बलात्कार पीडित महिला लोग्नेसँग सम्बन्ध बिग्रन वा सामाजिक बदनामीबाट जोगिन मुख खोल्दैनन् । तर त्यो प्रवृत्ति आजको नेपाली समाजको चेतनाको प्रगतिशील पक्ष होइन । बरु त्यो त पतनशील पुरानो नारी चेतना हो । अन्तरजातीय विवाहलाई गर्वका साथ लिने आधुनिक महिला जसको लोग्ने अत्यन्तै मायालु छ, उसले बलात्कारलाई लुकाउनु वा बलात्कारीलाई सजायको प्रक्रियामा नलानु कसरी मेल खान्छ ? हो, सिनेमाका सहायक पात्रहरू यस्ता हुन सक्छन्, हुन्छन् । तर मुख्य पात्र नै बलात्कारीलाई छुट दिने चरित्रको निर्माण गर्नु महिला अधिकारको प्रगतिशील अभियानलाई धोका दिनु हुन जान्छ ।
अझ नेपाली समाजमा बलात्कार विरुद्ध धेरै जोखिम मोलेर महिला अगाडि आइ रहेको समय सन्दर्भमा सिनेमामा यस्तो प्रस्तुति कला क्षेत्रबाट भएको अर्को बलात्कार कसैले भन्यो भने त्यसलाई कसरी इन्कार गर्ने ? न आजको नारी चेतना, नत पात्रको बनावट कुनै पनि सन्दर्भले बलात्कारलाई सहज पचाउने अनुमति दिँदैन । बच्चाको लोभले भन्ने तर्क पनि मिल्दैन, किनकि बलात्कारप्रतिको अप्रतिरोध बलात्कारीकै गर्भ रहेको जानकारी हुनु भन्दा पहिले देखाइएको छ । सिनेमाको यो सन्दर्भ यस्तो आँखीझ्याल हो, जहाँबाट नेपालको सिनेमा क्षेत्रको एउटा हिस्साको महिला बारे बुझाइ देख्न सकिन्छ, जुन निकै घातक छ ।
सिनेमामा अगाडि थप गम्भीर मुद्दा छन्, तिनले त झन् सीमा नाघेको मान्नु पर्ने हुन्छ । जब सिनेमाकी मूल महिला पात्रले गर्भ बलात्कारबाट रहेको हो र आफ्नो लोग्नेबाट गर्भ रहन सम्भव छैन थाहा पाउँछे, ऊ त्यही गर्भलाई जन्ममा रूपान्तरण गर्न अड्डी कस्छे । यहाँसम्म कि अत्यन्तै मायालु लोग्नेको चित्त दुखाउने सर्तमा समेत । हो, बलात्कारबाट रहेको गर्भलाई थुप्रै महिलाले जन्ममा रूपान्तरण गरेका छन्, बाध्यताले । सिनेमाकी मूल महिला पात्र त त्यसलाई रहर बनाउँछे । आखिर किन ? पहिलो कुरा त, पच्चीस ननाघेको जोडी काठमाडौंमा टिक्न नै मूल चटारोमा छ, त्यस जोडीलाई बिहेको दुई वर्षमै बच्चा नभएकामा चिन्ता गर्न फुर्सद हुँदैन । बच्चाको चिन्ता मोटामोटी पैंतीस नाघेका निसन्तान जोडीको हुने गरेको पाइन्छ ।
सामान्यतया आफ्नो प्रेमपूर्ण दाम्पत्य सम्बन्ध नै भत्किने सर्तमा बच्चाको जोखिम तल्लो वर्गका महिलाले कहिल्यै मोल्दैनन् । बच्चाका निम्ति मरिहत्ते गर्नुपर्ने विशिष्ट चरित्र नारायणीमा देखिँदैन पनि । वंशको निरन्तरताको मूल चिन्ता त पुरुषको रहँदै आएको हो, महिलाको होइन । दोस्रो कुरा, पच्चीस ननाघेका जोडीका निम्ति बच्चा प्राप्तिका अन्य विकल्प अन्त्य भएको पनि होइन । टेष्ट ट्युब प्रविधि अगाडि नै छ । त्यो पनि सफल नभए धर्मसन्तानको परम्परागत विकल्प पनि खुला छ । ती सबै विकल्प हुँदाहुँदै बलात्कारको गर्भलाई सहज रूपमा लिने पात्रको निर्माण भनेको बलात्कारलाई सही ढंगले नबुझनु हो । बलात्कार शारीरिक अत्याचारमात्र हुँदै होइन, बरु त्यो त महिलाको सत्वमाथिकै पुरुषत्वको हस्तक्षेप हो, जसले महिलाको ह्दयमा पुरुषप्रति अनन्त लामो दिगमिग र घृणाको जन्म दिन्छ ।
बलात्कारको प्रक्रियासँग जोडिएका सबै प्रसंगले महिलाको भावनालाई चोटग्रस्त बनाइ रहन्छ । यस्तो विषयलाई सन्तान प्राप्तिको रहरसँग जोल्ठ्याएर प्रस्तुत गर्नु भनेको महिला अस्तित्वलाई परम्परागत पितृसत्तात्मक सोचद्वारा कज्याउन तम्सिनु नै हुन जान्छ । तेस्रो कुरा, सिनेमाले महिलाको शरीरमाथि महिलाकै हक हुन्छ भन्ने विषयलाई स्थापित गर्न चाहेको हो भने बलात्कारको प्रयोग जरुरी थिएन । दाम्पत्य र बलात्कार बाहेकका मदहोसी, लोभ, उत्तेजनागत दुर्घटना आदिमा हुने यौन सम्बन्धलाई प्रयोग गर्न सकिन्थ्यो । समाजमा सम्बन्धका यस्ता धेरै सन्दर्भ हुन्छन्, जसबाट अनपेक्षित गर्भ रहन सक्छन् । तर त्यस्तो सम्बन्ध बलात्कार पनि हुन्न र व्यभिचार पनि हुन्न ।
त्यसैले आफ्नो शरीर माथि महिलाको अधिकार भन्ने विषयको पैरवीसँग सिनेमाको जायज सम्बन्ध देखिँदैन । जुन महिला बच्चाका लागि धामी–झाँक्री र माताहरूकहाँ समेत जान्छे,जो दिनहुँ लोग्नेको जुत्ता सफा गर्छे, त्यो महिलालाई शरीर माथिको आफ्नो अधिकारबारे उग्र रूपमा सचेत मान्न पनि त मिल्दैन । चौथो कुरा, बलात्कारबाट रहेको गर्भलाई आफ्नो बच्चा स्वीकार्नु पर्ने मूल पुरुष पात्र बाबुराम किन बाध्य छ ? अझ त्यसलाई प्रसाद हो किन भन्छ ? सिनेमामा फर्मुला प्रयोग गरी बलात्कारीको अन्त्य गराइन्छ । बलात्कारीलाई पटकथाकारले नमारेको भए पनि बाबुरामले जिन्दगी भरि प्रसाद नै ठान्थ्यो होला ?
के आजको बाबुराम परियार जस्तो साधारण पुरुषबाट त्यस्तो कल्पना गर्न सकिन्छ ? तथ्यलाई बङग्याउन र ढाकछोप गर्न प्रयोग हुने दुर्घटना र प्राकृतिक प्रकोप नेपाली सिनेमाहरूमा प्रशस्तै पाइन्छ । तर त्यस्तो प्रवृत्ति लेखकको कम्तीमा असक्षमता हो, बढीमा बेइमानी । पाँचौं कुरा, बलात्कारपछि बाध्यात्मक अवस्थामा शिशुहरू जन्मन्छन्, उनीहरूले सम्मानजनक जीवन पाउनुपर्छ । तर त्यो जन्मिएको शिशुले पनि आफ्नो आमा माथिको बलात्कार आफू जन्मिएको कारणले ठिक भन्न सक्दैन । त्यस्तो ठिक भन्ने मानिसको निर्माण कलाको प्रगतिशील दायित्व हुनै सक्दैन ।
यसरी सिनेमाहरूले गम्भीर सामाजिक मुद्दाहरूलाई कतै चरम विकृतिका साथ प्रस्तुत गरि रहेछन् भने कतै सकारात्मक ढंगले सामाजिक मुद्दाहरूलाई उजागर गर्ने प्रयत्न पनि गरि रहेछन् । आम दर्शकचाहिँ निकै ठूलो विभ्रमको बीचबाट गुज्रिरहेको प्रस्ट बुझ्न सकिन्छ । कुन सिनेमा किन ठिक वा किन बेठिक भन्ने प्रश्नको उत्तर उनीहरूले कसबाट सिक्ने ? जीवनको समग्र क्षेत्रका बौद्धिकहरू चाहिँ चुपचाप मानौं केही भएकै छैन जसरी अन्तै कतै व्यस्त वा अभ्यस्त छन् । निद्रा सबैलाई लाग्छ, तर चलचित्र क्षेत्रको वैचारिकता माथि बौद्धिकहरूको उपेक्षा वा निन्द्रा क्रमशः गम्भीर सामाजिक दुर्घटनाको निमन्त्रणा हुने खतरा टड्कारो हुँदैछ ।