Loading... आजः १० आश्विन २०७७, शनिबार

फेला पर्दैनन् हराएका मोटरसाइकल

फेला पर्दैनन् हराएका मोटरसाइकल

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रेकर्डअनुसार मोटरसाइकल चोरी भई भेट्टाउनेको संख्या न्यून रहेको छ । आर्थिक वर्ष ०७५/०७६ को अहिलेसम्म बाँकेमा तीनवटा मोटरसाईकल चोरी भएको निवेदन ट्राफिकमा परेको छ । तर, अहिलेसम्म कुनैपनि मोटरसाइकल भेटिएको जानकारी ट्राफिकलाई छैन् । हराएका अधिकांश मोटरसाइकल भने फेला पर्दैनन् ।
चोरी भएका अधिकांश मोटरसाइकल पहाडी जिल्ला र भारतीय सीमा बजार आसपासका जिल्लामा लैजाने गरेकाले फेला पर्न नसकेको ट्राफिकको भनाइ छ । आर्थिक वर्ष ०७३/०७४ मा पाँच, मोटरसाइकल हराएको निवेदन आएका थिए । ०७४/०७५ मा ६ ओटा निबेदन परेको थिए । यसैगरी ०७५/०७६ मा अहिलेसम्म तीनवटा निवेदन परेको ट्राफिक कार्यालय बाँकेको रेकर्डले देखाएको छ ।
यसरी नेपालगन्जबाट हराएका मोटरसाइकल भारतीय बजारका साथै बाँकेको राप्तीपारीका विकट गाउँ र कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुग्ने गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउँछन् । यसरी हराएका मोटरसाइकलहरू चोरी गरी नक्कली नम्बर प्लेट र नक्कली ब्लुबुक बनाएर बिक्री वितरण गर्ने गरेको समेत पाइएको छ ।
कतिपय अबस्थामा त्यस्तालाई कारबाहीसमेत गरेको उनको भनाइ छ । यस्ता गिरोह सक्रिय रहेकाले शहरबाट हराएका अधिकांश मोटरसाइकल गाउँ पुग्ने गरेको र त्यहाँ सस्तो मूल्यमा बिक्री हुने गरेको प्रहरी बताउँछन् । गाउँगाउँमा ट्राफिक प्रहरी नपुग्ने भएको कारण पनि यस्तो समस्या बढेको हो । यसअघि बाँकेको नेपालगन्जबाट चोरिएको बस बर्दियाको बाँसगढीमा वेवारिसे अवस्थामा भेटिएको थियो ।