एसएसपी बढुवाको बाटो खुल्यो, चार महिलासहित ३२ प्रतिस्पर्धामा

एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपी
एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपी

काठमाडौं । सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ । नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो खुलेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सर्वोच्च अदालतको बढुवासम्बन्धी फैसलालाई आधार बनाउँदै नियमावली संशोधन गरेको हो ।
यद्यपि सरकारको यो निर्णयमा लोकसेवा आयोगले सहमति दिइसकेको छैन । प्रथम श्रेणी तहको बढुवाका लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम परिवर्तन गरी मन्त्रिपरिषदले तीन वर्ष बनाएको हो । नियमका कारण प्रहरीमा १५ एसएसपीको पद पछिल्लो चार महिनादेखि रिक्त छ ।
यस्तै हाल रिक्त रहेको एक नायब महानिरीक्षक (डिआईजी) पदमा बढुवा भए एसएसपीमा अर्को एक पद थपिएर १६ हुनेछ । प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले आइतबारको मन्त्रिपरिषदले नियमावली संशोधन भएको पुष्टि गरे ।

३२ प्रतिस्पर्धामा ४ महिला
नेपाल प्रहरीमा २०४७, २०४९, २०५१ र २०५२ मा भर्ना भएर २०७१ मा एसपी बढुवा भएका ३३ जना एसएसपी बढुवा प्रतिस्पर्धामा छन् । यो बाहेक २०५१ र २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भई अघिल्लो बढुवामा छुटेकाहरु तीन वर्ष अवधि फागुन ९ मा पुग्ने भएकाले प्रतिस्पर्धामा सहभागी हुन पाउने छैनन् ।
प्रहरी नियमावलीअनुसार एसएसपी बढुवाको अधिकार गृहमन्त्रीमा निहीत हुन्छ । बढुवा समितिमा गृह सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र एकजना अतिरीक्त महानिरीक्षक सदस्य सचिव रहन्छन् । रिक्त १६ पदका लागि ३२ बढी प्रतिस्पर्धी देखिएका छन् ।
२०७१ फागुन १० मा बढुवा भएर बरियतामा अघि रहेकामध्ये केही एसपी छुट्ने सम्भावना छ । नियमावलीअनुसार एसएसपी बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी र बढुवा समितिले दिने अंकलाई मुख्य आधार मानिन्छ ।
सत्तारुढ नेकपा निकट रहेका प्रहरी अधिकारीहरु बढुवाका लागि खुलेरै ‘थ्री पी’ अर्थात् पार्टी, पावर र पैसाको चलखेल गरिरहेका छन् । यसले बढुवालाई असर पार्नसक्ने देखिन्छ । भविष्यको प्रहरी महानिरीक्षक मार्गनिर्देश गर्ने भएकाले समेत यो बढुवामा अगाडि आउन एसपीहरुको चलखेल बढाएका छन् ।
बरियताअनुसार २०७१ फागुन १० मा बढुवा हुनेमा गणेश रेग्मी एक नम्बरमा छन् । उनी २०४७ फागुन १ मा भर्ना भएका अधिकृत हुन् । दोस्रो बरियतामा श्यामलाल ज्ञवाली, तेस्रोमा सन्दीप भण्डारी, चौथोमा बसन्तबहादुर कुँवर र पाँचौंमा रामदत्त जोशी छन् ।
यी पाँचजना २०५१ चैत ५ मा प्रहरी सेवा प्रवेश गरेका अधिकृत हुन् । यसपटक एसएसपी बढुवामा एउटै ब्याचका चारजना महिला एसपी मुख्य प्रतिस्पर्धी छन् । २०५१ कै ब्याचका मिरा चौधरी थारु, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा महिला एसएसपी बढुवाका मुख्य दाबेदार छन् ।
एसपी बढुवा बरियता अनुसार मिरा सातौं, किरण आठौ, दुर्गा २४औं र किरण राणा २९ औं नम्बरमा छन् । यी चारै महिला कमाण्डरले जिल्लाको सफल नेतृत्व गरेका छन् । मिरा र किरण केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धान अधिकारीका रुपमा सफलतापूर्वक जिम्मेबारी बहन गरेका प्रहरी अधिकारी हुन् ।
चौधरी र बज्राचार्य अनुसन्धान, जोखिम मोल्न सक्ने र नेतृत्वदायी भूमिकाका लागि अब्बल मानिन्छन् । एसपी ब्रजाचार्यले अमेरिकी सरकारले प्रदानगर्ने ‘ट्राफिक इन पर्सन’ प्राप्त गरेकी छिन् । सिंहले दाङको र राणाले भक्तपुरको कमाण्ड सम्हाली सकेका छन् ।
गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा हुने बढुवा समितिले एसपीहरु भरतबहादुर बोहरा, टेकप्रसाद राई, रबिन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्रप्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, जनक भट्टराई, राजेन्द्र बिष्ट र बिष्णुकुमार केसीको मूल्यांकन गर्नेछ । यी सबै २०५१ ब्याचका हुन् ।
यो बाहेक राजेशनाथ बास्तोला, लालमणि आचार्य, सुदिप गिरी, टेकबहादुर तामाङ, गोबिन्द कुमार शाह, उमाशंकर पञ्जियार, भिमप्रसाद ढकाल, दीपक थापा र अर्जुन चन्द ठकुरी बढुवा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

धेरै पढिएको