Loading... आजः ३ आश्विन २०७७, शनिबार

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

रीता लामा । घोराही । घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् ।
त्यहाँका पुजारी त्यही आकृतिलाई देवताका रुपमा पुज्ने गर्दछन् र त्यही ढुङ्गा नजिकै एउटा ठूलो अशोकको रुख छ । स्थानीय भाषामा असोज भनिने त्यो रुख घर बनाउने सामग्रीका लागि निकै बलियो काठका रुपमा प्रयोग हुन्छ । सालको रुखजस्तै अग्लो अशोक गाईभैँसीले रुचाउने घाँस पनि हो । त्यसको फूल र फल दुवै लाग्दैन ।
हेर्दा काठका लागि तयार भइसकेको त्यो रुखलाई मन्दिर व्यवस्थापन समितिले ‘अलौकिक वृक्ष’को नाम दिएको छ । त्यो रुखका विषयमा एउटा पनि लिखित दस्तावेज छैन । कुनै अभिलेख भेटिँदैन । तर मूल मन्दिरभित्रै पर्ने गरी पक्की गाह्रो लगाएर त्यसलाई संरक्षण गर्ने प्रयास गरिएको छ । भक्तजन रुख छेउमा धूप बाल्ने, जल, पैसा चढाउने, पूजा गर्ने, रुखमा धागो बाँध्ने काम गर्छन् ।
मन्दिरमा पुग्ने जोकोहीले त्यो रुख (अलौकिक वृक्ष)लाई पूजा नगरी फर्कंदैनन् । स्थानीय बासिन्दा बोधिराज अधिकारीका अनुसार करीब २०० वर्ष पहिलेको घटना हो । मन्दिर नजिकै भएर बग्ने बबई खोलादेखि वारि पर्ने गुरुवा गाउँका थारू काठ काट्न भन्दैै त्यही अशोकको रुख ढलाउन गए । चार–पाँच जनाको समूहमा पुगेका थारुले घरेलु हतियारको प्रयोग गरी दिनभरि रुख काटे र ढलाए । साँझ पर्यो ।
टुक्रा पार्नका लागि अर्को दिन आउने सल्लाह भयो । उनीहरु घर फर्के । अर्को दिन त्यहाँ पुग्दा रुख जस्ताकोजस्तै उभिएको देखे । तर रुख वरिपरि पहिलो दिन काटिएका काठका टुक्रा प्रशस्तै थिए । थारूले सोचे यहाँ भुतुवा (देवता) रैछ । उनीहरुले त्यसलाई त्यसै छोडे । त्यो हल्ला सबैतिर फैलियो । रुखमुनिबाट पानी निस्कन थाल्यो । मान्छे त्यसलाई पूजा गर्न थाले । पछि रुख नजिक ठूलो ढुङ्गामा विभिन्न आकृति पनि भेटिए ।
पाण्डेवश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी रुख काट्ने थारूका पनाति र खनाति अझै गुरुवा गाउँमा जिउँदै रहेको बताउँछन् । आफ्नो बाजेबराजुले यस्तो भन्ने गरेको भन्दै उनीहरुले अलौकिक वृक्षका बारेमा बताउने गरेको उनी सुनाउँछन् । त्यो वृक्ष र त्यस क्षेत्रका बारेमा महाभारतका कथासँग केही मिल्न जाने गरेको उनले बताए ।
आजभन्दा करीब चार हजार वर्ष पहिले पाण्डव आएर त्यही रुखमुनि बसेको, ढुङ्गामा शिवलिङ्ग स्थापना गरेर पूजाआजा गरी अन्तिम अवस्थामा स्वर्गद्वारी हँुदै स्वर्ग पुगेको कथा पनि महाभारतमा कहीँकतै मेल खान गएको उनले जानकारी गराए । ‘रुखको इतिहास लामो भए पनि विसं २०४९ मा मात्रै मन्दिर र रुखको व्यवस्थितरुपमा संरक्षण हुन थालेको हो,’ उनले भने, ‘करीब २६ वर्षदेखि मन्दिर संरक्षणमा लागे तर पनि त्यो वृक्षको आकारमा कुनै परिवर्तन आएको छैन ।’
त्यतिमात्रै होइन, विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको स्थान छेउमा पनि यस्तै अचम्मको अशोकको रुख संरक्षण गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार त्रिशूल वरिपरिको ठाउँलाई फराकिलो बनाउन लाग्दा त्यही छेउमा भएको सानो आकारको (हसियाँले पनि ढलाउने सकिने) आकारको अशोकको रुख थियो ।
घटना विसं २०७० कात्तिक २९ गतेको हो । ढोजरको सहायताले त्यसलाई उखेलेर फाल्न खोज्दा रबरजस्तो तन्किने मात्र गर्यो । धेरै प्रयास गर्दैगर्दा डोजरको तीन वटा फलामे दाँत भाँचियो । तर रुख ढलेन, जसका कारण त्यस रुखलाई पनि मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ ।
अनौठो त के छ भने अरु असोकको रुखको हाँगा र पात आकाशतिर फर्किएका हुन्छन् भने त्यो रुखको हाँगा र पात जमीनतिर फर्किएको छ । त्यसकारण पनि त्यहाँ पूजा गर्न र घुम्न आउने त्यो रुखलाई निकै आकर्षक वस्तु जस्तो मानेर हेर्ने, नजिकै उभिएर फोटो खिच्ने, रुखका बारेमा सोधीखोजी गर्ने गरेको पाइन्छ । त्यो रुख पाँच वर्ष पुरानो मात्रै छ ।