Loading... आजः ८ आश्विन २०७७, बिहीबार

कथा : पर्खाई

कथा : पर्खाई

त्यो एकदिन, जुन दिन मेरो लागि नयाँ मान्छेसँग परिचय भएको थियो । साँच्चै त्यो दिन मेरो लागि खास बनेको थियो । साँच्चै भनौं भने त्यो दिन कताकता डर लागेको थियो । म यो मान्छेसँग कसरी बोल्न पुगे नयाँ नम्बरबाट फोन आउँदा डर लाग्ने मलाई आज अपरिचित मान्छेको म्यासेन्जरमा आएकोे कल रिसिभ गरेकी छु । दिनहरु बित्दै गए, हरेक दिन फोनमा कुराकानी के भएको थियो, दिनहुँ च्याट गर्ने बनायो । उसको नाम चन्द्र रहेछ, तर फेसबुकम भने अर्कै नाम थियो ।

देवी भण्डारी

चन्द्र – हाई
गिता – हेल्लो हजुर नमस्कार
चन्द्र – सन्चै हुनुहुन्छ ।
गिता – उम सन्चै छु अनि तपाई नी
चन्द्र – म ठिक छु  ।

यसरी दिनहुँजसो कुरा हुने हामो एकदिन नबोल्दा के भए होला भन्ने प्रश्न मनमा आइरहने । साँच्चै यो के थियो त । एक्ले अर्काेप्रति आकर्षण या माया बुझ्न सकिरहेको थिएन । यस्तै यस्तै च्याट भइरहन्थो । यतिकैमा एकदिन उसले मलाई सोध्यो कतिमा पढ्छौं । म पनि के कम एसएलसी मात्र भनिदिए उसलाई के लाग्यो कुन्नी विश्वास नै गरेन । फेरी प्रश्न गर्यो होइन होला ? मैले पनि गफै त हो भन्दै एसएलसी पछि पढाई निरन्तर गरिन अब निरन्तरता दिने योजनामा छु ।
२०७४ कार्तिकबाट सुरु भएको हाम्रो कुराकानी निरन्तर चलिरहेकोे थियो । यस्तैमा उसले मलाई १ दिन भिडियो कलमा बोल्न अनुरोध गर्यो मैले नाई भन्ने कुरै थिएन । किनकी मलाई पनि उसलाई देख्ने आसा थियो । मैले पनि अहिले मिल्दैन अफिसमा छु पछि है भने, उसले पनि नाई भनेन । त्यसैदिन साँझ ६ बजेको थियो म अनलाइनमै थिए । उसको कल आयो म निकै खुशी भए, खुशीसँगै कताकता डर लागेको थियो । मैले अनुहार थौरै देखाउँदै कुरा गरे ।

चन्द्र – किन डराको अनुहार त देखाएर बोलन ?
गिता – डर लागिहाल्छ नि पहिलोपल्ट यसरी अन्जान मान्छेसँग भिडियोमा बोल्दै छु ।
चन्द्र – डराउनुपर्दैन म त्यही आउने त होइन नी ? जिस्कँदै भन्यो ।
गिता – मलाई जिस्काएको मन पर्दैन है, फुर्सद् नि छैन, मैले फोन राखिदिए ।
चन्द्र – एकै छिन बोलन ।
गिता – मलाई हजुरले एकछिन भन्नुभएको थियो, म बोलिसके बाई म विजी छु । यति भन्दै महिले फोन काटे, उस्ले म्यासेज पठायो
चन्द्र – साँच्चै मैले सोचेभन्दा राम्री रहेछौं तिमी ।
गिता – उम होला खुबै, यति नभने पछि पेरी बोल्दिन भनेर फुर्काको त होे मलाई थाहा हुँदैन र केटा मान्छेहरु कसरी बोल्छन् भनेर ।
चन्द्र – होइन तिमी छौं नै राम्री मैले किन फुर्काउनु के ?
गिता – भयो हजुर भयो, अब म राम्री भए पनि नभए पनि के भो त देख्नु भयो सकियो, म अफ भए बाई ।

यस्तै यस्तै कुराहरु दिनहुँ हुन थाल्यो । एक महिना भएको थियो । उसको म्यासेज आयो आई लभ यु, मलाई कताकता डर लागेको थियो । डर किन लाग्यो थाहा छैन । मैले उसलाई रिप्लाई नै दिइन । किनकी मनले यो मान्छेले पछि मलाई यो भन्ला भन्ने पहिले नै लागेको थियो । उसका म्यासेजहरु धैरै आए । मलाई जवाफ खोई भन्ने मैले नि मुना थापाको स्वरमा रहेको गीत (आजसम्म आवश्यक ठानिन आई लभ युको उत्तरै जानिन) रेकर्ड गरेर पठाए । उसले सुनेर भन्यो या नसुनेरै, के पठाको भनेर सोध्यो ? जे बुझ्नु भयो त्यही पठाए, महिले जवाफ दिए ।
सायद मलाई मन परेन होला । त्यसपश्चात मैले पनि विस्तार लगाए मलाई यो लभसभको चक्करमा पर्नु छैन । त्यो पनि तपाई नेपाल बाहिर हुनुहुन्छ । म उमेर पुगेको छोरी घरमा बिहेको कुरा होला । अन्जान मान्छेसंँग त्यो पनि फेसबुकमा माया लाउने र समय बर्वाद गर्ने पक्षमा म छैन तैपनि, भोलि तपाई घर आउनु होला परिवारमा कुरा होला विहे गर्ने कुरा अलग हो । तर यो माया लाउनी काम मबाट हुँदैन । तपाई नेपाल आउदासम्म म विहे नगरी बसेछु भने सोचौला । मैले जवाफ यति दिए ।

चन्द्र – किन यस्तो भन्छौं के तिमी ?
गिता – अनि के भनौं के म माया गर्छु तपाई विना म मर्छु भनौं, तपाई के सोच्नु हुन्छ मलाई थाहा छैन ? तर मलाई माया गर्छु तिमी विना मर्छु भन्नेहरुले माया गर्छन् जस्तो लाग्दैन ।
चन्द्र – हुन्छ हजुर, मलाई थाहा छ तिमी मलाई विस्तारै माया गर्छौ । तिम्रो मन जितेरै छोड्छु । उसले अडान लियो ।
गिता – त्यो मेरो समस्या होइन, तपाईको हो ।

यसरी दिनहरु बित्दै गए । कुरा भइरहे मलाई पनि उ आफ्नै लाग्न थालेको थियो । उसलाई नभने पनि मेरो मनले मन पराउन थालेको थियो । कुरा भएको ३ महिना भएको थियो । प्रेम दिवस नजिकिँदै थियो । मलाई पनि उसको परिक्षा लिनु थियो । मेलै पनि त्यो दिन अफिसमा छुट्टी लिएकी थिए । कलेजमा काम परेको थियो । म कलेजमै थिए । त्यो दिन म अनलाइननै बसेन, मलाई लागेको थियो । साँच्चै माया गरेको हो भने कोरियाबाटै फोन आउँछ ।
बैदेशीक रोजगार अर्काको काम गर्नु पनि कहाँ सजिलो थियो र । प्रेम दिवसको दिन उसको दिनरात डबल डिउटी रहेछ । दिउँसो खाना खाने समय नेपालको १ः३० मा उसले फोन गरेको रहेछ । म काममै थिए, १२ बजेसम्म नगरेको फोन अब गर्छ होला र भनेर फोन व्यागमा राखेर काम गरिरहेको थिए । यसो फुर्सद भएको बेला फोन निकाले उसको फोन आएको रहेछ । ५ औं पटकमा फोन रिसिभ गरे ।

चन्द्र – कहाँ हराको तिमी ? हेप्पी भ्यालेन्टाइन डे, सन्चै छौं, मत आज धेरै विजी भए काम नि डबल छ, (उसका प्रश्न एकैपटक निस्किए)
गिता – सेम टु यु, सन्चै छु । झुट बोल्न मन लागेन, कलेजमा काम थियो विहानै आको यतै छु ।
चन्द्र – मलाई त आज डेटिङ गयौ जस्तो लागेको अनलाइन पनि थिएनौं ।
गिता – अरु सबै सकियो बाँकी त्यही छ, यति विश्वास छैन भने किन फोन गरेको त ?
चन्द्र – नरिसाउन रमाइलो गरेको, आफ्नो ख्याल गर, बस म काममा जान लागेको छु, बाईबाई लभ यु
गिता – हस् बाई, यो दिन पनि मैले उसलाई आई लभ युु को जवाफ दिएन ।
त्यही दिन साझ उसले म्यासेज पठायो ।
चन्द – आजको दिन त रिप्लाई देउन ।
गिता – समय आएपछि म आफै भन्छु भनि दिए ।

समय बित्दै गयो म पनि मान्छे न हो मन पग्लिहाल्छ नि, धेरै पटक उसको अनुरोध अनि उसकाबारेमा धेरै कुरा जानेपछि मलाई पनि मनको कुरा भन्न मन लायो । तर उसको मन चोर्न अझै पुगेको थिएन । उसलाई सोधे आजभोली हामी माया लाउला भोली तपाईको परिवारमा हुँदैन भन्नुभयो भने के गर्नुहुन्छ । उसले भन्यो, तिमीले किन पीर गरेको ? अहिलेसम्म परिवारको भरोसा तोडेको छैन । घरमा मैले कुरा राखे विश्वास गर्नुहुन्छ, त्यस्तो हुँदैन । तिमी ढुक्क हुनुपर्छ । यति भनेपछि मन पराउछु भनिदिए । उ निकै खुसी मुद्रामा बोलिरहेको थियो । तर म हजुर नेपाल आएर नभेट्दासम्म भने तपाईको भर नै त पर्दिन है, मान्छै नै नदेखेर माया लाउदिन के म, तपाई राम्रो लाग्छ मात्रै भनेकी हुँ ।
उसलै हाँस्दै हुन्छ भन्यो यसरी दिनहरु रमाइलो कुराहरुमै बित्दै थिए । उ नेपाल आउने समय पनि नजिकिँदै थियो । जेठ १८ गते उसको जन्मदिन रहेछ । अघिल्लो दिनमा नै फेसवुकमा देखायो । अलि पहिला पनि उसको उमेर सोधेको बेला भनेको थियो । मलाई मन थियो जन्मदिनमा मैले उसलाई पहिला शुभकामना दिन्छु । मेरो साथीलाई सबै कुरा सेयर गरेको थिए । साथीले नै मलाई राती १२ बजे उठाएको थियो । १२ वजे नै शुभकामना दिए । फोन गर्नलाई मन लागेन, म्यासेन्जरमा नै म्यासेज पठाएर जन्मदिनको शुभकामना दिए । त्यसपछि साथीले पनि उसलाई शुभकामना दिई । अनि हामी सुत्यौं ।
जब विहान भयो पहिला मोवाइल नै हेरै अनि फेसबुक खोले, उसको म्यासेज आएको थियो । धन्यवाद हजुर सम्झिनुभएको रहेछ । आज दिनमा डिउटी छ, साँझ कुरा गर्छु है । अरु प्रसंगमा मलाई तिमी भने पनि उसले म्यासेन्जरमा कुरा गर्दा सधैं हजुर तपाई नै भन्ने गर्दथ्यो । मलाई पनि निकै खुसी लाग्थ्यो, उसले हजुर तपाईभन्दा । किनकी बोलेको दुईदिन नहुँदै तिमी त भन्नेहरु मात्र देखेकी थिए । मलाई लाग्थ्यो उसलाई नारीको सम्मान गर्न आउँदो रहेछ, अरुले गरेमा मायाप्रेमका कुरा सुन्दा गलत लाग्ने मलाई उसले कहिले त्यस्तो व्यवहार गरेन ।
सधैं हाम्रो मायाप्रेमका भन्दा पनि घरपरिवार, समय र परिवेशका कुराहर धेरै हुन्थे । जति कुरा हुन्थ्यो हाम्रो म्यासेजमै धेरै हुन्थ्यो । फोन भने कमै हुन्थ्यो, कहिलेकाँही मलाई लाग्थ्यो, कहिले फोन गर्दैन मान्छे त अलि लोभी नै हो कि क्या हो ? अनि फेरी आफै जवाफ दिन्थे, कमाउने मान्छेलाई पैसाको महत्व हुन्छ । यसरी नै दिनहरु बितिरहे । असार २० गते भोलि म नेपाल आउँदै छु, उसले मलाई म्यासेज पठायो ।

गिता – कति बेला हिड्नुहुन्छ । 
चन्द्र – नेपालको १ वजेतिर ।
गिता – अनि त्यहाको एयरपोटसम्म जान कति लाग्छ, प्लेनबाट नेपाल आउँन कति लाग्छ नी ?
चन्द्र – ३ घण्टा एयरपोट जान अनि, सिधैं नेपाल नभएर सिंगापुर हुँदै आउँदै छु, अलि समय लाग्छ ।
गिता – केहि छैन जसरी सहज हुन्छ त्यसरी हिड्ने त हो, आफ्नो ख्याल गर्नुहोला, राम्रोसँग आउनुहोला, नेपाल आइपुग्नु भयो भने खबर गर्नु है ।

उ कोरिया हुँदासम्म हाम्रो कुराकानी यति भएको थियो । तीन दिनपछि नेपाल आएर मलाई म्यासेज गर्यो, म काठमाडौं आइपुगे है, लास्ट थकाई लागेको छ । म पछि फोन गर्छु मैले तिमीलाई एनसेल नम्बरबाट मिस्कल गरेको छु । मलै पनि हुन्छ भने, मन मानेन एकपटक म आफै फोन गरे, उसले म बैंकमा आएको छु, पैसा सटहीको लागि पछि फोन गर्छु है भन्यो । काममा भए पछि के कुरा गर्नु, मैले पनि हुन्छ भन्दै फोन राखे । ५ बजेको थियो उसको फोन आयो, म हिँडेको है । ए ल शुभयात्रा हजुर, यो पटक भने उसले मलाई पलपलको खबर गर्न थाल्यो । त्यो दिन राती १० बजे पनि उसकै फोन आयो ।

चन्द्र – के छ खबर सुतिसकेको होला है ?
गिता – छैन सुतेको खाना खाँदैछु । मेरो पनि त्यो दिन अलि ढिला खाना भएको थियोे ।
चन्द्र – हो र, म पनि खाना खान लाको छु ।
गिता – सँगै भएछ त है ?
फोनमा कुरा गरे पनि धेरै समय कुरा नहुने हाम्रो, खाना खाउँ है, म पनि खाँदै छु बाई भन्दै उसले फोन राख्यो । म पनि खाना खाए सुतिहाले ।
विहान ४ बजेको रहेछ म निद्रा मै थिए उसको फोन आयो ।
गिता – हल्लो निद्रामै भाको आवाज फरक भइहाल्ने ।
चन्द्र – सुतेको छौं म घोराही आइपुगे है ।
गिता – हो र ?
चन्द्र – सुत सुत ! तिमी निद्रामै छौं तिम्रो नजिक आएको भएर सम्झेको ।
गिता – हुन्छ भन्दै फोन राखे । घरमा पुगेपछि फोन गर्ने त कुरै थिएन । म्यासेज आयो ।
चन्द्र – म घर आइपुगे है । आमा, दाजुभाउजु सबै मन्दिर जानुभएको रहेछ । खान पकाउँदै छु ।
मलाई खै ! किन हाँसो लागेर आयो ।
गिता – हाँस्दै हो र ? पकाउनु बाबालाई मिठो बनाएर खुवाउनु ।
चन्द्र – जागर नलागेको बेला तिमी नजिस्काउ त मलाई ।
गिता – आउनु न त घोराही म बनाउछु खाना ।
चन्द्र – भयो हजुर पर्दैन म आपैm बनाउँछु, खाना खाएर बजार जानुछ ।
गिता – हस् हजुर ।

उ नेपाल बाहिर हुँदादेखि सुरु भएको उसको र मेरो कुराकानी उ नेपाल आएपछि पहिलो भेट असार २६ भयो । साँच्चै उ कति खुसी थियो थाहा भएन तर म निकै खुसी थिए । त्यति बेलासम्म लाग्दैन की म उसलाई प्रेम गरिरहेकी छु । किनकी म यो मायाजाल फसाउने अनि फस्ने खेलमात्र हो, समयसँगै सबै टाढिन्छन् भन्ने बुझेकी थिए ।
उसको घर तुल्सीपुर अनि मेरो बसाई घोराही निरन्तर भेट सम्भव पनि थिएन । असार २४ गते घर आएको उ मलाई भेट्न २६ गते नै घोराही आयो । मलाई लागेको थिएन की उ मलाई भेट्न आउँछ भनेर । फोनमा भने खासै कुरा नहुने हामो त्यो दिन उसको फोन आयो । म सानो कामले घोराही आउँदैछु भेटौं है, तिमीलाई समय कस्तो छ । धेरै समय त छैन तैपनि हजुरलाई फुर्सद् हुँदा खबर गर्नुन मिलाउला नि मैले यति भने । दिउँसो ३ बजे उसको फोन फेरी आयो ।

चन्द्र – हेलो कहाँ भेटौं भनन ।
गिता – डिलाइट होटेल (मेरो नजिक पर्ने घोराहीमा रहेको डिलाइट होटल थियो ।)

एकैछिनमा उ आयो र म पनि साथी लिएर गए । किनकी एक्लै केटा मान्छे भेट्ने मेरो बानी थिएन । होटेल नजिक पुग्यौं उसलाई मैले टाढाबाट दखे मनमा खोई किन डर लागेर आयो । उसले नै पहिला नमस्कार गर्यो । सोचे किन नमस्कार गरेको होला ? मलै आफै उत्तर दिए, अरु बोल्ने ठाउँ पाएन होला त्यसैले गरेको होला नी ? त्यत्तिकैमा तीनै जना होटेलभित्र पस्यौ, उ एक्लै आएको थियो । असार पानी पर्ने महिना भए पनि चर्को घाम र धेरै गर्मी थियो ।
निकै पसिना छोडेको थियो उसले । फ्यानको नजिकै बस्यो । के खाने भन्ने कुरा भयो । मैले भर्खर खाजा खाएर आको हजुरहरु खानुस् भने । अनि मेरो साथी पनि जिद्दी के फेरी नखाएर हुन्छ । नखाने भए यहाँ किन आएको भन्न थाली । अनि मःम खाने कुरा भयो । जिस्काउँदै साथीले मःमले मात्र कहाँ हुन्छ । बाहिरबाट आएको पार्टी त टन्नै खानुपर्यो नि भन्दै जिस्काउन थाली । के के खान मन छ भनन उसले जवाफ दियो । गर्मी थियो लस्सी खाने कुरा भयो ।
सायद पहिलो भेट भएर होला ? उ निकै लजाएको थियो । कहिले बोकेको व्यागको पित्ता समाथ्यो, कहिले मुसुक्क हाँस्दै मतिर नजर लगाउँथ्यो । यसरी केटा मान्छेहरु पनि लजाउँदा रहेछन् भन्ने मलाई पहिलो पटक अनुभव भएको थियो । उ निकै राम्रो र ह्यान्डसम थियो । मैले कल्पना गरेको भन्दा पनि राम्रो थियो । करिव आधा घण्टाको भेट थियो हाम्रो । म पनि अफिसबाट आएकी थिए । केही समय पछि त्यहाँबाट सबै बाहिर निस्कियौं । साथी कोठातिर लागी, अनि उ र मसँगै अलि तलसम्म गयौं । उ दिदीको घरमा जाने रहेछ । मेन रोडसम्म सँगै गयौं, अनि उ पूर्व लाग्यो म अफिसतिर लागे । त्यो दिन हाम्रो फेसवुकमा पनि धेरै कुरा भएन । उसले दिदीको घरमा पुगेपछि म्यासेज गर्यो ।

चन्द – म आइपुगे है ।
गिता – हो र ?
चन्द्र – अनि म कस्तो लाग्यो त ?
गिता – राम्रो हुनुहुन्छ, मैले सोचेजस्तै तर अलि लजाउनु भएको थियो । म कस्ती लाग्यो त ?
चन्द्र – हाहाहा… हो र ! यसरी केटीसँग पहिले भेटेको थिएन नि, साँच्चै राम्री लाग्यो ।
गिता – धन्यवाद हजुर, अनि भोली कतिबेला फर्किनुहुन्छ ।
चन्द्र – विहान १० बजे हुन्छ होला ?
गिता – हो र ?
चन्द्र – किन नी ?
गिता – यतिकै ।
चन्द्र – यत्तिकै त होइन होला भनन ?
गिता – म पनि भोली तुल्सीपुर जाँदैछु त्यसैले ।
चन्द्र – ओहो हो र ? त्यसो भए मलाई पर्खेउ है ?
गिता – म विहानै जानुपर्नेछ
चन्द्र – मिलाउन मिल्छ भने ।
गिता – हुन्छ ।

संयोग नै भनौं, म विहान जाने मान्छे काम पर्यो ११ बज्ने भयो । उ दिदीको घरबाट १० बजे नै घोराही आएछ । म अनलाइनमै थिए म्यासेज आयो ।

चन्द्र – कहाँ छौं ?
गिता – घोराहीमै छु, काम छ, ११ बजेसम्म ।
चन्द्र – हो र ? म पर्खिए है ?
गिता – हजुरको काम छ होला जानुन ?
चन्द्र – नाई म पर्खेको छु ।
गिता – हुन्छ

११ बज्यो काम सक्कायर हतारहतार तुल्सीपुर चोकतिर लागे । उ पर्खिरहेको रहेछ । बस आयो बसमा चढ्यौं । हामी चढेको बसमा उसको ठुली आमाको छोरा दाजु पनि हुनुहुँदोरहेछ । मलाई थाहा थिएन, उसको दाई पनि बसमै हुनुहुन्छ भनेर, उसलाई पनि थाहा रहेन छ । उसले हतारहतार गोजीबाट मोवाइल निकाल्यो र मलाई मोवाइल हेर्न इसारा गर्यो । मैले पनि मोवाइल ब्यगबाट निकालेर हेरे । उसको म्यासेज आएको थियो । अगाडि मेरो दाई हुनुहुन्छ, मसँग तिमी नबोल है । म मुसुक्क हाँस्दै हुन्छ भन्ने म्यासेज पठाए ।
उनीहरु गफ गर्दै थिए म बसको झ्यालतिर बसेकी थिए । बाहिरी वातावरणमा नजर डुलाउँदै मनमनमा के के कुरा सोच्न थाले । मलाई किन नबोल भनेको होला अन्जान नै थियो । अन्जान नै बनेर पनि त बोल्न सकिन्थ्यो होइन र ? मलाई पनि सजिलो भयो । नवोल भनेपछि । मुखमा माक्स लगाएर उनीहरुका गफ सुन्दै थिए । गाडीको सहचालक भाडा उठाउँदै आयो । तिनै जनाको भाडा उसैले नै संकेत गर्दै दियो, मलाई मज्जाले हाँस्न मन थियो, तर मनमनै हाँसेर चित बुझाए । एक घण्टाको बाटो तुल्सीपुर पुग्यौ । माथिको चोकमै दुवैजना झर्नु थियो । उसले मलाई गाडीबाट झर्न इसारा गर्दै आफु सरासर हिडिरह्यो । म पनि झर्नुपर्ने त्यहि थियो । अलि ढिला गरेर झरे । उसको दाई भने बसपार्कसम्म नै पुुग्ने काम रहेछ, झर्नु भएन ।
गाडी बसपार्कतर्फ लाग्यो । म पनि हिँड्दै थिए, तुल्सीपुरको घोराही चोकबाट तल जानु थियो । म त्यतै लागे, थोरै तल पुगेको थिए । उसले मलाई पर्खेको रहेछ । म नजिक पुगे, तुल्सीपुरमा रहेको एकान्त होटेलसम्म सँगै गयौ । उ त्यहीबाटो सरासर लाग्यो । म भने चोकदेखि पूर्वतर्फ लागे । हाम्रो दोस्रो भेट पनि निकै यादगार र रमाइलो भयो । साँच्चै भन्ने हो भने अविस्मरणीय थियो उसको र मेरो दोस्रो भेट । एक घण्टा एउटै सिटमा बसेका हामी एक शब्द नबोलेर तुल्सीपुर पुग्नु, अहिले पनि त्यो पल सम्झिँदा एक्लै भए पनि मज्जाले हाँस्न मन लाग्छ, हाँस्छु पनि । कहिलेकाँही यहि कुरा उठाएर उ र म बीच पनि रमाइलो कुराकानी हुन्छ ।
एकले अर्काेलाई खुबै माया गर्ने हामी फोनमा भने कहिले बोलेनौ । फोनकल कै कुरा गर्ने हो भने लामो कुरा भएको १३ मिनेट याद छ मलाई, कहिलेकाँही ५ मिनेट पनि कहिले पुगेन । हप्तादिनमा फोनमा कुरा हुने हाम्रो तैपनि घरपरिवार र समय परिवेशका कुरा हुन्थे । कहिलेकाँही त उसलाई मैले प्रश्न पनि गर्थे हुजरलाई मसँग बोल्न मन लाग्दैन भनेर उसले सहजै भन्थ्यो, लागेर के गर्नु ? यति ठुलो मान्छेले केटीसँग परिवारको अगाडि बोल्न गारो नै हुन्छ । घर गयो बाबाआमा छोराले कसलाई फोन गर्छ भन्ने हुन्छ, पसल बस्यो, स्टाफहरुले अंकलको त लभ परेको छ भन्छन् भन्ने डर, मलाई मज्जाले हाँसो लाग्थ्यो उसको कुरा सुनेर ।
अहिले पनि हामीबीच कुराकानी भइरहेकै छ । नेपाल फर्केर पनि ठुलो व्यापारी बनेको छ । कहिलेकाँही उसलाई प्रश्न गर्छु, अव त सबै कुरा हजुरको चाहना अनुसारनै भएको छ, के विचार गर्नु भएको छ त ? यो सालभरी विहेको योजना बनाएको छैन । हो र ठिकै छ कहिले योजना बन्ने हो त हजुरको ? मैले विहे गरिसकेपछि ? यस्तै भनिदिन्छु मन नलाई नलाई भए पनि किनकी म छोरी मान्छे हुँ घरमा विहेको कुरा आइरहन्छ । पहिले पो उमेर पुगेको छैन भन्दै टार्थे । अव त्यो गर्न पनि मिल्दैन । परिवारको चाहना र मेरो भावी जीवनको बारेमा सोच्नैपर्ने हुन्छ । उसलाई पनि सुनाउँछु यस्ता कुराहरु कति सजिलै भन्छ । मेरो परिवारले मान्दैनन् भनेर । अनि रिस उठ्छ बोल्दै बोल्दिन भन्छु, मनले कहाँ मान्छ र ? मन दुखाएर आदर्शका कुरा गर्दै ठिक्क छ । नाता जोड्दा परिवार खुसी छैनन् भने त्यो नाता जोड्नु पनि राम्रो होइन । उसको जवाफ ठिकै भनेको भन्ने आउँछ ।
पहिला उसले नै मलाई तिमी किन पीर गर्छाै नाता नै जोड्न नमिल्नेसँग त कुरा गरेको छौं नि, कुरा गरेपछि पुरा गर्नु मेरो कत्व्र्य हो ? भन्ने मान्छेले आजकाल घरमा मान्नुहुन्न होला, मनाउने कोशिस गरेकै छु । तर खै हुन्न होला भन्ने उत्तर दिन्छ । कमसेकम पछि जेसुकै भए पनि अहिले मलाई सान्त्वना दिनकै लागि भए पनि म घरमा मनाएर छोड्छु, तिमी मेरो भर परेर बस, यदि परिवारमा मान्नु भएन भने नि मन परेको मान्छे हौँ, तिमी परिवारको विपरित भएर भए पनि तिमीलाई आफ्नो त बनाएरै छोड्छु ? भन्न नी नसक्ने उसको बानी देखेर कहिलेकााही रिस उठेर आउँछ, अनि अब अलि बोल्न कम गरौं, पछि मलाई भुल्न त सजिलो होला भन्दा पनि हुँदैन यस्तो टेन्सन हुने कुरा नगर त तिमी भन्छ । खै के छ उसको मनमा ? न त आफ्नो बनाउँछु भन्ने न त टाढियौ मसँग भन्ने बुझ्न सकिरहेको छैन । आफु नि दोधार अनि मलाई पनि दोधारे नै बनाएको छ अहिले आएर उसले ।
खै कहाँ गयो उसको कर्तव्य, कहाँ गए होलान् आदर्शका कुरा, कहाँ गए तिमीबाहेक अरु त सोचेकै छैन भन्ने वाचा, के मेरो गल्ती उसलाई विश्वास गर्नु नै थियो त ? साँच्चै विश्वास गर्नु मेरो गल्ती हो भने केहिछैन उसलाई प्रेम गरेको छु, उसको खुसी चाहन्छु । म त कसैसँग नाता जोडेर नयाँ घर नयाँ मान्छेको भीडमा पुगिहाल्छु । सायद समयसँगै बिर्सदै पनि जान्छु होला । पहिले मलाई लाग्थ्यो, जे भने पनि हामी नजिक पक्कै हुन्छौं भन्ने अब भने मलाई पनि विश्वास लागेको छैन उप्रति । उसले सधैं म कुरा गरेको छु, मिलाउँदै छु भन्छ । विवाह नाता साइनो जवरजस्ती हुुने कुरा होइन । उसलाई आफ्नै विश्वास छैन भने मेरो कसरी विश्वास होस् । अझै पनि केही भएको छैन, उसलाई मसँग नजिक हुनुछ भने समय छँदै मलाई भन्दा पनि हुन्छ । उसको लागि मेरो मनको ढोका सधैं खुला नै हुनेछ ।  क्रमश…