Loading... आजः १३ आश्विन २०७७, मंगलवार

थारु संस्कृति संरक्षण गर्न फत्तेपुरमा माघी महोत्सव

थारु संस्कृति संरक्षण गर्न फत्तेपुरमा माघी महोत्सव

बाँके । थारु गोचाली समाजले फत्तेपुरमा आयोजना गरेको माघी महोत्सवमा सहभागि भएका थारु अगुवाले संस्कृति, संस्कार, भेषभुषा, रितिरिवाज जिवित रहेमात्र थारु समुदायको पहिचान रहने बताए । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संस्कृति, भेषभुषा र रितिरिवाज नभएको समुदायको कुनै अर्थ नरहने बताए ।
उनले रितिरिवाज, संस्कार, परम्परा, भेषभुषा समुदायको गहना भएको बताउँदै उनले समाजलाई सिंगार्ने काम समुुदायको भेषभुषा र संस्कृतिले गर्ने धारणा राखे । ‘भेषभुषा र संस्कृति नभएको समुदाय पानी बिनाको नदी जस्तै हो,’ उनले भने । थारु संस्कृति, संस्कार र भेषभुषा संरक्षण गर्न बाँकेको विकट क्षेत्र फत्तेपुरका युवाले माघी महोत्सव आयोजना गरेका छन् ।

कौशल्या मेमोरियल अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक चन्द्रबहादुर महतोले संस्कृतिले नै थारु समुदायको पहिचान र अस्तित्व जोगाउने भएकोले सवैले आ–आफ्नो ठाउँबाट संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए । उनले थारु समुदायको संस्कृति, भेषभुषा, रहनसहन पछिल्लो समय हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे ।
उनले थारु संस्कृतिलाई पश्चिमा संस्कृतिले थिच्दै लगेको बताए । ‘यसैगरी थारु संस्कृति थिचिदै गए केहि बर्षपछि इतिहासका पानामा खोज्नुपर्ने बेला आउने छ,’ उनले भने । माघी महोत्सवले हराउँदै गएको थारु संस्कृति, संस्कार र भेषभुषा संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको राप्तीसोनारी गाउँपालिकाका वडा ६ का अध्यक्ष जनकबहादुर थारुले बताए ।

भोलीसम्म चल्ने महोत्सवको पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं. ६ र ७ का युवक युवती, बालबालिका, जेष्ठ नागरिक थारु पहिरनमा सजिएर महोत्सवमा सहभागी भइरहेका छन् । कहिल्यै थारु पहिरन नलगाएका युवक युवती थारु पहिरनमा सजिएर महोत्सवमा सहभागी भइरहेको राप्तीसोनारी गाउँपालिका–६, सिधनवाकी सुस्मिता थारुले बताइन् ।
उनले माघी महोत्सवले थारु पहिरन लगाउन प्रेरणा दिएको बताउँदै उनले पछिल्लो समय चाडपर्वमा मात्र थारु पहिरन लगाउने गरेको बताइन् । विद्यालयमा अध्ययनरत साथीसंगी मिलेर थारु पोशाक सिलाएको बताइन् । ‘थारु संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लागेर थारु पोशाक सिलाएका छौँ,’ उनले भनिन्, ‘चाडपर्वका बेला उक्त पोशाक लगाएर प्रदर्शन गर्छौँ ।’

सिद्धेश्वर मावि, सिधनवामा कक्षा ११ मा अध्ययनरत मनप्यारी थारु पनि थारु पोशाकमै माघी महोत्सवमा सहभागी भइन् । उनले थारु संस्कृति जोगाउन चाडपर्वमा थारु पोशाक लगाउने गरेको बताइन् । ‘पूर्खाको सीप, कला र संस्कृतिको संरक्षण नगरे थारु समुदायको पहिचान हराउन हराउने डर छ,’ उनले भनिन् ।
महोत्सवले थारु संस्कृति संरक्षणमा टेवा पु¥याएको राप्तीसोनारी गाउँपालिका–७ का अध्यक्ष रामलखन थारुले बताए । उनले थारु संस्कृति, भेषभुषा चाडपर्व र महोत्सवमा सिमित भएको बताउँदै उनले थारु भेषभुषा चाडपर्वमा सिमित भइसकेको बताए । ‘नयाँ पुस्ताले चाडपर्वबाहेक अन्य समयमा लगाउँदैनन्, बुढापाकाले पनि थारु पहिरन लगाउन छोड्न थालिसकेका छन्,’ उनले भने ।

महोत्सवमा ढिक्री, घोंघी, गंगटा लगायतका परिकार राखिएका छन् । पश्चिम तराईका थारु बस्तीमा माघीको रौनक छ । माघी पर्वको अवसरमा पश्चिम तराईका गाउँगाउँमा माघी महोत्सव र माघी मिलन कार्यक्रम भइरहेका छन् । यसले पश्चिम तराईका थारु बस्तीमा माघीको रौनकता थपेको छ । अन्य समयमा सुनसान रहने थारु बस्ती माघी महोत्सव र माघी मिलन कार्यक्रमले भरिभराउ भएका छन् ।