Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त

भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त

जोसी जोसेफ

‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो ।
एक युवा पत्रकारको रूपमा यही ‘बाइलाइन’ नै थियो, जसको म कामना गर्थे र जसको पवित्रतामाथि म विश्वास गर्थें । त्यो समय सम्पादक आफ्नो सम्पूर्ण सामर्थले यसको संरक्षण गर्थे । यही बाइलाइनका सुस्त र हिंस्रक मृत्युलाई मैले आफ्नो करियरमा नजिकबाट देखे । यो हत्यामा शक्तिलम्पट राजनेता र उद्योगपतिहरूको मात्रै होइन, मिडिया मालिक र उनका सम्पादकहरूको पनि हात थियो ।
एक दशकभन्दा पहिले मैले आफ्नो इमेलमा ‘मुर्दा घर’ नामको एक फोल्डर बनाएको थिएँ । म यो फोल्डरमा ती स्टोरीहरू सङ्ग्रह गर्न लागेँ, जो पत्रकारिताको मानकहरूमा त खरो उत्रिएका थिए तर कतै तिनलाई मैले कतै छाप्न पाइनँ । मैले आफ्नो जागिर बदलिरहँदा पनि त्यो फोल्डको बजन बड्दै गयो । एक ठूलो स्टार्ट–अप पत्रिकाका लागि काम गर्नेदेखि लिएर ठूलो नाफा कमाउने भनेर प्रसिद्ध सञ्चारगृहदेखि लिएर ठूला नैतिकवान भनिएका प्रतिष्ठावान सञ्चारगृहसम्म यो फोल्डरमा सबैको स्थान छ ।
मृत कथाहरूको शवगृह देशका ठूला राजनेता र कर्पोरेट दिग्गजहरूमाथि गरिएको रिपोर्टिङको सङ्ग्रह हुन्, जो बलियो मिडिया भएका देशमा निक्कै ठूलो मानिन्थ्यो । कानुन पालना गर्ने समाज तिनले ठूला आपराधिक जाँचहरूलाई प्रेरित गर्थे । तर भारतमा यस्तो रिपोर्टिङको कुनै महत्व छैन । मैले कैयौँ पटक यस्ता सम्पादकहरू पनि देखेँ, जो पत्रकारिता सँगसँगै बढे तर यस्ता विरलै छन् । न्युजरुमको संस्कृति विस्तारै खराब भयो र स्व–सेन्सरसिप गर्नु युवा पत्रकारहरूको प्रकृति बन्यो ।
करियर सुरु भएको केही वर्ष्भित्रै म न्युजरुमको वास्तविकताहरूसँग परिचित भएँ । लगभग एक दशक पहिले एक साँझ मलाई आफ्नो समाचारपत्रको प्रवद्र्धकको फोन आयो । मेरो टिमका एक सदस्यले एक रहस्यमय आगोबारेमा एक सनसनी खोज कथा खोजेका थिए । आगलागीमा एक प्रमुख रियल स्टेट कम्पनीमाथि लगाइएको ठूलो जरिवानासँग सम्बन्धित आयकरका फाइलहरूलाई नष्ट भएको थियो ।
प्रवद्र्धकले मलाई उक्त कम्पनीको कोही व्यक्तिले आफ्नो कुरा राख्न चाहेकाले केही दिनलाई कथालाई रोकेर राख्नलाई भने । दुई दिनपछि पत्रिका कर छलीको आरोप लागेको घरजग्गा कम्पनीको एक ज्याकेटमा लपेटिएर आयो । त्यो खबर फेरि कहिले पनि पत्रिकामा छापिएन । पछिल्लो केही दशक भारतीय मिडयालाई नाफासँग मात्र मतलब रहेको देखिन्छ । सबैले लोकतन्त्रको चौथो स्तम्भका रूपमा आफ्नो भूमिका त्यागिदिएका छन् ।
यस्तो स्थितिमा सराहना त टाढाको कुरा उल्टो राम्रो रिपोर्टिङलाई सक्रिय रूपमा सेन्सर गरिन्छ । व्यावासायिकतालाई कायम राख्दै सम्पादकहरू विभिन्न स्वार्थहरूलाई सन्तुलित गर्ने कोसिस गरिरहेको दलालको काम गर्छन् । उनीहरू मालिकहरूको राजनीतिक र व्यावसायिक महत्त्वका लागि आफ्ना ब्रान्डलाई प्रयोग गर्न पनि तयार हुन्छन् । सबैभन्दा बढी र सबैभन्दा मोटो तलब वा प्याकेज ज्यादाजसो दलालहरूका लागि सुरक्षित हुन्छ । दलाल भन्नाले ती पर्छन्, जो पत्रकारका रूपमा चाप्लुसी गरिरहेका छन् ।
तिनले मिडिया मालिकहरूका लागि नेता, कर अधिकारी र प्रहरीजस्ता अफ्ठ्याराहरूसँग सामना गर्ने र डिल गर्ने काम गर्छन् । यसको सबैभन्दा नराम्रो प्रभाव रिपोर्टसहरूमा परेको छ, जसलाई यस्तो विषम परिस्थितिहरूमा दीक्षित गरिदिइएको छ । आजको समयमा एक रिपोर्टरको काम पृष्ठहरू भर्नका लागि प्रर्याप्त सामग्रीहरू खोज्नु हो । हरेक कदममा आफैलाई सेन्सर गर्ने पाठ पढेका यी रिपोर्टरहरू यस्तो कुनै समाचार लेख्ने हिम्मत गर्न सक्दैनन्, जसले एक प्रतिष्ठित न्युजरुममा उसको सुरक्षित अस्तित्वलाई खतरा परिदिन्छ ।
यस्तोमा अधिकांश रिपोर्टर केवल न्युज वायरमा आउने खबरहरूलाई रिपोर्ट गर्छन्, जो प्रतिष्ठानको लागि सार्वजनिक सम्बन्ध सामग्रीलाई मन्थन गर्छ । रिपोर्टर यी खबरहरूलाई हल्का संशोधित गर्छन्, आफ्नो नाम हाल्छन् र आफ्नो खेर्सालाई दर्ता गरिदिन्छन् । बदलामा सम्पादक पनि खुशी हुन्छन्, किनकि यिनलाई सम्पादन गर्नका लागि त्यति गाह्रो हुन्न । त्यस्तै, यस्ता समाचार छापिसकेपछि न त कुनै ठूलो कर्पोरेटलाई शान्त गर्नुपर्दैन, न कुनै सरकारी धम्कीको सामना गर्नुपर्छ ।
नतिजा हामीहरूले पढ्ने हरेक पत्रिका एउटै लाग्छ । धेरैजसो पत्रिकाको पहिलो पृष्ठ सरकारी उत्सव मनाइएको कार्यक्रमहरूका सन्देशहरूले भरिएका हुन्छन् । जब ठूला र शक्तिशाली मानिसहरू लडिरहेका हुन्छन् (जस्तो हालै सीबीआई र आरबीआईभित्रको विवादको मामला) पत्रिकाहरूमा लिक छापिन थाल्छ । पत्रिकाका बाँकी भागमा करर्पोरेट घोषाणाहरू, केही अफ बिट मानवीय रुचिवाला कथा र केही तथ्याङ्कमा आधारित लेख हुन्छन् । त्यहाँ खोज पत्रकारिता गायब हुन्छ ।
हुन त यो प्रक्रियालाई लामो समयदेखि जारी थियो तर वर्तमान सरकारको पालामा जति मिडियाको अपमानजनक स्थिति पहिले कहिल्यै देखिएको थिएन । सामजिक सञ्जालमा ठूलो सम्भावना देख्ने नरेन्द्र मोदी पहिलो नेता थिए । यो प्लेटफर्ममा मोदी र उनको सरकार यस्तो जानकारी दिइरहेका छन् जो पत्रकारिताको जाँचमा खरो उत्रँदैन । त्यहाँ जो मोदीलाई प्रश्न गर्छन् वा जवाफदेहिताको माग गर्छन्, उनीहरूमाथि हनुमान सेना जाइलाग्छन् ।
खासमा मोदी सरकार आएपछि पत्रकारहरूको लागि सामजिका मिडिया सरकार बारे सूचनाको प्राथमिक स्रोत बनेको छ । धेरैजसो दिन मोदी या सरकारका मन्त्रीको ट्विट पत्रकारहरूका लागि प्रमुख खबर हुन्छ । सरकारको आन्तरिक कार्यहरूको जानकारीबाट विमुख गरिएका पत्रकारहरू आफ्नो धेरै समय सामाजिक सञ्जालमा खोजेर बिताउनुपर्छ । मोदीले पारम्परिक मिडियालाई पनि राम्रोसँग व्यवस्थापन गर्न जानेका छन् । सन् १९९० को दशकमा टेलिभिजन पर्दामा छाउन सुरु गरेका उनले त्यसयता फ्रेम छाड्ने नामै लिएका छैनन् ।
अधिकांश पत्रिकाहरूको राष्ट्रिय ब्युरो त्यस्ता पत्रकारहरूबाट भरिएको छ, जो पत्रकारिताको साटो पहुँचलाई आफ्नो लक्ष्य मान्छन् । यहाँसम्म कि केही पत्रकार साथीहरू जो सन् २०१४ को चुनावभन्दा अघि राम्रो फिचरको लागि मलाई बधाई दिन्थे र खोज पत्रकारिताका बारेमा जसको कुरा निक्कै राम्रो लाग्थ्यो, उनीहरू पनि सरकारको अघि झुकिरहेका छन् । यो उनीहरू आफ्नो जागिर कायम रहोस् भन्नका लागि गरिरहेका छन् । हाल उनी सरकारको प्रचारकमा बदलिएका छन् । योबीच देशमा चलिरहेको घटनाक्रममा प्रश्न उठाउने केही सम्पादकहरूले जागिर गुमाए । ठूला न्युजरुमबाट विरोधको स्वर गायव भएको छ ।
आत्मसेन्सर र भयको वातावरण मिडियामा मात्र सीमित छैन । एक अनुदार लोकतन्त्रमा बदलिने प्रक्रियामा रहेको भारतका हरेक संस्थानमाथि हमला गरिँदैछ । ह्विसल–ब्लोअर सधैँ राम्रो रिपोर्टिङमा एक महत्त्वपूर्ण घटक रहेको छ । तर भारतमा यो कामले तपाईंलाई जेल पुर्याउन सक्छ, तपाईंको हत्या हुन सक्छ । साथै तपाईंले अतिवादी विचारधाराको नशामा डुबेका सामाजिक मिडियाका हुनमानहरूको सेनाको हमला सामना गर्नुपर्ने हुनसक्छ । चलाख नोकरशाहीको सल्लाहपछि विगत वर्षहरूमा सरकारले ह्विसल ब्लोअरलाई जति पनि सुरक्षा प्राप्त थियो, त्यसको घाँटी रेटिएको छ ।
सरकारको उच्च स्तरमा हुने भ्रष्टाचारको जाँच गर्नका लागि बनाइएको संस्था ‘केन्द्रीय सतर्कता आयोग’को विश्वसनीयतामाथि नै शंका उत्पन्न भएको छ । भ्रष्टाचार रोकथाम अध्यादेशलाई यो वर्षको सुरुवातमा संशोधित गरियो र ‘आपराधिक दुव्र्यवहार’को परिभाषालाई कमजोर गरियो । उता सरकारी अधिकारीहरूमाथि मुद्दा चलाउनका लागि नयाँ प्रतिबन्ध लगाइयो । सरकार सूचनाको अधिकारको कानुनलाई लिएर द्वेषपूर्ण रहेको छ । सूचना आयुक्त नियुक्ति गर्न अस्वीकार गरिरहेको छ । यहाँसम्म कि कानुनलाई कमजोर बनाउने बाटोहरूको खोजी हुँदै छ ।
आजकल अघिल्लो यूपीए सरकारका घोटलाहरूसँग जोडिएका दस्तावेजहरू चुहाउन महत्त्वपूर्ण भूमिका निभाउने अधिकारीहरूलाई खोज्न मुस्किल छ । अझ भेटिहालेमा उनीहरूसँग कुरा गर्न झनै मुस्किल छ । सरकारको कामकाजसँग जोडिएको हरेक नसामा सत्ताको भयको सुई रोपिएको छ । वर्तमान सरकारको डरलाग्दो गिरोहको असर यस्तो भएको छ कि जब कोही पुरानो सम्पर्क सूत्र भेटिन्छ तब उसको व्यवहार विचित्र लाग्छ । आफ्नो कार्यालयको पर्खालहरूतर्फ उनीहरू यसरी हेर्छन मानौँ आसपास भूत छ ।
फोनमा उनीहरू इन्क्रिप्टेड म्यासेजिङ प्रणालीलाई प्राथमिकता दिन्छन् । सार्वजनिक स्थानमा उनीहरू सरकारको प्रशंसा गर्छन् । एक समय सजिलै जानकारी दिने वरिष्ठ अधिकारीहरूसँग अब गफ गर्दा बेतुकका कुरा गर्छन् । एक महासय आफ्नो आवाजमा कोरियोके गीत पठाउँछन्, अर्को अन्तर्राष्ट्रिय किताबहरूमाथि चर्चा गर्ने आफ्नो शोखबारे बताउँछन् । जबकि तेस्रो जो अघिल्लो सरकारको पालामा दिल्लीको खान मार्केटमा पत्रकारहरूसँग गफ गर्ने गर्थे अब कतै देखाइँदैनन् । भेटिएको बेला जब उनी उनको कुरा सुन्ने कोही छैनन् भन्ने कुरामा विश्वस्त हुन्छन् तब सरकारका कैयौँ असफलताबारे कुरा गर्न थाल्छन् ।
हालैका वर्षहरूमा रिपोर्टिङ सुरु गर्ने पत्रकारहरूले रिपोर्टिङको यी पक्षबारे मात्रै जानेका छन्, नभेटिने कर्मचारी, उपलब्ध नहुने स्रोत र एकतर्फी जानकारीको प्रवाह । पत्रकारहरूको एक पिढीलाई सरकार र कर्पोरेट रिपोर्टिङले कसरी काम गर्छ भन्ने कुरा जान्ने मौका नै मिलेन । चुपचाप सबै सहने पीडितहरूको सूची अन्त्यहीन छ । यसमा फ्रिलान्सरहरू पनि छन् । उनीहरूसँग मुद्दासँग लड्नका लागि कानुनी सहयोग हुँदैन । स्थानीय माफियासँग जोरी खोज्ने पत्रकारहरू मारिन्छन् । महानगरका वरिष्ठ पत्रकाहरूले मासिक तलबका लागि आफ्नो आदर्शलाई समर्पण गरिदिएका छन् ।
मेरो ‘मुर्दा घर’ फोल्डरमा रहेका कुनै पनि ‘स्टोरी’ नपढिएको भने होइनन् । निक्कै ताजा रिपोर्टिङको अतिरिक्त मेरो त्यो फोल्डरको कैयौँ स्टोरीले सन् २०१६ मा लेखिएको मेरो किताब, ‘ए फिस्ट अफ भल्चर : द हिडन बिजनेस अफ डेमोक्रेसी इन इन्डिया’मा स्थान पाएको छ । एक ठूलो मिडिया हाउसले मेरो किताबको एक अंश छाप्न चाहना देखायो । एक महिनासम्म मेरो किताब आफूसँग रोखिसकेपछि उसले मेरो पुस्तक छाप्ने प्रकाशकसँग यसमा सामेल कुनै पनि कर्पोरेट हाउसको नाम लिन नचाहेको बतायो । मूलधार मिडियाले त यसलाई लगभग नदेखेको जस्तो गरिदिए ।
सन् २०१६ जुनमा एक प्रमुख अङ्ग्रेजी म्यागजिनले मेरो किताबको एक अंश छाप्यो, जसमा जेट एयरवेजको प्रवद्र्धक नरेश गोयलका कथित आपराधिक सम्बन्धहरूको उल्लेख गरिएको थियो । जेट एयरवेजले म्यागजिन र मविरुद्ध मानहानिको मुद्दा हालेको छ, जसमा हामीबाट १० अर्ब भारुको माग गरिएका छ । मुद्दा दर्ता भएलगतै म्यागजिनले आफ्नो सम्पादकलाई बर्खास्त गरिदियो । नयाँ सम्पादकले अदालतमा पत्रिकाको तर्फबाट जवाफ दायर गरे र मुद्दालाई फिर्ता लिँदा जेटद्वारा दिइएको कुनै पनि रिजान्डरलाई प्रकाशित गर्ने प्रस्ताव गरिरहेको छ ।
नयाँ सम्पादकले म पनि जोडिएको मुद्दामा आफूहरूले दिएको जवाफ मलाई भन्न आवश्यक ठानेनन् । उनले आफ्ना सहयोगीहरूलाई मसँग कुरा नगर्न आदेश दिएका छन् भन्ने सुनिन्छ । मुद्दा अझै सुरु भएको छैन । पत्रकारिताको नाममा बनाइँदै गरिएको चम्चागिरी र प्रोपोगान्डाको ककटेलबाट पत्रकारहरूको नयाँ पिढीमा निक्कै आक्रोश छ । उनीहरूलाई पत्रकारितामा गहिरो इमानदारिता र असहमतिको समझबिना नै न्युजरुममा लाइएको छ । जब यी पत्रकारहरूको क्रोधले आफ्नो सीमा नाघ्छ तब नयाँ ‘बाइलाइन’को जन्म हुनेछ ।

 

#कारवान् म्यागजिन