Loading... आजः १३ आश्विन २०७७, मंगलवार

अपाङ्गता भएका हिरा र करिष्मालाई पढाउन घरमै पुग्छन् शिक्षक

अपाङ्गता भएका हिरा र करिष्मालाई पढाउन घरमै पुग्छन् शिक्षक

त्रिप्ती शाही । बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुई छोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ । बोहराका दुई छोरी २२ वर्षिय हिरा र १५ वर्षिय करिष्मालाई केहि दिनदेखि घरमै शिक्षक राखेर पढाउने व्यवस्था मिलाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीको पहलमा उनीहरुलाई घरमै शिक्षक गएर पढाउने व्यवस्था मिलाइएको हो । हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएको वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराले बताए । करिष्श्मालाई कक्षा १० को र हिरालाई कक्षा ५ को पाठ्यक्रम घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ । करिब ३ साताअघि इकाइ प्रमुख अवस्थीले उनीहरुको घरमै पुगेर शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । अवस्थीले आफुले गरेको कुरा पुरा गरी छोरीहरुको पढाईको लागि घरमै शिक्षक आउँदा धेरै खुसी लागेको पूर्णबहादुरले बताए । घरमै शिक्षा पाउँदा दङ्ग भएका करिष्मा र हिराले पढेर केही गर्ने इच्छा जागेको बताए । आफुले सोच्दै नसोचेको कुरा घरमै शिक्षा पाइरहेको उनीहरुको बताएका छन् ।
यसअघि पनि इकाइ प्रमुख अवस्थीले बिचमै पढाई छोडेका हिरा र करिश्मालाई विद्यालयमा भर्ना गर्दै उनीहरुकोको पढाई खर्ज भन्दै १० हजार आर्थीक सहयोग गरेका थिए । यो कार्यमा दशरथचन्द नगरपालिका-२ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको पनि सहयोग रहेको छ ।
संविधानमै शिक्षाबाट कोही पनि वञ्चित नहुनुपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए । उनीहरुको शिक्षा र स्वास्थ्यको लागि आफुले सक्दो सहयोग गर्ने अवस्थीले बताए । पूर्णबहादुरका ४ छोराछोरीमध्ये ३ जना अपाङ्गता भएका छन् । जन्मिँदा केही समस्या नभए पनि ठुलो हुँदै जाँदा उनीहरु हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेको पूर्णबहादुरले बताए ।