Loading... आजः ९ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज उपमहानगरपालिकाभित्रकै वडा लालपूर्जाविहीन !

नेपालगन्ज उपमहानगरपालिकाभित्रकै वडा लालपूर्जाविहीन !

बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्रकै सिंगो मनिकापुर गाउँ लालपूर्जाविहीन छ । अस्थायी लालपूर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ । यसले पनि व्यापारिक सहर नेपालगन्ज उपमहानगरपालिका नै लालपूर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ ।
मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपूर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । ०४६ सालपछि पनि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालिन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपूर्जा पाउन नसकेको नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउँछन् ।
सािवकको मनिकापुर गाविस अहिले नेपालगन्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुन्छ तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाई छ । मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लापूर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताए ।
‘यी गाँउका ७५ प्रतिशत नागरिक लालपूर्जाको पर्खाइमा छन्,’ उनले भने, ‘घरजग्गाको लालपूर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्यांकन हुन सकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।’ वडाध्यक्ष कार्कीकाअनुसार २०२४ सालदेखि बसोबास गर्दै आएका व्यक्ति समेत अझै लालपूर्जाको आसमा छन् ।
‘जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरबासीको माग कहिल्यै सुनुवाइ भएन,’ स्थानीय लक्ष्मी शर्माले भने, ‘पुर्जा त चुनावी नारा मात्रै भए ।’ गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पूर्जा दिलाउने कुरा महत्वसाथ उठाएका थिए । उनले थपे, ‘घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपूर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन । तर, सुकुम्बासी जस्तै भएका छौं ।’
मनिकापुरमा १२ हजार ४११ जनसंख्या रहेको छ । जसमा ६ हजार ५९ महिला, ६ हजा ३४१ पुरुष र ११ जना अन्य रहेका छन् । मनिकापुरमा रहेका २ हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपूर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउँछन् । करिब ५० बर्षदेखि पूर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जनबढी विभिन्न उद्योगहरू स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपूर्जाविहीन जमिनमै निर्माण गरिएका छन् ।
यसरी अस्थायी जमिनमा स्थायी संरचना बनिसके पनि नेपालगन्ज उपमहानगरपालिकाले मनिकापुरबासीलाई लालपूर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन । स्थानीयले स्थायी लालपूर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटकपटक माग गर्दै आएका छन् । तर, ५० बर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउँछन् ।
स्थानीय मागअनुसार सिंगो गाउँलाई नै लालपूर्जा उपलब्ध गराउन उपमहानगरपालिकामा प्रस्ताव राखेको बताउँदै वडाध्यक्ष कार्कीले भने, ‘वडाले केही गर्न सक्दैन् । उपमहानगरपालिकामा कुरा पु¥याएको छु, तर, सुनुवाई हुन सकेको छैन । म निरन्तर लागिरहेको छु ।’ लालपूर्जा नै नहुँदा स्थानीय नागरिकहरु सरकारी सेवा सुविधाबाट बञ्चित मात्रै भएका छैनन्, सरकारी राजश्वमा पनि गिरावट आएको छ ।