Loading... आजः ३ आश्विन २०७७, शनिबार

घरेलु श्रम : पैसा छ सम्मान छैन

घरेलु श्रम : पैसा छ सम्मान छैन

सञ्चिता घिमिरे । काठमाडौं । आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा तल्लो तहको कामका रुपमा लिएको श्रमिकको गुनासो छ ।
छोराछोरी पाल्न अरु कुनै काम नपाएपछि सीता खत्रीले दुई दशक पहिले एउटा घरको घरायसी काम गर्न थालिन् । श्रीमानले अर्काे विवाह गरेपछि उनको काँधमा सन्तानको पालनपोषण र पढाउनुपर्ने जिम्मेवारी आइलाग्यो । के काम गर्ने कामको खोजीमा धेरै भौतारिइन् तर केही काम पाइनन् ।
‘काठमाडौँमा पढेका मान्छेले त काम पाउँदैनन्, हामी नपढेकाले के काम पाउनु छ र ?’ उनले भनिन्, ‘जुन घरमा बस्थेँ त्यहीँ घरका घरबेटीको घरमा खाना पकाएपछि भाडा तिर्न परेन र त्यहीबाट काम शुरु गरेँ ।’ त्यतिबेला र अहिले घरेलु श्रमिकको अवस्थामा धेरै परिवर्तन आएको छ ।
पहिले धेरै काम गर्दा थोरै पारिश्रमिक थियो । अहिले खटिएर काम गर्न सक्नेले राम्रो कमाउने अवसर छ । काम शुरु गरेको लामो समयसम्म उनले रु १० हजारसम्म कमाउनै मुस्किल थियो । अहिले भने उनी मासिक रु.२५ हजारसम्म कमाउँछिन् । उनले भनिन्, ‘बिहान घरमै बस्छु, बिहानदेखि काम गरे अझै धेरै कमाइन्छ ।’
काठमाडौँ उपत्यकामा कामकाजी महिलाको संख्या बढ्दै जाँदा घरेलु श्रमिकको आवश्यकता बढ्दो छ । अरु कामको अवसर नपाउँदा धेरैले अन्तिम उपायका रुपमा घरेलु श्रमलाई लिएका थिए । केही वर्षयता भने पारिश्रमिक बढ्दै जाँदा यो पेशा आकर्षक बन्दै छ । अशिक्षित मात्रै होइन ११, १२ र स्नातक अध्ययनरतले पढाइसँगै घरेलु श्रमिकका रुपमा काम गरिरहेका छन् ।
यो काम गरेरै मासिक रु ३० हजारसम्म कमाउने पनि छन् । घरेलु श्रमिक एक दशक पहिलेसम्म यो काममा पारिश्रमिक कम भएको गुनासो गर्थे । समयको परिवर्तनसँगै अहिले भने पारिश्रमिकभन्दा पनि उनीहरुको जोड कामप्रतिको सम्मानमा छ । यो कामलाई समाजले सानो काम मानेको उनीहरुको गुनासो छ ।
विदेशमा घरेलु श्रम नै गर्दा राम्रो मानिए पनि समाज र परिवारले स्वदेशमा घरेलु श्रमिकका रुपमा काम गर्दा भने अझै सम्मानजनक पेशाका रुपमा स्वीकार्न सकेको पाइदैन । बसुन्धारा क्षेत्रका घरमा काम गर्दै आएकी मनिषा पुरीले एक दशकदेखि यही कामले परिवार चलाएकी छन् । छोरालाई राम्रो विद्यालय, कलेज र अहिले वैदेशिक अध्ययनमा समेत पठाएकी छन् ।
आफन्त र गाउँका कतिपय महिलाको सिको गरेर उनी पनि कतार जानका लागि एक दशक पहिले काठमाडौँ आएकी थिइन् । यहाँ आएपछि तयारीमा लागिरहँदा सञ्चार माध्यममा खाडी देशमा नेपालीले दुःख पाएको समाचार सुनिन् । उनले भनिन्, ‘त्यसैले यहीँ एउटा घरमा काम थालेँ, अहिले तीन वटा घरमा काम गर्छु ।’ विदेश जाने तयारी गरिरहेका वा वैदेशिक रोजगारीबाट फर्किएकालाई मनिषा स्वदेशमै काम गर्न सल्लाह दिन्छिन् ।
विदेशमा जसरी १८ घण्टा खटिँदा यहाँ पनि राम्रो कमाउन सकिन्छ । विदेशमा घरेलु श्रममा जाने महिला पनि आफ्नो देशमा घरेलु श्रमिकका रुपमा काम गर्न नचाहने बताइन् । तीनलाई विदेशीका लागि खाना पकाउने र विदेशीका बुबाआमा र सन्तान हेर्नुभन्दा नेपालीकै लागि काम गर्न भन्छिन् । स्वदेशमा नै काम गर्दा विदेशमा जस्तो परिवार छाड्न नपर्ने हुँदा यो काम राम्रो भएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘खटिएर काम गर्दा पारिश्रमिक पनि नराम्रो छैन र घर परिवार छाड्नु पनि पर्दैन ।’ काठमाडौँ उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौँ आएका कतिपय विद्यार्थी बिहान पढ्ने, दिउँसो र साँझ काम गर्ने गर्छन् । उनीहरुलाई औपचारिक क्षेत्रमा काम पाउँदा पनि कार्यालयमा धेरै समय दिनुपर्ने भन्दै यो काम छाड्न चाहँदैनन् । धेरैले ‘सानो काम’ का रुपमा लिँदा युवापुस्ता खुलेर र गर्वका साथ ‘म यो काम गर्छु’ भन्ने गर्दैनन् । रासस