नेपाली रक्सी भारत तस्करी

बाँके । भारत उत्तर प्रदेशको सीमावर्ती बजारमा नेपालबाट रक्सी तस्करी हुने गरेको छ । रक्सी तस्करले खुल्ला नाकाको फाइदा उठाइरहेका छन् । प्रहरीले गएराती दशगजा नजिकको जमुनाहा गाउँबाट ठूलो मात्रामा रक्सी बरामद गरेको छ । घरेलु मदिरा एक हजार लिटर नष्ट गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जले १६४ कार्टुन विभिन्न ब्रान्डका सोफी रक्सी बरामद गरेको छ ।
बरामद भएका रक्सी भन्सार कार्यालयमा पठाइएको वडाका इन्चार्ज नारायण डाँगीले बताए । स्थानीय व्यापारीले भने वैधानिक रुपमा राखेको रक्सी प्रहरीले लगेको दावी गरेका छन् । नेपालगन्जका विभिन्न टोलहरुमा बन्ने घरेलु रक्सी नाकाछेउका गाउँमा लगेर राख्ने र पायक पर्दा भारततिर पठाउने गरिन्छ । मदिराप्रेमी भारतीयहरु यतै आएर खाने गर्दछन् । रेल चढेर सीमावर्ती नेपाली बजारमा मदिरा सेवन गर्न आउनेको पनि कमी छैन ।
घरेलु हिंसादेखि झैझगडाको कारणमध्येमा गनिने मदिराविरुद्ध प्रहरीले अप्रेसन गर्दै आएको छ । नेपालगन्ज बजारभित्रै प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चाल्दै आएको प्रहरी निरीक्षक डाँगीले बताए । पछिल्लो समय वडा प्रहरीले जमुनाहा गाउँलाई निगरानी गरिरहेको छ । दशगजासँग जोडिएको यो गाउँमा दिउँसो सामान पुर्याएर थुपार्ने र मौका मिल्दा पारी पठाउने गरिन्छ । यसअघि त्यहाँबाट कालो मरिच बरामद गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको