Loading... आजः ३ आश्विन २०७७, शनिबार

नवौं पोखरा महोत्सवमा सुरक्षा तयारी, सादा पोसाक खटिँदै प्रहरी

नवौं पोखरा महोत्सवमा सुरक्षा तयारी, सादा पोसाक खटिँदै प्रहरी

गिता राना मगर । पोखरा । नवौं पोखरा महोत्सवलाई कास्कीका सम्पूर्ण सुरक्षा निकायले साथ दिने भएका छन् । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई भब्य, सभ्य र सुरक्षितरुपमा महोत्सव सञ्चालन गर्न कास्कीमा रहेका चारवटै सुरक्षा निकायले साथ दिने भएका हुन् ।
महोत्सवको सुरक्षामा कुनै कसुर बाकी नरहने गरी चारवटै सुरक्षा निकायले काम गर्ने भएका हुन् । कास्कीका चार वटै सुरक्षा निकायले पोखरा महोत्सवको आयोजकसँग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाएका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन गर्नका लागि कास्की प्रशासनले कुनै कसुर बाँकी नराख्ने वताए ।
महोत्सवमा भीडभाड वढी हुने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर अगाडी वढ्नसमेत आयोजक युनाइटेड क्लवलाई बुढाले आग्रह गरे । नेपाली सेना सिद्धिबक्स गण फुलबारी ब्यारेकका प्रमुख सेनानी मदन थापाले अन्य सुरक्षा निकायसँग समन्वय गरेर महोत्सवको सुरक्षामा नेपाली सेनाको तर्फबाट समेत सहयोग हुने बताए । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर राना मगरले महोत्सवको सुरक्षामा कास्कीका सम्पूर्ण सुरक्षा निकायले समन्वय गरी पूर्ण रुपमा सुरक्षित बनाउने बताए ।
महोत्सवमा हुने भीडभाडलाई लक्षित गरी चार वटै सुरक्षा निकायबाट सादा पोसाकका जवानहरु ब्यापकरुपमा परिचालन गरी महोत्सवमा आउने सम्पूर्णलाई सुरक्षाको प्रत्याभुति दिलाउने रानाको भनाइ रहेको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक मुरारी बस्नेतले सशस्त्र प्रहरीले पनि विगतका महोत्सवहरुमा जस्तै यो पटक पनि सुरक्षाका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
युनाइटेड क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीबासीको महोत्सव भएकाले महोत्सवको सुरक्षाको लागी कास्कीका सम्पूर्ण सुरक्षा निकायले साथ दिनुपर्ने बताए । विशुद्ध सामाजिक कामका लागि पोखरा महोत्सव भएकाले यसलाई सम्पूर्णले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
नवौ पोखरा महोत्सव विद्युतिय सुरक्षा उपसमिती संयोजक तथा स्काइलिंक प्रालिका सञ्चालक राजेन्द्र तिवारीले महोत्सवमा हुने गतिविधी र सुरक्षालाई मध्येनजर गरी महोत्सव स्थल परिसरलाई पूर्णरुपमा सिसि क्यामेराद्धारा निगरानी राखिने बताए । त्यस्तै निजी सुरक्षा कम्पनीको जिम्मा पाएको जेट सेक्युरिटी प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्णप्रसाद सुवेदीले महोत्सवमा निजी कम्पनीको तर्फबाट २० देखि ३० जना सुरक्षा गार्ड उपलब्ध गराइ सुरक्षा निकायसँग समन्वय गरी महोत्सवको सुरक्षा ब्यवस्था मिलाइने बताए ।
ट्राफिक ब्यवस्थापन उपसमिती संयोजक रामबहादुर थापा मगरले महोत्सवमा उचित पार्किङको ब्यवस्था मिलाइएकाले कुनै पनि किसिमको बाधा उत्पन्न नहुने बताए । स्वयंसेवक परिचालन उपसमिती संयोजक विष्णुकुमार गुरुङले महोत्सवलाई सुरक्षित बनाउन करिव २५ देखि ३० जना स्वयंसेवकहरुले सुरक्षाकर्मीसँग समन्वय गर्ने बताए । महोत्सवको सम्पूर्ण सुरक्षा ब्यवस्थाको बारेमा सुरक्षा ब्यवस्थापन उपसमिती संयोजक सूर्य बानियाले जानकारी गराएका थिए भने महोत्सवको उद्देश्यमाथी क्लवका प्रथम उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले प्रकाश पारेका थिए ।