Loading... आजः ३ आश्विन २०७७, शनिबार

काँग्रेस सभापति देउवालाई सूर्यको प्रश्न : ‘वाइडबडीको खाडल कस्को पालामा खनियो ?’

काँग्रेस सभापति देउवालाई सूर्यको प्रश्न : ‘वाइडबडीको खाडल कस्को पालामा खनियो ?’

काठमाडौं । नेकपा युवा नेता सूर्य थापाले वाइडबडी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापतिमाथि ८ प्रश्न तेर्साएका छन् । संसदमा देउवाले माग गरेअनुसार नै वाइडबढी प्रकरणमा सरकारले छानबिन आयोग गठन गरेको तर देउवाले त्यसलाई ढाकछोपको संज्ञा दिएको देखि आफ्नै प्रधानमन्त्रीत्व कालमा वाइडबडीको खाडल खनिएको लगायका प्रश्न छन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापा सोध्छन् :–
१) संसदको रोष्ट्रमबाट वाइड बडी प्रकरणको छानविन गर्न यहाँले आफै माग गर्नुभयो, मन्त्री परिषदले न्यायिक छानविन आयोग गठन गरिसक्यो । अनि तपाईं नै भ्रष्ट्राचार ढाकछोप गर्न सरकारले आयोग बनाएको भाषण गर्न थाल्नुभयो, किन होला ?
२) तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएको झलझली सम्झिरहेको छु, किन थियो होला ? उहाँलाई पन्छाएर वाइडबडीको खास डिल गर्ने महोदय को थियो होला ?
३) अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डको खाल्डो खनिएको थियो । पछि त्यसमा को को हुस्सुहरू परे ? को को पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाऔंला, तर लहरो तान्दै जाँदा पहरो कतातिर गर्जिने छ ? बजारमा त व्यापक सनसनी छ । आफू काँक्रो खाएर बियाँ अरूको गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हो कि ?
४) वाइडबडीको डिल गर्ने स्थानीय एजेन्ट को हो ? चिन्नुहुन्छ कि ? यहाँको … राणासँग के साइनो सम्बन्ध खासमा के रहेको छ ? जनताले ने खोजिदिनुपर्ने हो कि ?
५) हवाई माफियामा को को सक्रिय र चलायमान छन् ? बोइङ् र एयरबसका यहाँ एजेन्ट को को छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए को को छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी रर व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन ? खासमा यसो गरेर मात्रै तिनले कल्पित मुनाफा आर्जन गरिरहन सक्छन् भन्ने बुझेरै गरेका छैनन् र ?
६) सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा तथ्य तोडमरोड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछोप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दाेष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलको मुख्य शिखण्डी खोजी गर्ने हो कि ?
७) नेपाल एयरलाइन्सलाई माफियामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर सञ्चालन गर्न साँच्चै तयार हुनुहुन्छ ?
८) यहाँलाई लाग्दैन, सुगत कंसाकारमाथि कानुनबमोजिम कारबाही चलाए पुग्छ ! अनि, किन यो बर्बर र असभ्य हर्कत त ? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेको दुष्परिणाम यो होइन ? संयोजक राजेन्द्रकुमार केसीका गल्तीको जवाफदेही अन्ततः हुने को हो ?