Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

जेलमै रमाउनेहरु, जो छुटे पनि फेरि फर्किन्छन्

जेलमै रमाउनेहरु, जो छुटे पनि फेरि फर्किन्छन्

कुमार श्रेष्ठ । बाँके । अपराध कर्म गर्नेहरु जेल पर्छन् । अपवादका रुपमा केही परिबन्धमा परेर जेल पुग्छन् । जेल पर्नु कदापी राम्रो मानिँदैन । जेललाई सुधार गृह पनि भन्ने गरिन्छ । एकपटक जेल पुगेकाहरु फेरि त्यहाँ नपुगुन् भनिन्छ । नेपालगन्ज कारागार (जेल) मा भने केही यस्ता व्यक्ति छन् । जो छुटेको महिना, दुई महिनामा फेरि जेल फर्किन्छन् ।
सहायक जेलर श्याम लामिछाने भन्छन्, ‘जितबहादुर भण्डारी नाम गरेका व्यक्ति साउन यता तीनपटक जेल आइसके । अर्का सुनिल भण्डारी, गोली मिठाई र उदयलाल देवकोटा कारागारका नियमित सदस्यजस्तै छन् ।’ सहायक जेलर लामिछानेका अनुसार, चोरी या सार्वजनिक मुद्दामा कारागार आइपुग्नेहरु केहीले त ‘मलाई नछुट्याउनु न म यहिँ बस्छु’ भन्छन् ।
१२ वर्षदेखि नेपालगन्ज कारागारमा कहिले जेलर त कहिले सहायक जेलरको भूमिकामा रहेका लामिछानेले जेलमा खाने र सुत्ने व्यवस्था राम्रो भएकाले घरमा हेला भएका र अपराध कर्म गर्नेहरु एकपटक आएपछि दोहोरिएयर जेलमा आइरहने बताए । सहायक जेलर लामिछाने भन्छन्, ‘२०६३ यता जेलमा यी व्यक्तिहरु देखिइरहेका छन् । केही अरु पनि छन् ।’
कारागारका बन्दीलाई सरकारले दिनको ६० रुपैयाँ र सात सय ग्राम चामल दिने गर्दछ । साउन अघि दिनको ४५ रुपैयाँ थियो । जेलमै रमाउन पल्केकाहरु चोरी र सार्वजनिक मुद्दामा जेल आउँछन् । यिनीहरुले ५ सय धरौटी पनि बुझाउँदैनन् । पूरा सजाय काटेर जान्छन् । सजाय काटेर घर फर्किएको १५ वा महिना दिनमा फेरि जेल आइपुग्छन् ।
‘दिनको तीनपटक खान पाउँछन् । जेलमा बसेर फर्किँदा मोटाएर जान्छन्’ सहायक जेलर लामिछाने भन्छन्, ‘फेरि आउँदा दुब्लो देखिन्छन् ।’ जेलका यी पटकेहरुले दैनिक पाउने सात सय ग्राम चामल त्यही मेसमा दिएर दिनको तीन पटकसम्म खाना खाने गर्दछन् । जेलबाट बाहिर निस्किँदा दैनिक पाउने ६० रुपैयाँसमेत बचाएर लैजान्छन् । यस्ता पटकेमा एकजना प्रहरी निरीक्षकका भाइ पनि छन् ।
यी व्यक्तिहरु छुट्दा कहिलेसम्मलाई गएछन् भनेर जेलभित्र चर्चा हुने गर्दछ । केही दिन बाहिर घुमेपछि फेरि सार्वजनिक यातायातमा रहेका यात्रुको मोबाइल चोरेर होस् या पसल फोडेर उनीहरु जेलमा आइपुग्छन् । लागु पदार्थ प्रयोगकर्ताहरुले रातीमा सुत्नु प¥यो भने अस्पतालका बेडमा जाने कुरा त बारम्बार बाहिर आउने गर्दथ्यो ।
जेलमासमेत पुग्ने व्यक्ति नियमित छन् भन्दा अनौठो मानिएको छ । त्यसै पनि नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी बन्दी छन् । डेढ सयबाट हलहरु बनाएर तीन सय क्षमताको बनाइएको नेपालगन्ज कारागारमा झण्डै सात सय बन्दी रहेका छन् । एकातिर क्षमता भन्दा बढी बन्दी रहेको बेलामा पटके बन्दीले कारागार प्रशासनलाई चुनौती थपिरहेको छ ।

 

 

#देश सञ्चार