Loading... आजः ५ आश्विन २०७७, सोमबार

हामीले खोजेको समृद्धि कस्तो हो ?

हामीले खोजेको समृद्धि कस्तो हो ?
  • हेमन्त केसी

अभावै अभावको जिन्दगी कसलाई मन पर्ला र ? सवैलाई मिठो खाने र भव्य बन्ने पक्कै पनि लाग्छ । तर, हामीले जति मेहनत गर्दा पनि त्यो लक्ष्यमा पुग्न हामीले सोचेको जस्तै गरी कहिल्यै पुग्न सकिएन अर्थात् पुगे पनि आफैले आफैलाई चित्त बुझाएन । खासमा हामी आफैभित्र यति कमजोर मानसिकता बोकेर अगाडी बढेका छौं कि जसले आफैलाई चिन्दैन् र सँधै निरास मात्र हुन्छ । पहिलो काम, हामीले हामीभित्र खोज्नु हो ।
दोस्रो काम आफुभन्दा कमजोरतर्फ पनि हेर्ने हो । त्यसपछि आफु कुन ठाउँमा छु भन्ने थाहा हुन्छ । तर आजभोली एक जमात छ, जसले आफुले आफैंलाई खोज्दैन् बरु हजार माइल परको सपना बुन्छन्, त्यो पनि अभाव, गरिव र समस्याका मात्र ? आफुले आफ्नो घरको आँगन सफा गर्न आउँदैन, उसका कुरा भने संसार नै आफैले थामेको जस्तो गरी चिच्याउँछ । खासमा हामीलाई अहिलेको सुधारिएको व्यवस्थाले गाली मात्र सिकायो कि, थोरै रचनात्मक भएर आफ्नो जिम्मेवारी के हो भन्ने कुराको ज्ञान दिलायो ।
हामी दैनिक किन आलोचनाका नाममा जहाँ पनि अभाव, गरिव र भ्रष्टाचार मात्र देख्छौ । हामीले उत्पादन गर्ने मसलाले आमपाठक, र जनसाधारणलाई कता तिर लिदै छ कहिले एक पटक छातीमा हात राखेर सोचेका छौ । हामीले लेखेको एक आक्रोषको बिउले कति कुरामा हानी गरेको छ, त्यो तर्फ हामीले ध्यान दिएका छौ । एक दिनअघि एउटा अनलाइनमा जाजरकोट प्रतिनिधिसभा सदस्य तथा बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतललाई पूर्व लडाकुले आक्रमण गरेको भन्ने समाचार सनसनीपूर्ण रुपमा बाहिर आयो । त्यो समाचार मैले पनि राम्रोसँग पढे, समाचार पढ्दै गर्दा मलाई लाग्यो, के शक्तिबहादुर बस्नेतलाई हात पात भएकै हो त ?
मैले एकैछिन धेरै ठाउँमा बुझे, खासमा के रहेछ भनी ? तर बनमन्त्रीको कार्यालयमा न त कोही लडाकु आएका थिए, न त उनीमाथि आक्रमण नै भएको थियो, त्यो त सरासर झुट रहेछ । हो, हामीले यसरी हुँदै नभएका कुरा प्रकाशित गर्दै जाँदा हामीलाई त केही छिन बदनाम गर्दा मज्जा आउला तर त्यसको प्रभाव नेपाली समाजमा कस्तो पर्छ, हामीले ख्याल गरेका छौं । के यसरी गरिने पत्रकारिताले जनताको विश्वास जित्छ त ? मेरो दिमागमा घुमिरहेको प्रश्न हो यो ? हामीले गर्ने पत्रकारिता समाजको पलपलको विश्वास आर्जन गर्ने माध्यमसँगै सारथी पनि हो । पत्रकारिताले जीवन बोल्छ, त्यहाँ पनि मर्यादा र इथिक्स हुन्छ । अहिलेको केही अनलाइनको पत्रकारिता भनेको फेसबुकमा बहकेर लेखिने टिप्पणीभन्दा तल्लोस्तरको हुनबाट जोगाउन यस्ता इथिक्स बाहिरका कार्य रोकिनुपर्छ ।

हामीले गर्ने पत्रकारिता समाजको पलपलको विश्वास आर्जन गर्ने माध्यमसँगै सारथी पनि हो । पत्रकारिताले जीवन बोल्छ, त्यहाँ पनि मर्यादा र इथिक्स हुन्छ ।

नेपाली पत्रकारिताको बेइज्जत गर्ने गरी किवोर्डलाई दुख किन दिने हामीले ? अर्को कुरा हामीले यो समाजका लागि कति योगदान गरेका छौ त्यो तर्फ कहिले पनि ध्यान दिदैनौं, अर्काले मात्र यो गरेन र त्यो गरेन भन्दै समय खर्च गरेका हुन्छौं । दिनभरी क्यारेमवोर्डको गोटी हान्दै फुर्सद नहुनेले नै देश निर्माण र समृद्धिका ठुला कुरा उनैले गरेको देखिन्छ । जाजरकोट विकासका दृष्टिले पछि परेको जिल्ला हो, यो सवैलाई थाहा छ । यति भन्दाभन्दै यहाँ केही पनि भएन भन्ने कुरा पनि गलत छ । विकासको केही फट्को मारिसकेको जिल्लासँग जाजरकोटलाई तुलना गरियो भने त्यो गलत हुन्छ । जाजरकोटको मौलिकता अलि फरक छ, यहाँको भूबनावट कडा भएकाले सोचेको समयमा निश्चित काम गर्न वाधा आइरहन्छ ।
केन्द्रबाट पठाएको बजेट भरी जिल्लामा सदुपयोग गरी गती दिएर काम गर्ने हो सायद विकासमा अझ केही पाइला अगाडी बढ्न सकिने देखिन्छ । हाम्रो काम भनौँ कि रोजगारी भनौं, अर्कालाई गाली गर्ने मात्र भएको छ । घरको पर्खाल भत्कियो नेतालाई गाली, सडकमा आफैं पानी हालेर भत्काउने स्थानीयले नेतालाई नै गाली गर्छ । अझ बढ्ता भनौँ, जिल्लाको मन्त्री भएर केही काम गरेन भन्दै शक्तिबहादुर बस्नेतलाई नै गाली गरेको सुनिन्छ । बाटोको मिसाउने ढल शक्तिबहादुर बस्नेतले बन्द गर्ने होइन, त्यहाँ बनाउन र स्तरउन्नतीको काममा चासो दिएर बजेट पठाउने काम पो हो । हामीले के बुझ्यौं र के भन्दै छौं ? अनि हाम्रा क्रियाकलाप कतातिर जाँदैछन् । बाटोमा रहेको ढुङ्गा उठाएर आफु हिँड्ने बाटोमा ठेस लाग्न नदिनेसम्म चेतना हामीसँग छैन्, गाली भने नेतालाई ?
पहिला हामी के गदै छौ त्यो कुरातर्फ ध्यान दिऔं, त्यसपछि अर्काको कुरातर्फ लाग्यौं । जिल्लाको विकास निरन्तर भइरहेको छ । २००७ सालदेखि हिजोसम्म हुन नसकेको विकास रातारात कायापलट हुन्छ भन्ने सोचाइ गलत छ । विकास भन्ने कुरा निरन्तर आफ्नै गतिमा हुने कुरा हो । छेडादेखि त्रिवेणीसम्मको सडक र जिल्लाको आन्तरिक सडकमा गुड्ने गाडीमा हामीले उत्पादन गरेका बस्तुहरु निर्यात गरौं, बजारसम्म हाम्रा उत्पादन बिकाउँ, बेरोजगार रहेका हातमा श्रम सिर्जना गरी रोजगारी सिर्जना गरी मेहनत गर्ने बानीको बिकास गरौं । हामीले देखेको समृद्धि ल्याउन टाढा जानुपर्दैन । बाँझा रहेका खेतबारीमा अन्न पलाएर बजारीकरण गरेमा रोजगारी खोज्न कही जानुपर्दैन । जिम्मेवारी व्यक्तिले आ–आफ्नो जिम्मेवारी पुरा गरौं । धामी पनि आफैं, बोक्सी पनि आफैं भइयो भने कुन जात हो छुट्याउनै मुस्किल पर्ने अभियानमा हामी किन लाग्ने ?