Loading... आजः १४ आश्विन २०७७, बुधबार

बिग्रिए सिसी क्यामरा, बल्दैनन् सौर्यबत्ती

बिग्रिए सिसी क्यामरा, बल्दैनन् सौर्यबत्ती

बाँके । नेपालगन्जका विभिन्न चोकमा राखिएका सिसी क्यामेरा बिग्रिएका छन् । नेपालगन्जका १६ ठाउँमा ५६ वटा सिसी क्यामेरा राखिएको छ । तीमध्ये १२ वटा सिसी क्यामेरा बन्द अवस्थामा रहेका छन् । ती बिग्रिएका सिसी क्यामेराको समयमा मर्मत हुन सकेको छैन ।
सिसी क्यामेराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेको सञ्चारफाँटले केही लामो समय त केही हालसालै बिग्रिएर १२ वटा सिसी क्यामेराले काम गर्न छोडेको जनाएको छ । सिसी क्यामेरा व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले ठेकेदार कम्पनीले नै बिग्रिएको सिसी क्यामेरा मर्मत गर्ने सम्झौता भए अनुसार मर्मत भइरहेको जानकारी दिए ।
चार महिनासम्म गहन छलफल र सहयोग संकलन गरेपछि नेपालगन्जका विभिन्न चोकमा सिसी क्यामेरा राखिएको थियो । गत साउन २१ गते तामझामका सिसी क्यामेराको उद्घाटन गरिएको थियो । चोकहरुमा सिसी क्यामेरा राख्न तत्कालिन एसपी टेकबहादुर तामाङले महत्वपूर्ण भूमिका खेलेका थिए भने २५ सदस्यीय सिसी क्यामेरा व्यवस्थापन समितिले त्यसले सबै चाजोपाजो मिलाएको थियो ।
व्यवस्थापन समितिका संयोजक बैश्यले केही सिसी क्यामेरा बिग्रिने र तत्कालै बनाउने काम भइरहेको बताए । उनका अनुसार विद्युत पोलको काम भइरहेको, हावाहुरी र सवारी साधनले तारमा असर गर्दा केही ठाउँको क्यामेरा बिग्रिएका छन् । उनले ठेकेदार कम्पनीलाई एकजना प्राविधिक यही राखिदिन अनुरोध गरेको बताए ।
नेपालगन्जमा सिसी क्यामेरा जडानका लागि विभिन्न व्यक्ति, उद्योग, फर्महरुबाट रु.४५ लाख ७६ हजार संकलन गरिएको छ । संकलन भएकोमध्ये ५६ वटा सिसी क्यामेरा जडान गर्दा रु.३३ लाख ९७ हजार २६० खर्च भएको थियो । ५६ वटा क्यामेराको १४ किलोमिटरमा नेटवर्क बनाइएको थियो । व्यवस्थापन समितिका अनुसार अन्य ठाउँहरुमा पनि सिसी क्यामेरा जडान गर्ने तयारी छ ।
भएकै सिसी क्यामेराको राम्रो व्यवस्थापन गर्न नसकेको व्यवस्थापन समितिका संयोजक वैश्यले भने, ‘औद्योगिक क्षेत्र लगायत अरु ठाउँमा गरेर नेपालगन्जमा डेढ सय जति क्यामेरा जडान गर्ने तयारी भइरहेको छ ।’ राँझा चोक, कारकाँदो चोक, पुष्पलाल चोक, धम्बोझी चोक, वीपी चोक, गणेशमान चोक, त्रिभुवन चोक, बसपार्क, भेरी अञ्चल अस्पताल चोक, शहीद सेतुविक चोक लगायत ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ ।
त्यस्तै उज्यालो सहर बनाउन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको सुर्खेत रोड र न्युरोड क्षेत्रमा राखिएका ६७ वटा सोलार बत्ती बल्दैनन् । दुई बर्षअघि पाइलट प्रोजेक्टका रुपमा राखिएका सोलार बत्ती बिग्रिएपछि मर्मतमा कसैले चासो देखाएको छैन । सोलार बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्नेमा अन्यौलता छ ।
ठेकेदार कम्पनी र नेपालगन्ज उपमहानगरपालिकाबीच मर्मत कसले गर्ने भन्नेमा निक्र्यौल नहुँदा विग्रिएका सोलार बत्ती बनाउनेतर्फ पहल हुन सकेको छैन । त्यसो त नेपालगन्ज उपमहानगरपालिका सोलार बत्ती विग्रिएको बारेमा बेखबर छ । काठमाडौंस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको ७० वटा सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० वटा कसले जडान गरेको भन्ने बारेमा नेपालगन्ज उपमहानगरपालिका नै बेखबर छ ।
उपमहानगरपालिका योजना शाखाका इन्जिनियर सुरजकुमार गुप्ता भने, ‘विग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य ईनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या छ ।’ ईन्जिनियर गुप्ताका अनुसार सोलारको बत्तीको कुनै पाठपूर्जा विग्रिएमा दुई बर्षसम्म त कुनै तीन बर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । ‘सबै सम्झौता मन्त्रालयबाट सोझै भएको हुँदा प्राविधिक कुराहरुबारे हामीलाई जानकारी छैन,’ गुप्ताले भने ।